चिसो बढेपछि मुस्ताङको जनजीवन कष्टकर, धारा, खोला र ताल जम्न थाले 

0
Shares

मुस्ताङ।

मुस्ताङमा चिसो  बढेपछि स्थानीयवासीको दैनिक जनजीवन कष्टकर बन्न थालेको  छ । केही दिन यता चिसो अत्यधिक मात्रामा बढेपछि धारा, खोला, ताल तलैया जम्न थालेपछि जनजीवन कष्टकर भएको हो ।

हिउँद याममा चिसोका कारण मुस्ताङको घरपझोङ –५ कैसाङ क्याम्प स्थित क्षमा ताल पूरै बरफ बनेको प्रचण्ड डंगोलले जानकारी दिए । घरपझोङको पश्चिमतर्फ पर्ने निलगिरी हिमालको फेदमै अवस्थित यो तालको माथि पूरै जमेको छ । समुन्द्री सतहदेखि करिब ३२ सय मिटरको उचाइमा ताल छ ।

अत्यधिक चिसोका कारण उत्तरी मुस्ताङमा जनजीवन झनै कष्टकर बनेको छ । चिसोकै कारण खोलाहरु मात्रै नभई, धाराहरुमा पानी समेत जमेका कारण समस्या भएको छ । चिसोका कारण धेरै मानिसहरु घर छाडेर पोखरा र आसपासका जिल्लामा व्यापार गर्न झर्दै आएका छन् । चौँरी, याक, भेडा च्याङ्ग्रे कुरुवाहरु मात्रै गाउँमा छन् ।

उत्तरी मुस्ताङको लोमान्थाङ बजारमा पनि मानिसहरु कमै मात्रामा देखिन्छन् । होटलहरु समेत धेरै ठाउँमा बन्द छन् । चिसोले जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टाँसी नोर्बु गुरुङले जानकारी दिनुभयो । ‘हिउँदका महिना स्थानियबासीका लागि ज्यादै कष्टकर हुन्छ।’ उहाँले भन्नुभयो ‘चिसोबाट बच्न र दैनिक रुपमा जीवन चलाउन कठिन हुन्छ ।’ घरका धारा र सेप्टी ट्यांकी चिसोले जम्दा नागरिकलाई सास्ती भएको छ भने  चिसो सिरेटोले बाहिर निसक्न मुस्किल पर्छ, स्थानीय गुइँठा बालेर घरभित्र बस्न बाध्य छन् । गाउँपालिकाले चिसोबाट बचाउन न्यानो ज्याकेट वितरण गर्न थालेको अध्यक्ष गुरुङले बताउनुभयो ।

चिसो बढेपछि  उपल्लो मुस्ताङको नरसिंह खोला, समर खोला, घिलिङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोसेर जमेको छ । कालीगण्डकी कोरिडोर सडकमा पर्ने यी खोलाहरुमा पुल बनाउने काम भइरहेका कारण अहिले खोला जम्दा यातायात समेत बन्द भएको छ । उपल्लो मुस्ताङ पुग्ने पर्यटक र स्थानीयवासी खोला जमेर यातायात अवरुद्ध हुँदा प्रभावित बनेका छन् । सामान ढुवानी समेत प्रभावित बनेको अध्यक्ष गुरुङले बताउनुभयो ।

चिसोकै कारण तल्लो मुस्ताङमा पनि जनजीवन प्रभावित भइरहेको छ । तालहरु जमेका छन् भने जोमसोम, मुक्तिनाथ, कागबेनी, मार्फामा पनि बिहान धारामा पानी आउँदैन । बेलुका नै भाँडोमा पानी नराख्ने हो भने धारा जमेर शौचालय जान समेत नसकिने अवस्था रहेको जोमसोमका होटल व्यवसायीहरू बताउँछन् ।

मुस्ताङमा अहिले सम्म  हिमपात नभए पनि उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्री सम्म पुग्छ । चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् । मुस्ताङका शैक्षिक संस्थालाई जाडो बिदा दिइएको छ । विकास, निर्माणका काम प्रभावित बनेका छन् । जिल्लामा कर्मचारी पनि सीमित मात्रै छन् ।