काठमाडौं र लुम्बिनीको जित

0
Shares

काठमाडौं । 

जारी नेपाल टी २० क्रिकेट लिगमा मंगलबार भएका खेलमा काठमाडौं नाइट्स र लुम्बिनी अलस्टार्सले जित हात पारेका छन् । त्रिवि मैदानमा भएको खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको हो । यस्तै अर्को खेलमा लुम्बिनी अलस्टार्सले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो । यो नतिजासँगै लगातार तीन जित हासिल गरेको लुम्बिनी ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै लगातार दोस्रो जित हात पारेको काठमाडौं ४ अंक लिएर दोस्रो स्थानमा छ ।

जनकपुरको पनि चार अंक भए पनि नेट रनरेटको आधारमा काठमाडौं भन्दा पछि परेको छ । यस्तै फार वेस्टको २ खेलबाट २ अंक छ भने विराटनगर सुपर किंग्सले दुई खेल खेलेको छ । तर, विराटनगरले अंक जुटाउन भने सकेको छैन । पोखराले तीन खेल खेलेकोमा तीनैमा हार व्यहोरेर प्रतियोगितामा कमजोर टोलीको रूपमा आपूmलाई उभ्याएको छ । जबकि, पोखरेली टोलीका कप्तान अनुभवी क्रिकेटर शरद भेषवाकर हुन् ।

प्रतियोगिताको उच्च स्कोर

काठमाडौंले पहिले ब्याटिङ गरेर ६ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । यो जारी प्रतियोगितामा अहिलेसम्मकै उच्चतम स्कोर थियो । टोलीका लागि एलेक्स ब्लेक, भिरानदीप सिंह र अजमतुल्लाह ओमारजाईले आक्रमक ब्याटिङ गरेका थिए । इंग्लिस खेलाडी ब्लेकले ८३ रन बनाए । उनले ४३ बल सामना गर्दा ७ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसैगरी, मलेसियाका ब्याटर भिरानदीपले ३४ बलमा ४९ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । अन्तिममा अफगनिस्तानका ब्याटर ओमारजाईले १५ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ४३ रन जोडेका थिए । बलिङमा जनकपुरका लागि पवन शर्राफले २ विकेट लिँदा सोमपाल कामी, जितेन्द्र मुखियाले एक–एक विकेट लिएका थिए ।

जवाफमा जनकपुरको टोली पूरै २० ओभर खेल्दा पनि १ सय ५५ रनमै समेटिएको थियो । टोलीका लागि समिउल्लाह सेनवारीले सर्वाधिक २९ रन जोेडे भने सन्दीप जोराले २६ तथा पवनले २४ रनको योगदान दिएका थिए । अन्यले राम्रो ब्याटिङ गर्न नसक्दा जनकपुरको लागि प्रतियोगितामा पहिलो हार आत्मसात भएको थियो । अघिल्ला दिन चम्केका चाडविक वाल्टनको ब्याटिङ चल्न सकेन । बलिङमा काठमाडौंका लागि ओमारजाईले सर्वाधिक ३ विकेट हाासिल गरे ।

अर्को खेलमा पोखराले १ सय ३४ रनको सामान्य लक्ष्य दिएको थियो । तर, पोखरेली बलरले निकै किफायती बलिङ गर्दा लुम्बिनीको लागि त्यो सामान्य लक्ष्य पनि विशाल भएको थियो । टोलीले यति लक्ष्य पाउन अन्तिम बलसम्म संघर्ष गर्नुपरेको थियो । शाड्ली भान सालवायकले अन्तिम बलमा छक्का प्रहार गरेपछि लुम्बिनीको जित भयो भने पोखरा प्रतियोगितामा पहिलो जित हात पार्नबाट वंचित भएको थियो ।

लुम्बिनीको जितमा सालवायक नायक भएका थिए । उनले पहिले बलिङमा पोखराका तीन ब्याटरलाई आउट गरेका थिए । यसपछि ब्याटिङमा झन्डै पराजयतिर अग्रसर भइसकेको टोलीलाई जित दिलाए । ४ छक्का प्रहार गर्न सफल उनी ३१ रनमा नटआउट रहेका थिए । यसअघि, कुशल भुर्तेलले ३९ रनको योगदान दिएका थिए । यस्तै उन्मुक्त चन्दले २२ रन बनाएका थिए । पोखराका लागि विपिन खत्री र कुशल मल्लले २–२ विकेट लिए ।