मट्याङ्ग्रासहित समातिए नगद लुटेराहरु

0
Shares

हेटौंडा ।

‘अमेरिकी डलर छ, सस्तोमा साट्ने’ भनी अन्य जिल्लाका मानिसलाई मोबाइलबाट सम्पर्क गरी मकवानपुरका विभिन्न स्थानमा विभिन्न मितिमा बोलाइ उनीहरुको साथमा भएको नगद लुट्नेहरु पक्राउ परेका छन् ।

उनीहरुलाई अमेरिकी डलरसहित बुधबार हेटौंडा–१७, हटियास्थित सालक पार्कबाट विशेष प्रहरी टोलीले पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको हो ।

सस्तोमा अमेरिकी डलर दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले डलर, नेपाली रुपियाँ र विभिन्न सामानसहित ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । आफूहरुसँग अमेरिकी डलर रहेको र सस्तोमा डलर साटिदिने भन्दै डलर देखाएर नेपाली रुपियाँ लट्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ बस्ने २१ वर्षीय हरि भनिने सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय कान्छा भनिने शेरबहादुर तामाङ र त्रिपुरा गाउँपालिका–३ बस्ने २८ वर्षीय सुक भनिने देवा डुम्जन छन् ।

उक्त समूहबाट एक जना फरार रहेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट १ हजार ७ सय ४१ डलर, नेपाली ६ हजार २ सय १० रुपियाँ बा. ५० प ९३७२ नम्बर, वाप्र–०२–०१९ प ९६२६ नम्बर र वाप्र–०२–०३४ प ४२८७ नम्बरका मोटरसाइकल बरामद गरेको जनाएको छ ।

उनीहरुको साथबाट कागजको नक्कली नोट ८ बण्डल, गुलेली ३ थान, मट्याङ्ग्रा (सानाढुंगा), मोबाइल ५ थान र मोटरसाइकलको बिलबुक बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा २४९, २५२ बमोजिम ‘ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन)’ सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।