प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री, आज शपथ लिँदै



काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री हुनुभएको छ । शनिबार कांग्रेससहितको सत्ता गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेपछि प्रधानमन्त्री बन्नुभएको हो । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो ।

उहाँलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साहलगायत सात पार्टी एवं स्वतन्त्रका दुईसहित १ सय ६९ सांसदले समर्थन दिएका छन् । नेपाली कांग्रेस सहितको पाँचदलीय गठबन्धनको सरकार बनाउने छलफल चलिरहँदा एकाएक गठबन्धन टुटेपछि एमाले माओवादीसहितको गठबन्धनको सरकार बन्न लागेको हो ।

पूर्व सहमतिअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नदिने भएपछि प्रचण्ड एमालेसँग मिल्न पुग्नुभएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कांग्रेसले इमान्दारिता तोड्यो, त्यसैको परिणाम हामी कम्युनिस्ट पार्टीहरूसँगै मिल्न बाध्य भयौं । अब कम्युनिस्ट वामपन्थी सरकार बन्छ, हामी त्यसैमा लाग्छौं । ’

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बनाउन एमालेसहितको गठबन्धन बहुमत हस्ताक्षर लिएर प्रचण्ड राष्ट्रपति निवास पुग्नुभएको थियो । बालुवाटारमा आइतबार बिहान कांग्रेस नेतृत्वको गठबन्धनसँगको छलफलमा कांग्रेस अडानका कारण सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका अन्य राजनीतिक दलहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर छलफल गरेका थिए ।

उक्त छलफलमा एमाले माओवादी केन्द्रका नेताबाहेक, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति गरी ७ पार्टीको नयाँ गठबन्धन बनाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । नेताहरूबीच एमाले र माओवादीले ५ वर्षे कार्यकालमा आधाआधा समय सरकारको नेतृत्व गर्नेगरी सहमति गरेका छन् । बालकोटमा सहमति जुटेलगत्तै नेताहरू प्रधानमन्त्रीको दाबी गर्न बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास गएका हुन् ।

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपतिले उपधारा २ अनुसार सरकार गठन गर्न दिएको समय समाप्त हुने दिनसम्म पनि संसद्को ठूलो दल कांग्रेसले उपधारा २ अनुसार सरकार गठन गर्न पहलकदमी नगरेपछि स्वभाविक दोस्रो ठूलो दलको हैसियतले नयाँ सरकार बनाउन पहल कदमी गरेको बताउनुभयो । कांग्रेसले मिलाउन नसक्दा त्यस्तो बाध्यता आइलागेको बताउँदै पोखरेलले भन्नुभयो– ‘कांग्रेसले पहल नगर्दा संविधानको धारा ३ अनुसार जाने भएकाले २ अन्तर्गत नै सरकार बनाउनेबारे छलफल गर्याै , माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिसमक्ष दाबी पेस गरेको र त्यहीअनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।’

कांग्रेस माओवादीसहितको सत्ता गठबन्धनबाट स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव सहभागी भएका थिए ।चुनावलगत्तै बन्ने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस र माओवादीबीच भद्र सहमति भएको थियो । निवर्तमान प्रधानमन्त्री देउवाले भद्र सहमति उल्लंघन गरेपछि प्रचण्ड एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुन सफल हुनुभएको हो । देउवाले प्रचण्डलाई शनिबारसम्म सरकार गठनका विषयमा अल्टिमेटम दिएका थिए ।

शुक्रबारको छलफलमा देउवाले पार्टीभित्रकै नेताहरू पहिलो चरणमा प्रधानमन्त्री दिन नमानेको जवाफ प्रचण्डलाई दिएका थिए । तर, पार्टीका नेताहरूसँगको छलफलमा भएकाले मिलाउने बचनसमेत दिएका थिए । शनिबार बेलुका पुनः देउवा र प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताबीच छलफल सहभागी भएका थिए ।आइतबारको छलफलमा समेत देउवाले पुरानै अडान दोहो¥याएपछि प्रचण्डले गठबन्धन टुटेको भन्दै खुमलटार लागेका थिए । बालुवाटारबाट खुमलटारमा केही बेर विश्राम लिएका प्रचण्ड सीधै एमाले अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोट पुगेपछि अन्ततः प्रधानमन्त्री भएरै छाड्नुभयो ।

प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत नेताहरू लाइन लागेर बालकोट पुगेर उक्त सेटिङ मिलाएको नेताहरूको भनाइ छ । बालकोटमा एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल,महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेताहरूको सहभागी थियो । यस्तै, ओली प्रचण्डसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सहभागी भएका थिए । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा बहुमत पु¥याएर नयाँ सत्ता गठबन्धनका नेताहरू शीतलनिवास पुगेका थिए ।

प्रचण्ड पहिलोपटक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलोपटक प्रधानमन्त्री हुनुभएका प्रचण्ड प्रधानसेनापति रुक्माङ्गत कटुवाल काण्डमा मुछिएपछि नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य हुनुभएको थियो । त्यस्तै, वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि २०७३ साल साउन १९ गते प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुनुभएको थियो । उहाँले झण्डै १० महिनामा प्रधानमन्त्री पद छाड्नुभएको थियो । पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौं १० बाट प्रत्यक्ष निर्वाचित हुनुभएका उहाँ दोस्रो संविधान सभा चुनावमा काठमाडौं १० बाट पराजित भए पनि सिरहा–५ बाट निर्वाचित हुनुभएको थियो ।

२०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएको थियो । प्रचण्ड सरकारलाई एमालेले राष्ट्रपति र सभामुख लिएर सम्झौता गरेको छ । अन्य दलहरूले सरकारमा सहभागी हुने निर्णय गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।राष्ट्रपति कार्यालयले सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको जनाएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको १एक सय ६९ सांसदको समर्थन छ ।यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले माओवादी केन्द्र र एमालेसहितको गठबन्धनप्रति टिप्पणी गर्दै भन्नुभएको छ–‘हामी प्रजा सधैं सास्तीमा’ । उहाँले सामाजिक सञ्जालमा टिप्पणी गर्दैै लेख्नुभएको छ–‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनवटै सरकारमा । हामी प्रजा सधैं सास्तीमा ।’

प्रतिक्रिया दिनुहोस्