शान्ति मिशनमा सहभागी हुने सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधिको मापदण्ड निर्धारण



काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा खटिने सशस्त्र प्रहरी कर्मचारीको कम्तिमा १५ वर्ष सेवा अवधि पूरा गरेको मापदण्ड निर्धारण गरेको छ । मिशनमा सहभागि हुने प्रहरी कर्मचारीको छनोट प्रक्रिया अझै निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले यो मापदण्ड निर्धारण गरेको हो ।

संशोधन गरिएको मिशन छनोट निर्देशिका–२०७९ ले लामो समयसम्म सेवा अवधि पूरा गरी मिशनमा अवसर नपाएका कर्मचारीहरु बढी लभान्वित हुने बताइएको छ । यसअघि ‘यूएन एफपीयू मिशन छनौट निर्देशिका–२०७१’ अनुसार न्यूनतम ५ बर्ष सेवा अवधि पूरा गरेका प्रहरी कर्मचारीसमेत मिशनमा सहभागि हुँदै आएका थिए ।

पहिले सेवामा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीले यस्ता प्रकारका अवसर पाउनुपर्छ भन्ने उद्देश्य र देशभरिका इकाईहरुमा कार्यरत कर्मचारीबाट प्राप्त सुझाव अनुसार निर्देशिका परिमार्जन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताउनु भयो ।

सशस्त्र प्रहरी कर्मचारीले सशस्त्र प्रहरी बल नेपालले हालै मात्र लागू गरेको बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य उत्तीर्ण हुनुपर्ने छ । जस अनुसार उचाई अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट बञ्चित हुनेछन् ।

समान मितिमा भर्ना तथा पदोन्नती भएका कर्मचारीको हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतीको जेष्ठताक्रम अनुसार छनोट गर्ने प्रावधान राखिएको छ । मापदण्ड पूरा भई विभागीय कारबाही भएको भए कारबाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर छनोट गरिनेछ । तर, पछिल्लो भर्ना तथा पदोन्नती मिति भएका कर्मचारीसँग छनोट गर्नुपर्ने भएमा यो प्रावधान लागू नगरिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी आचरण विपरीत क्रियाकलाप गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त निर्देशिकामा तोकिएको अवधिसम्म मिशन छनोटमा बञ्चित गरिने छ । जसअनुसार १ पटक मात्र विभागीय सजाय पाएका कर्मचारीको हकमा सजाय फुकुवा भएको मितिले १ वर्ष पूरा भएको हुनुपर्नेछ ।
दुई वा सोभन्दा बढी सजाय पाएका कर्मचारीको हकमा सात वर्ष पूरा भएको हुनुपर्ने छ ।

पदको जेष्ठतामा पर्नका लागि बढुवा फारम नभर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई तीन वर्षसम्म उक्त अवसरबाट बञ्चित गरिने छ । यसअघि बढुवा फारम नबुझाई सिनियर हुने र मिशनमा जान खोज्ने प्रवृत्ति देखिएकोले यस पटकको मिशन छनोट निर्देशिकामा यो पनि समेटिएको छ ।

उक्त निर्देशिका अनुसार वा पटकपटक गरी १२ महिनाभन्दा बढी समय ड्यूटी गर्न नसक्नेको हकमा नेपाल एपीएफ अस्पतालका सम्बन्धित चिकित्सकको राय अभिलेखबाट देखिएमा मिशन छनोट प्रक्रियामा त्यस्ता कर्मचारीलाई सहभागि गराइने छैन । तर, सशस्त्र प्रहरी कर्मचारी १२ महिनाभन्दा बढी ड्यूटीमा अनुपस्थित रहेको भए अनुपस्थित रहेको अवधि बराबर पूर्ण ड्युटी गरेको भनि अभिलेखबाट देखिएमा तोकिएको मापदण्डको आधारमा मिशन छनोट प्रकृयामा सहभागी गराइनेछ ।

एफपीयू प्रि–एफप्याट परीक्षामा सिनियर अधिकृतहरुलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागी गराई उत्तीर्णमध्येबाट दर्जागतको जेष्ठताको आधारमा छनोट गरिने छ । परीक्षामा अनुत्तीर्ण भई तोकिएको संख्या अपुग भएमा जेष्ठताक्रमको आधारमा निकट्तम जुनियरलाई परीक्षामा पुनः सहभागी गराई परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।

सशस्त्र प्रहरी निरीक्षकको हकमा तोकिएको संख्यालाई सत प्रतिशत मानी उक्त संख्याको ८० प्रतिशत खुल्ला भर्नाको जेष्ठताक्रमबाट र २० प्रतिशत भर्ना मितिको जेष्ठताक्रम अनुसार छनोट गरिनेछ ।

मिशन छनोट भएका अधिकृतले विशेष कारण बाहेक (प्रसूति, क्रिया, विपद्) मिशनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको वैकल्पिक उम्मेद्वारलाई छनोट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिनेछ । यसरी रद्द भएको कर्मचारी सो वर्ष सञ्चालन हुने अनपोल परीक्षामा सहभागी हुन पाउने छैन ।

मिशन छनोट पश्चात् सञ्चालन हुने तैनाथी पूर्व तालिममा सैद्धान्तिक एवं व्यवहारिक रुपमा लिईने स्तरपरीक्षामा अनुत्तिर्ण भएमा तथा सो तालिममा १५ दिनभन्दा बढिी अनुपस्थित भएमा र आचरण विपरीतको कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीको मिशन सहभागिता रद्द गरिने समेत निर्देशिकामा समेटिएको छ ।

यो निर्देशिका लागू भएसँगै भर्खरै सेवा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारी मिशनमा सहभागी भईरहँदा लामो समय सेवा गर्ने कर्मचारीहरु सहभागिताबाट बञ्चित हुने लगायतका गुनासो नआउने अपेक्षा संगठनले लिएको छ ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सन् २००३ डिसेम्बर १९ मा पहिलोपटक अफ्रिकी मुलुक लाईबेरियामा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) खटिएको थियो । अन्तर्राष्ट्रियस्तरमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको उच्च व्यवसायिकताले गर्दा पछिल्लो पटक अफ्रिकी मुलुक साउथ सुडानमा सन् २०१४ जनवरी १७ देखि यस्तै युनिट खटिइरहेको छ ।

अहिले उक्त मिशनमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा १ सय ८० जनाको टोली कार्यरत रहेको छ । हालसम्म सशस्त्र प्रहरी बल नेपालबाट ६१ वटा टोली गरी कुल ७ हजार ७ सय २४ जनाले शान्ति स्थापनार्थ मिशनमा सेवा प्रदान गरिसकेका छन् । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीको किडालमा हालै थप मिशनको रुपमा तैनाथीको लागि तयारी अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्