प्रो लाइसेन्स्ड कोचद्वारा युथ फुटबल क्याम्प हुने

0
Shares

काठमाडौं ।

पेरिविंकल सर्भिसको समन्वयमा आगामी जनवरीको दोस्रो सातादेखि प्रोफेसनल लाइसेन्स्डवाहक विदेशी प्रशिक्षकद्वारा युथ फुटबल क्याम्प सञ्चालन गरिने भएको छ ।

पेरिविंकलले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यू–१६ उमेर समूहसम्मको लागि दुई साता युथ फुटबल क्याम्प जानकारी गराएको हो ।

प्रशिक्षण क्याम्पलाई पोर्चुगलका युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक फावियो फ्लोराले प्रशिक्षण दिनेछन् । खेलकुद विज्ञानमा स्नातकोत्तर र शारीरिक शिक्षा र खेलकुदमा डिग्री गरेका उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन, इटालियन क्लब युभेन्ट्स र लाजियोको युथ टोलीमा काम गरिसकेका छन् ।

प्रशिक्षक फाबियोले यसअघि साउदी अरेबिया, लात्भिया, इस्ट टिमोर र म्यानमारका विभिन्न क्लबमा पनि काम गरिसकेका छन् । उनलाई नेपालका प्रवेश कटवालसहित सात जना प्रशिक्षकले साथ दिनेछन् ।

युथ फुटबल क्याम्प आयोजना गर्नुको मुख्य उद्देश्य जुनियर खेलाडीहरुलाई खेलकुदका आधारभुत प्रविधिहरु सिक्न, क्षमता विकाससँगै फुटबलका सम्भावित युवा खेलाडी उत्पादन गर्न रहेको पेरिविंकल सर्भिसका सिइओ दिपेश घलेले जानकारी गराए ।

युथ फुटबल क्याम्प जनवरी ९ देखि २२ जनवरीसम्म जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा हुनेछ । युथ फुटबल क्याम्पमा कम्तीमा पनि ११ देखि १६ वर्षमुनिका १ सय जनाको सहभागिताको अपेक्षा गरिएको छ । ११ देखि १२, १३ देखि १४ र १५ देखि १६ वर्षसम्म गरी तीन समूहमा प्रशिक्षण क्याम्प हुनेछ । क्याम्पमा सहभागिताको लागि जनहस् ३५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

सन २०१३ मा स्थापित पेरिविंकल सर्भिस मार्केटिङ, ब्रान्डिङ र व्यवस्थापन कम्पनी हो । यो कम्पनीले फुटबल, फुटसल, बास्केटबल र क्रिकेटमा पनि काम गरिसकेको छ । यस युथ फुटबल क्याम्पलाई बि एन्ड बि अस्पताल प्यारामेडिक्स पार्टनरको रुपमा रहेको छ । बि एन्ड बि अस्पतालले युथ फुटबल क्याम्प अवधिभर एम्बुलेन्स र प्यारामेडिक्स टोली उपलब्ध गराउनेछ ।

बि एन्ड बि अस्पतालका निर्देशक अनिल बास्कोटाले बि एन्ड बिले यसअघि पनि खेलकुदमा साझेदार गर्दै आइरहेको बताए । उनले खेलकुद र चोट पर्याय रहेको बताउँदै बि एन्ड बि अर्थाेमा राम्रो र रहेको र यसअघि फुटबल र क्रिकेटका खेलाडीको उपचारमा सहयोग गरिएको बताए ।