२८ औँ आइजिपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता सम्पन्न

आइजिपी कपको उपाधि नेपाल पुलिस स्कुल धरानलाई

0
Shares

काभ्रे।

नेपाल पुलिस स्कुल साँगामा आयोजित २८ औ आइजिपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । रनिङ्ग ट्रफिको उपाधि नेपाल पुलिस स्कुल धरानले प्राप्त गरेको छ । लिटिल एन्जल्स स्कुल काठमाडौँलाई ट्राईबेकरमा ५–४ अन्तरले हराउँदै नेपाल प्रहरी स्कुल धरानले आइजिपी कप हात पारेको हो ।

विजयी टिमलाई आइजिपी धिरज प्रताप सिंहले ट्रफि, मेडल र नगद पुरस्कार प्रदान गर्नु भएको थियो । पहिलो हुने टिम नेपाल पुलिस स्कुल धरानले नगद ५० हजार प्राप्त गरेको छ । दोस्रो हुने लिटिल एन्जल्स स्कुलले मेडल, प्रमाणपत्रका साथ नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । तेस्रो हुने ल्याबरोटरी स्कुल कीर्तिपुरले मेडल, प्रमाणपत्रका साथ नगद ३० हजार प्राप्त गरेको छ । अन्य खेलाडीहरूले विभिन्न विद्यामा नगद सहितको पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडी तथा अन्यलाई एआईजी सहकुलबहादुर थापा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । मिडिया संयोजक शिक्षक हरि कार्कीका अनुसार नेपाल प्रहरी स्कुल धरानका म्यान अफ द म्याच साहेब मन्सुरी, लिटिल एन्जल्सका भार्गव सिलवाल म्यान अफ द सिरिज, नेपाल पुलिस स्कुलका रोहन गुर्मईताले हाई स्कोर, लिटिल एन्जल्सका रोजिन सलजु वेस्ट गोल किपर र नेपाल पुलिस स्कुल साँगा समूह ए फेयर समूह घोषित भएको छ ।

पुरस्कार वितरण पछि आयोजित समारोहमा बोल्दै आइजिपी धिरज प्रताप सिंहले मेहनत, लगनशील, दृढ सङ्कल्प र धैर्यताबाट मात्रै सफलता प्राप्त गर्ने भएकाले खेलाडीहरूले धैर्यतावान् बन्नु पर्ने बताउनु भयो । ‘वैज्ञानिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’–आइजिपी सिंहले भन्नुभयो–‘अध्ययनसँगै खेलकुदलाई सँगै लैजान खेलाडीहरुको मेहनत र धैर्यता आवश्यक छ ।’ विद्यार्थी जीवनको अपरिहार्य खेलकुद भएकाले समूहमा कार्य गर्ने सिपको विकास समेत गर्ने र व्यक्तिको क्षमताको पहिचान समेत हुने भएकाले विद्यार्थीहरूले खेलकुदलाई प्राथमिकतामा राख्न आइजिपी धिरज प्रताप सिंहको सुझाव थियो ।

एआईजी सहकुल बहादुर थापाले खेलमा हारजित हुने भए पनि नियमित अभ्यास र लगनशील हुनु सफलता भएकाले विद्यार्थीहरूले हरेक क्षेत्रमा मेहनत गर्ने बानी बसाल्नु पर्ने बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन एआईजी सहकुलबहादुर थापाले गर्नु भएको थियो ।

लिग कम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा लिग ३५/३५ मिनेट, नक आउट ४०/४० मिनेटका साथै अतिरिक्त समय १०/१० मिनेटको थियो । कक्षा ९ र १० का विद्यार्थीहरू सहभागी भएको उक्त प्रतियोगितामा १५ वर्ष उमेर समूहका विद्यार्थीहरू सहभागी थिए ।