उत्पादित बस्तुको प्रदर्शन र बजारीकरणका लागि प्रविधिको प्रयोग बढाऔँ : मन्त्री बडू 

0
Shares

सिन्धुली।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले विश्वभरको अर्थतन्त्र प्रतिकुल अवस्थामा रहेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताउनुभयो । उहाँले रुस–युक्रेन युद्ध र कोभिड १९ को सङ्क्रमण पछि विश्वको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको र त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताउनुभयो ।

शुक्रवार छैटौँ सिन्धुली महोत्सव २०७९ को उद्घाटन गर्दै मन्त्री बडूले खस्किँदो अवस्थामा रहेको देशको अर्थतन्त्र सबै मिलेर उकास्न जरुरी रहेको बताउनुभयो । ‘मुलुकको अथतन्त्रको अवस्थामा पूर्णता स्वास्थ्य छैन । तर यसलाई हाम्रो मेहनत र परिश्रमले अर्थतन्त्र उकास्न जरुरी छ । अर्थतन्त्रलाई स्वस्थ बनाउन जरुरी छ’ मन्त्री बडूले भन्नुभयो ।

मन्त्री बडूले विश्वले प्रविधिमा धेरै फड्को मारिसकेकाले अब आफ्ना उत्पादित बस्तुहरूको बजारीकरणका लागि अनलाइन माध्यमबाट हुने प्रचारप्रसार र विक्रीमा जोड दिनुपर्ने बताउनुभयो । उत्पादनको प्रदर्शनी तथा बजारीकरणका लागि प्रविधिसँग जोडिन अत्यावश्यक भइसकेको मन्त्री बडूको भनाई छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको चरणमा रहेकाले मुलुकको खस्कँदो अर्थतन्त्र सुधार गर्ने गरी यस बजेटलाई कार्यान्वयन गर्न सरकारले विभिन्न कोणबाट छलफल गरिरहेको मन्त्री बडूले बताउनुभयो ।

मन्त्री बडूले देशको अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ लैजान निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्न सरकार तयार रहेको बताउनुभयो । निजी क्षेत्रको सुझावका आधारमा उद्योग र वाणिज्यको क्षेत्रमा लगानी भित्र्याउन जमिनको हदबन्दी बढाउने नीति सरकारले लिएको मन्त्री बडूले बताउनुभयो । निजी क्षेत्रले उत्पादन गरेर बस्तु निर्यात गर्दा २ देखि ८ प्रतिशत सम्म नगद अनुदानको सहुलियत दिने नीति ल्याएको मन्त्री बडूले बताउनुभयो ।

उत्पादन र उपभोग वृद्धि गराउने नीति अनुसार प्रधानमन्त्री नेपाली उत्पादन र उपभोग अभिवृद्धि कार्यक्रम ल्याएको र यस कार्यक्रमलाई अगामी १० बर्षे अभियानको रुपमा संचालन गरिने मन्त्री बडूको भनाई छ । यो अभियान अन्तर्गत ग्रामीण तहमा उद्योग स्थापना गर्ने र बृहत्तर रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको मन्त्री बडूले बताउनुभयो ।