ठेक्का तोड्न लाग्दा काम सम्पन्न गर्ने प्रतिवद्धता

0
Shares

खोटाङ।

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रेको ठेक्का लिएको ठेकेदारले आगामी असार मसान्तसम्मका काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेका छन् । ढिलासुस्तीले हद नाघेपछि ठेक्का तोड्ने चरणमा पुगेको चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम आगामी छ महिनाभित्र पुरा गर्ने भन्दै स्वयं निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठ्माडौंले शुक्रबार लिखित प्रतिवद्धता जनाएका हुन् ।

चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम अलपत्र पारेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलीखेलले ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरेको केही समयपछि साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको रोहवरमा मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम सक्ने आठ बुँदे प्रतिवद्धता जनाएका हुन् ।

प्रतिवद्धता–पत्रमा हाल निर्माण कार्य भइरहेको चेनेजमा सवारी साधनको निर्वाध आवागमनका लागि नियमित सडक मर्मतसम्भार गर्ने, चखेवातर्फबाट सव–वेस लेइङ सुरु गरी माघ २५ गतेसम्म सव–बेसको काम सम्पन्न गर्ने, माघ २६ गतेदेखि बेस लेइङको काम सुरु गर्ने उल्लेख छ ।

यस्तै, चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र बैसाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने, अन्य भेसेलेनियसको बाँकी काम निर्माण अवधिभित्र सम्पन्न गर्ने, फागुन मसान्तभित्र कंक्रीट पेभमेन्टको काम सम्पन्न गर्ने, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले आवश्यकता अनुसार प्राविधिक अनुगमन, निरिक्षण तथा दैनिक कार्य गर्न सहयोग गर्ने उल्लेख छ ।

ठेकेदारले प्रतिवद्धतामा उल्लेख कार्य तालिका अनुसार कार्य नगरे ठेक्का तोड्नका लागि आफै लागिपर्ने साकेला गाउँपालिका अध्यक्ष राईले बताए । वर्षौंसम्म सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारले असारसम्ममा काम पुरा गर्नेमा भने बिश्वस्त हुने ठाउँ छैन । गत पुस १७ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीयले प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयलाई ज्ञापन–पत्र पठाउँदै चखेवाभञ्ज्याङ–सेखुवा कालोपत्रेको ठेक्का तोड्न माग गरेको थियो ।

ठेकेदारले चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम पुरा गर्ने छाँट नदेखाएका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि गत मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेको थियो । भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाहीले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।