मुगुका अधिकांश खाद्य डिपो प्रमुखविहीन

स्थानीय व्यापारीद्वारा चामल बिक्रीवितरण



मुगु । 

मुगुको सोरुकोटमा रहेको डिपो कार्यालयबाट पसलका साहुजीले चामल बिक्रीवितरण गर्दै आइरहेका छन् । जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको सोरुकोट डिपो कार्यालयमा व्यापारीले चामल बिक्रीवितरण गर्दै आइरहेका हुन् । सोरुकोट बजारमै अनुप अर्डर सप्लायर्स पसलका प्रोपाइटर तथा सोरु गाउँपालिका–१ का पूर्ववडाध्यक्ष महेन्द्र शाहीले सोरुकोट डिपो कार्यालयको चामल बिक्रीवितरण गर्दै आइरहेका छन् ।

विगत १ हप्ताभन्दा अगाडिदेखि नै डिपो कार्यालयमै बसेर चामल बिक्री वितरण गरेको शाही स्विकार्नुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय सोरुकोट मुगुमा २ वर्षदेखि डिपो प्रमुख छैनन् । करारमा एक जना कार्यालय सहयोगी सिंह रोकाया मात्र रहेका छन् । डिपो कार्यालयमा प्रमुख नहँुदा थुप्रै समस्याका बाबजुद पनि चामल बिक्रीवितरण गरिरहेको शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘डिपो कार्यालयमा प्रमुख छैनन् ।’ स्थानीयको समस्यालाई पनि मध्यनजर गर्दै डिपो कार्यालय सोरुकोटको खाद्यान्नका लागि जिम्मा पाएको विजया टे«डर्स एन्ड सप्लायर्सका प्रोपाइटर तेजबहादुर शाहीले आफूलाई जिम्मा दिइएको बताउनुभयो ।

उहाँले कार्यालय सहयोगी र आफू मिलेर डिपो कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो ।अहिले सोरुकोट डिपो कार्यालयमा अरुवा मध्यम र अरुवा मोटा गरी दुई प्रकारका चामल बिक्रीवितरण भइरहेको छ । जसमा अरुवा मध्यम चामल १ सय बोरा रहेको छ ।

त्यसको मूल्य १ हजार ५ सय ९० पर्दछ भने अरुवा मोटा चामल ३ सय बोरा मौज्दात छ । यसको १ हजार ५ सय मात्र मूल्यमा बिक्रीवितरण भई रहेको डिपो कार्यालय सोरुकोटले जनाएको छ । डिपो कार्यालयमा प्रत्येक दिन २५ देखि ३० जनासम्म सेवाग्राही आउँछन् पर्याप्त मात्रामा चामल मौज्दात छैन । सोरुकोट डिपोका लागि १ हजार क्विन्टल कोटा रहेको छ त्यसमा पनि कोटाअनुसार चामल पुग्दैन ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुष्कर भामले सोरुकोटमा मात्र नभई अन्य डिपो कार्यालयमा पनि कर्मचारी नभएको बताउनुभयो । सोरुकोट डिपो कार्यालयमा विगत २ वर्षदेखि डिपो प्रमुख पद खाली रहेको छ । पहिला सो डिपो कार्यालयमा डिपो प्रमुख सरोज यादव हुनुहुन्थ्यो उहाँ सरुवा भई बाहिरी जिल्ला गएपछि अहिले डिपो कार्यालयमा प्रमुखविहीन रहेको कार्यालय प्रमुख भामले जानकारी दिनुभयो ।

भाम भन्नुहुन्छ– ‘खाद्य जस्तो संवेदनशील कार्यालयमा प्रमुख हुनुपर्छ तर सरकारले मागअनुसार कर्मचारी पदपूर्ति गर्दैन ।’ ज्यालादारी कर्मचारीहरूलाई पनि जिम्मा दिन नमिल्ने अवस्था रहेको हुँदा डिपो कार्यालय बन्द नहोस् भनी कतै डिपो कार्यालयमा ठेकेदारले बिक्रीवितरण गर्छन् भने कतै जिम्मा दिएर बिक्रीवितरण गरिरहेको उहाँले बताउनुभयो । सोरुकोट डिपो कार्यालय मात्र नभएर अहिले प्रायः जिल्लामा सञ्चालित डिपो कार्यालयहरू प्रमुखविहीन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्