असफलताले सफलता दिलाएका उत्कृष्ट कृषक 



काभ्रे।

दुर्घटना हुने बित्तिकै चालकलाई स्टेरिङमै राखेर जलाउन थाले पछि यातायात क्षेत्रको व्यवसाय असुरक्षित देखेर कृषि व्यवसायमा सहभागी भएका पनौती ७ काभ्रेका देवकृष्ण मानन्धर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनु भएको छ । कृषि ज्ञान केन्द्र काभ्रेले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका तीन/तीन जना कृषकहरुलाई नगद १५ हजार सहित सम्मान गरेको हो ।

कार्यालयले उत्कृष्ट कृषक छनौटका लागि मापदण्ड तोकेर खुल्ला निवेदन माग गरेको थियो । सोही मापदण्डका आधारमा काभ्रेपलान्चोकबाट ४४ वटा र सिन्धुपाल्चोकबाट १३ गरी ५७ वटा आवेदन परेका थिए । हरेक आवेदनका आधारमा जिल्ला स्तरीय पुरस्कार छनौट समिति फार्ममा पुगेको थियो ।

मापदण्डमा तोकिए अनुसार प्राप्ताङ्कका आधारमा उत्कृष्ट ६ जना सम्मानित भएका हुन् । ‘जिल्लाबाट छनौट भएका उत्कृष्ट कृषकहरू प्रदेशमा प्रतिस्पर्धाका लागि योग्य छन्’–कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले भन्नुभयो–‘जिल्ला र प्रदेशबाट छनौट भएका उत्कृष्ट कृषकहरुलाई संघ सरकारले समेत नगद ५ लाख सहित सम्मान गर्नेछ ।’ उत्कृष्ट कृषक सम्मान कार्यक्रमले कृषकहरुलाई हौसला, सम्मान र कृषि पेशाको समेत महत्त्व बढाएको ज्ञान केन्द्र प्रमुख दवाडीले बताउनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती २ नयाँगाउँका रमेश आचार्य र पनौती ८ का रवीन्द्र बञ्जारा सम्मानित हुनु भएको छ भने सिन्धुपाल्चोक जिल्ला मेलम्ची १ का श्रीकृष्ण धिमाल, सिन्धु मल्टी पर्पाेज प्राली र लिसंखुपाखर ४ की देउकुमारी शाक्य सम्मानित हुनु भएको छ । उहाँहरुलाई जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम, कृषि ज्ञान केन्द्र प्रमुख तेजप्रसाद दवाढी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाईँले प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गर्नु भएको थियो ।

कृषक रमेश आचार्यले २१ वटा भैँसी, १० वटा गाई पालन परी कृषि फार्म सञ्चालन गर्नु भएको छ । सोही फार्ममा पालेका पशुहरुको दुध मार्फत डेरी सञ्चालन गर्नु भएको छ । १७ रोपनी जमिनमा तरकारी र घाँस खेती गरी रोजगारी सृजना गर्नु भएको छ । कृषक देवकृष्ण मानन्धरले उच्च प्रविधि युक्त संरक्षित संरचना निर्माण गरी विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । ३ रोपनी जमिनमा मानन्धरले तरकारीका साथै हाँस पालन गरिरहनु भएको छ ।

कृषक रवीन्द्र बञ्जाराले ८ रोपनी जमिनमा २५ वटा बाँस र १४ वटा फलामको टनेल मार्फत विभिन्न किसिमका मौसामी तथा बेमौसमी तरकारी प्राङ्गारिक तवरबाट उत्पादन गरिरहनु भएको छ । कृषक देउकुमारी शाक्यले लिसंखुपाखर ४ मा ५ रोपनी जमिनमा २६ वर्ष देखि व्यवसायी किवी खेती गरिरहनु भएको छ । २०५२ सालमा तरकारी खेती सुरु गरेर बजारीकरण गर्न नसके पछि हार मानेर व्यवसाय छाड्नु भएकी देउकुमारी शाक्यले यो वर्ष ७ सय केजी भन्दा धेरै किवी अनलाइन मार्फत मार्केटिङ गरेर विक्री गर्नु भएको थियो । निरन्तर लागिरहँदा सफलता प्राप्त हुने अनुभव देउकुमारीले सुनाउनु भयो ।

त्यस्तै कृषक श्रीकृष्ण धिमाल कोभिड १९ अघि वैदेशिक रोजगारमा जानु भएको थियो । क्यानडा पठाउने दलालले अन्यत्र पठाएर अलपत्र पारे पछि फर्किएर कृषि खेती सुरु गर्नु भएको थियो । १८ वटा माउ भैँसी, ६ वटा माउ गाई र १४ वटा टनेल मार्फत खेती गरिरहनु भएका धिमालले डेरी समेत सञ्चालन गरिरहनु भएको छ ।

सम्मानित भएको सिन्धु मल्टी पर्पाेज कम्पनी प्रा.लीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची १ मा ८० रोपनी जमिन खरिद गरी खुल्ला जमिनमा टनेल सहित तरकारी खेती गरेको, फलफूल खेती अम्बा, एभोकाडो, कागती, अलैँची, बाख्रा तथा स्थानीय कुखुरा, होमस्टे सञ्चालन र जैविक विविधता संरक्षण सहित एग्रो टुरिजम सुरु गरेको छ ।

२५ जना शेयर सदस्य रहेको उक्त कम्पनीमा ५ वटा प्रदेश समेटिएको सञ्चालक झलकप्रसाद सुवेदीले बताउनु भयो । कृषि र पशुपालनमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उद्देश्यका साथ फार्म सञ्चालन गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले कृषिमा दिने अनुदान उत्पादनका आधारमा हुनु पर्ने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्