अमेरिकामा लुटिएको तीन करोड अझै भेटिएन



काठमाडौं । 

अमेरिकास्थित नेपाली राजदूतावासले करिब एक हजार नेपाली नागरिकबाट पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली प्रमाणपत्र निर्माण गर्ने प्रयोजनले उठाएको झण्डै तीन करोड नेपाली रुपियाँ बराबरको डलर लुटिएको एक सातासम्म पनि न लुटेरा पत्ता लागेको छ न त लुटिएको झोला नै फेला परेको छ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार यही मंसिर २९ देखि पुस ५ गतेसम्म टेक्सास राज्यको डायलस, अस्टिन र ह्युस्टनमा उठाइएको सो रकम पुस ७ गते पार्किङमा राखिएको कारको सिसा फुटाएर लुटेराले लगेका थिए ।अमेरिका बसोबास गर्ने नेपालीहरूलाई घरदैलो सेवा गर्न घुम्ती टोली लिएर वासिंगटन डीसीबाट टोली टेक्सास राज्य पुगेको थियो । ‘राजदूतावासका कर्मचारीको लापरबाहीका कारण दुई लाख डलरभन्दा बढी रकम लुटिएको छ, यो लज्जाको विषय हो’ क्यालिफोर्निया निवासी मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले घटनाको विवरण दिँदै नेपाल समाचारपत्रलाई बताउनुभयो ।

टोलीका एक कर्मचारीले दिएको जानकारीअनुसार ९ सय २८ जनालाई सेवा दिएको र उनीहरूबाट लिइएको दुई लाख डलरको मनी अर्डर र क्यासियर चेक रहेको ब्याग नेपाली मूलका एक रेस्टुरेन्ट व्यवसायीको पसलअगाडि पार्क गरिएको गाडीबाट सिसा फुटाएर लुटिएको पनि पाण्डेले प्रष्ट पार्नुभयो ।

राजदूतावासको टोलीले स्थानीय प्रहरीलाई आफूहरू लुटिएको जानकारी तत्कालै गराए पनि ब्याग फेला परेको छैन । प्रहरीले मनि अर्डर क्यासियर चेकमा दूतावासको नाम लेखिएको भए लुटेराले साट्न नसक्ने तर नाम नलेखेका चेक र मनिअर्डर भने साट्न सक्ने जानकारी गराउँदै विज्ञप्तिमा भुक्तानीकर्ता सेवाग्राहीलाई पनि आफ्नो तर्फबाट तत्काल भुक्तानी रोक्काको पहल गरिदिन अनुरोध गरेको छ ।

वासिंटन डीसीबाट नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेको नेतृत्वमा राधारमण दुबे र कुमार श्रेष्ठको टोली टेक्सास पुगेको हो । टोलीले आफ्ना कारलाई पछ्याउने गाडीको भिडियोसमेत अस्टिन प्रहरीलाई दिएको छ तर क्रिसमसको लामो बिदा भएकाले प्रहरीले लुटेराको खोजबिनमा ढिलाइ गरिरहेको छ ।

दिउँसो करिब १२ः३० बजे स्थानीय रेस्टुरेन्टमा खाना खाइरहेका बेला यो घटना भएको हो । यसै घटनालाई लिएर वासिंगटन डीसीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख कुमार खरेलसँग सम्पर्क गर्दा लुटेराहरूले चोरी गरेको मनी अडर र क्यासियर चेकलाई सकेसम्म सेवाग्राहीहरूले समेत आफूसँग भएको सम्बन्धित क्यासियर चेक र मनिआर्डरको अधकट्टी लिएर आफूले बनाएको बैंक वा पसलमा पुगेर रद्द गर्न आग्रह गरिएको जानकारी गराउँदै सेवाग्राहीबाट लिइएको राजस्व रकमलाई कसरी पुनःस्थापित गर्न सकिन्छ भनेर सक्दो प्रयास गरिरहेको जानकारी गराउनुभयो ।

नेपाली दूतावासले सेवाग्राहीहरूलाई दोहोरो शुल्क नतिराउने तर सेवाग्राहीहरूलाई आफूले बनाएको मनिअर्डर क्यासियर चेकलाई भने सकेसम्म सम्बन्धित बैंक वा पसलमा गएर रद्द गर्न सघाउनुपर्ने जनाएको छ ।

पाण्डेका अनुसार दूतावासका तीन कर्मचारी अघिल्लो हप्ता टेक्सासका तीन प्रमुख शहरहरू डायलस, अस्टिन र ह्युस्टनमा राति १० बजेसम्म खटेर काम गरे । अमेरिकामा रहेको नेपाली समुदायलाई नेपाली पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली (एनआरएन) कार्ड लिन सजिलो होस् भनेर घुम्ती शिविर चलाइएको थियो । ‘शिविरहरूमा खटिएर सेवा दिएवापत निकै प्रशंसा बटुलेका कर्मचारीहरू ह्युस्टनबाट डिसी फर्किने बेलामा भने चर्को आलोचनाको शिकार भएका छन्’– पाण्डेले भन्नुभयो ।

‘लुटेराहरूले लुटेको जति सबै मनीअर्डर र चेकलाई नगद बनाउन त नसक्लान् । किनकि अधिकांश मनी अर्डर र क्यासियर चेकमा भुक्तानी पाउनेको नाममा ‘नेपाली दूतावास वासिङटन डिसी’ लेखिएको छ । यसरी लेखिएको मनी अर्डर तेस्रो पक्ष वा अहिलेको सन्दर्भमा लुटेराहरूले क्यास आउट गरेर सबै लिनसक्ने सम्भावना कमै हुन्छ । तर, केही मनी अर्डरमा भुक्तानी पाउनेको नाम नलेखिएको दूतावासकै कर्मचारीहरूले बताएका छन्’ पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्