तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

0
Shares

तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो ।

अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो ।

उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो । थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ, थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले बताएका छन् । उनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको पनि बताएका छन् ।

उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । गम्भीर घाइते भएका उनीहरुलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । दुर्घटनाबारे अनुसन्धान जारी छ । एजेन्सी