अपहरण गरी २५ लाख फिरौती रकम लिने तीन पाकिस्तानी पक्राउ

0
Shares

काठमाडौं ।

एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन छन् ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुन्छ भन्दै पाकिस्तानबाट काठमाडौं बोलाएर पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई उनीहरुले ठमेलस्थित एक होटलमा बस्न लगाएका थिए ।

उनीहरुले बायोमेट्रिक लगायतका प्रक्रिया पूरा गर्न भन्दै होटलबाट ट्याक्सीमा राखेर पुस २४ गते दिउँसो साढे २ बजेको समयमा बुढानीलकण्ठस्थित भाडाको घरमा पु¥याएर निजको आँखामा पट्टी तथा हातखुट्टासमेत बाँधेर बोल्न नसक्ने गरी बन्धक बनाएर राखेका थिए।

उनीहरुले पीडितका पाकिस्तानमा रहेका भाइलाई आफू क्यानाडा जान लागेको र ३० घण्टासम्म मोबाइल अफ हुन्छ भनेर म्यासेजसमेत गर्न लगाएका थिए । ३० घण्टापछि पीडितलाई फेरि आफ्नो भाइलाई म्यासेजमार्फत आफू क्यानाडाको इमिग्रेसनमा रोकिएको र पैसा बुझाएमात्र प्रवेश दिन्छ भनेर पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिरामसमेत गरी २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम लिन सफल भएका थिए ।रकम लिइसकेपछि निजहरुले पीडित मोहम्मद सामी खानलाई पुस २६ गते राति अन्दाजी साढे १० बजे ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनेर छाडी फरार भएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई पुस २८ गते बुढानीलकण्ठस्थित भाडाको घरबाट दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।