लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता गिरी नियुक्त, ५८ सांसदको समर्थन, प्रतिपक्षमा कांग्रेससहित दुई दल

0
Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नियुक्ति हुनु भएको छ । सात दलिय गठबन्धनको समर्थनमा बुधवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सात दलका ५८ जना सांसदहरूको हस्ताक्षर सहित दाबी पेश गर्नुभएका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्य मन्त्रीमा नियुक्त गर्र्नुभएको हो ।

गिरीले गठबन्धनका ५८ सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिककुमार शेरचनसमक्ष दाबी पेश गरेको गर्नुभएको थियो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ ।

नवनियुक्त मुख्मन्त्री गिरी २०११ साल चैत्र १४ गते गुल्मीको बम्घामा जन्मन्नु भएको थियो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका उहाँ मुख्यमन्त्री शंकर पोखरेल हुँदा ३ वर्ष प्रदेशको वन,वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियोे । उहाँ गत मंसिर ४ को निर्बाचनमा रूपन्देही २ (क)बाट निर्बाचित हुनुभएको हो ।

एमालेबाट २९, नेकपा (माओवादी केन्द्र)बाट १०, जनता समाजवादी पार्टी (जसपा) नेपाल ३, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, लोसपा ३, जनमत ३, र स्वतन्त्र २ गरी ५८ सांसदको हस्ताक्षरसहित सात दलिय गठबन्धनले एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा दाबी पेश गराएका थिए ।

गठबन्धनका नेताहरू दाबि पेशको लागि बुधबार १२ बजे नै प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि नागरिक उन्मुक्ति पार्टीका सांसदहरू २ घण्टा ढिला प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

नवनियुक्त मुख्यमन्त्री गिरीलाई बिहिबार स्थायी राजधानी देउखुरी दाङमा शपथको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । गिरीले भोलि नै मन्त्रीमण्डल गठन गर्दै शपथलिने तयारी गर्नुभएको छ ।

प्रदेशमा नेपाली कांग्रेसका २७, राष्ट्रिय जनमोर्चाका १ र नेकपा (एकीकृत समाजबादी)का १ सांसद विपक्षमा देखिएका छन् । लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा सदस्य छन् । जहाँ सरकार गठन गर्न कम्तीमा ४४ सांसदको समर्थन आवश्यक पर्छ ।