हिमालपारिका दुई जिल्लामा हिउँ नपर्दै अत्यधिक चिसो

तिलिचोको पानी जम्यो



मुस्ताङ ।

यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँको तिलिचो तालको पानी जमेको छ । तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्यांकी क्रमशः जम्न थालेका छन् ।

चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गंगापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरूपमा जमेका छन् ।समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचोमा अहिले पानी जमेको छ । अहिले मस्र्याङ्दी नदीको पानी जमेको छ ।

यसै गरी चिसोका कारण शाखा नदी बरफ बनेका छन् । घरका धारा र सेफ्टी ट्यांकी पानी जम्दा जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘चिसो सिरेटोले बाहिर निस्कन मुस्किल भएको छ, स्थानीय आगो बालेर घरभित्र बस्ने गरेका छन् ।’

उहाँले खानेपानीका धारा जम्दा स्थानीयले कुलोको बरफ भएको पानी तताएर दैनिक प्रयोजनमा उपयोग गर्ने गरेको बताउनुभयो । चालु वर्षको पुसको आधा बितिसक्दासमेत हिउँ परेको छैन । यद्यपि, हिमपात नभए पनि माथिल्लो मनाङमा बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको छ ।

चिसोकै कारण माथिल्लो मनाङका नागरिक निर्वाचन सकाएर जाडो छल्न बेंसी झरिसकेका छन् । मनाङका सामुदायिक तथा गुम्बा विद्यालय पनि घुम्तीका लागि बेंसी झरेका छन् । अत्यधिक चिसोले गर्दा पशुचौपाया र गोठालालाई समेत सास्ती खेप्नुपरेको छ । तल्लो मनाङ अर्थात् चामेमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ ।

चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् । मनाङका शैक्षिक संस्थाले जाडो बिदा दिएको र विद्यार्थी अभिभावकसँगै चिसो छल्न बाहिर गएका छन् । विकास निर्माणका काम पूरै चिसोले प्रभावित बनेका छन् । कर्मचारी पनि सदरमुकाममा सीमित रहेका छन् ।

त्यसै गरी मुस्ताङमा चिसो बढेपछि स्थानीयबासीको दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । केही दिन यता चिसो अत्यधिक मात्रामा बढेपछि धारा, खोला, तालतलैया जम्न थालेपछि जनजीवन कष्टकर भएको हो ।हिउँद याममा चिसोका कारण मुस्ताङको घरपझोङ–५ कैसाङ क्याम्पस्थित क्षमा ताल पूरै बरफ बनेको प्रचण्ड डंगोलले जानकारी दिनुभयो । घरपझोङको पश्चिमतर्फ पर्ने नीलगिरि हिमालको फेदमै अवस्थित यो तालको माथि पूरै जमेको छ । समुद्री सतहदेखि करिब ३२ सय मिटरको उचाइमा ताल छ ।

अत्यधिक चिसोका कारण उत्तरी मुस्ताङमा जनजीवन झनै कष्टकर बनेको छ । चिसोकै कारण खोलाहरू मात्रै नभई, धाराहरूमा पानीसमेत जमेका कारण समस्या भएको छ । चिसोका कारण धेरै मानिस घर छाडेर पोखरा र आसपासका जिल्लामा व्यापार गर्न झर्दै आएका छन् । चौंरी, याक, भेडा च्याङ्ग्रा कुरुवाहरू मात्रै गाउँमा छन् । उत्तरी मुस्ताङको लोमान्थाङ बजारमा पनि मानिसहरू कमै मात्रामा देखिन्छन् ।

होटलहरू समेत धेरै ठाउँमा बन्द छन् । चिसोले जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टाँसी नोर्बु गुरुङले जानकारी दिनुभयो । ‘हिउँदका महिना स्थानीयबासीका लागि ज्यादै कष्टकर हुन्छन् ।’ उहाँले भन्नुभयो– ‘चिसोबाट बच्न र दैनिक रूपमा जीवन चलाउन कठिन हुन्छ ।’ घरका धारा र सेफ्टी ट्यांकी चिसोले जम्दा नागरिकलाई सास्ती भएको छ भने चिसो सिरेटोले बाहिर निस्कन मुस्किल पर्छ, स्थानीय गुइँठा बालेर घरभित्र बस्न बाध्य छन् । गाउँपालिकाले चिसोबाट बचाउन न्यानो ज्याकेट वितरण गर्न थालेको अध्यक्ष गुरुङले बताउनुभयो ।

चिसो बढेपछि उपल्लो मुस्ताङको नरसिंह खोला, समरखोला, घिलिङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोेसेर जमेको छ । कालीगण्डकी करिडोर सडकमा पर्ने यी खोलाहरूमा पुल बनाउने काम भइरहेका कारण अहिले खोला जम्दा यातायातसमेत बन्द भएको छ । उपल्लो मुस्ताङ पुग्ने पर्यटक र स्थानीयबासी खोला जमेर यातायात अवरुद्ध हुँदा प्रभावित बनेका छन् । सामान ढुवानीसमेत प्रभावित बनेको अध्यक्ष गुरुङले बताउनुभयो ।

चिसोकै कारण तल्लो मुस्ताङमा पनि जनजीवन प्रभावित भइरहेको छ । तालहरू जमेका छन् भने जोमसोम, मुक्तिनाथ, कागबेनी, मार्फामा पनि बिहान धारामा पानी आउँदैन । बेलुका नै भाँडोमा पानी नराख्ने हो भने धारा जमेर शौचालय जानसमेत नसकिने अवस्था रहेको जोमसोमका होटल व्यवसायीहरू बताउँछन् ।

मुस्ताङमा अहिलेसम्म हिमपात नभए पनि उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्छ । चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् । मुस्ताङका शैक्षिक संस्थालाई जाडो बिदा दिइएको छ । विकास, निर्माणका काम प्रभावित बनेका छन् । जिल्लामा कर्मचारी पनि सीमित मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्