स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश



बारा।

मधेस प्रदेश सभा सदस्य शारदाशंकर कलवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बारा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका कलवार बिहीवार एमाले प्रवेश गर्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बाल्कोट पुग्नुभएका कलवारलाई पार्टीमा प्रवेश गराउनुभएको थियो ।

कलवार प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित सांसद हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित कलवार यसपटक स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएको थियो । गत मंसिरमा भएको आम निर्वाचनमा एमाले र जसपाबीच भएको चुनावी तालमेलमा उक्त चुनाव क्षेत्र एमालेको भागमा परेपछि कलवारले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

कलवार नेकपा एमालेका केन्द्रीय सदस्य बलबीर चौधरीलाई दुई हजार चार सय २८ मतले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कलवारले नौ हजार दुई सय ९५ मत प्राप्त गर्दा एमालेका चौधरीले ६ हजार आठ सय ६७ मत पाउनुभएको थियो ।

कलवारका छोरा राजाबाबु बारामा जिल्लास्तरीय नेताको रुपमा हुनुहुन्छ । राजबाबुले गत स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट महागढिमाई नगरपालिकाको मेयर पदमा टिकट पाउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्