बागमती प्रदेश : माघ २ गते उपसभामुख निर्वाचन

0
Shares

हेटौंडा ।

वागमती प्रदेशमा माघ २ गते सोमबार उपसभामुखको निर्वाचन हुने भएको छ । नवनियुक्त सभामुख भुवन पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिनुभएको छ । उहाँले प्रदेशसभाको बैठक सोमबार ३ बजेका लागि आह्वान गर्नुभएको छ ।

सत्ता गठबन्धनतर्फबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ । एमालेकी चापागाईंलाई माओवादीकी कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक छन् ।

नेमकिपाकी काफ्लेलाई सृजना सैंजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाईं समर्थक रहँदा कांग्रेसकी परियारको प्रस्तावकमा उत्तम जोशी र याङ्किला शेर्पा समर्थक हुनुहुन्छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सदनबाट विश्वासको मत लिने कार्यक्रम छ । त्यसअघि सबै प्रक्रिया टुंगिनेछ ।