फरार थुनुवा पक्राउ, सुरक्षामा खटिएका प्रहरीलाई अनुसन्धान



स्याङ्जा।

वडा प्रहरी कार्यालय वालिङबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिनाश गाउँपालिका वडा नं. ७ का २३ वर्षीय रमेश क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिकाकी एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परी अनुसन्धानका लागि उनलाई वडा प्रहरी कार्यालय वालिङमा रखिएको थियो । पुस १८ गते सांझ करिब ५ बजे फरार भएका क्षेत्रीलाई वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ चियारेबाट पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालयका अनुसार अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएका क्षेत्रीलाई पुस १८ गते जिल्लाबाट म्याद थप गरी ल्याईएको थियो । म्याद थप गरी कार्यालयमा ल्याउँदा कार्यालय कम्पाउण्डभित्रै गाडीबाट ओर्लदा उनी फरार भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “क्षेत्री कम्पाउण्डभित्रै आएपछी गाडीबाट ओर्लने क्रममा भागेछ, हामीले भागेदेखि नै खोजीकार्य जारी गरेका थियौँ, वालिङ ४ को चियारेमा लुकेको अवस्थामा उनलाई पक्राउ गरेका छौँ ।” पक्राउ परेका फरार अभियुक्त क्षेत्रीलाई पुन वडा प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयबाटै जजक अभियोगी क्षेत्री फरार भएपछि निजको सुरक्षाका लागि त्यहाँ खटिएका प्रहरीलाई अनुसन्धान गरिएको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जजक अभियोगी क्षेत्रीको सुरक्षामा खटिएका सबै प्रहरी कर्मचारीलाई अनुसन्धान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षेत्रीको सुरक्षाका लागि खटिएका प्रहरीको सुरक्षा जिम्मेवारीमा कही कमीकमजोरी तथा लापर्वाही भएको देखियो भने सबैलाई आवश्यक कारवाही हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार क्षेत्रीले पुस ९ गते राति १५ बर्षकी बालिकालाई कर्सोमा लगि जबरजस्ति करणी गरेको अभियोगमा पक्राउ परेका थिए । करणी सम्बन्धी कसूर (जबरजस्ती करणी) मुद्धा अनुसन्धानको क्रममा रहेका उनी पुस १८ गते म्याद थप लिई वालिङको प्रहरी कार्यालयमा हिरासतमा राख्ने क्रममा एक्कासी निजको हातमा लगाएको हतकडी आफैले फुस्काई कार्यालय पछाडी रहेको तार जालि नाघेर फरार भएको प्रहरीको भनाई छ ।

थुनुवा÷वन्दी फरार भएसँगै निजको पछि–पछि लखेट्ने प्रहरी हवल्दार हिरा सुनार जम्प गर्ने क्रममा लडि घाईते समेत भई बोल्न नसक्ने भएकोमा स्थानीय अस्पतालमा उपचार भई हाल डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्