काभ्रेको चण्डेश्वरी साकोसलाई एसियाली स्तरको ब्राण्ड

ब्राण्ड पाउनेमा चण्डेश्वरी नेपालको एक मात्र सहकारी 

0
Shares

काभ्रे।

काभ्रे पलाञ्चोक जिल्लाको बनेपामा रहेको चण्डेश्वरी साकोसले एसियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त भएको छ । नेपालमा एक मात्र सहकारी चण्डेश्वरीले उक्त ब्राण्ड प्राप्त गरेको हो ।

वर्ष २०२२/२०२३ एसियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोञ्ज (कास्य स्तर) ब्राण्ड प्राप्त गरेको प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले जानकारी दिनुभयो ।

एक्सेस ब्राण्डको घोषणा एसियाली ऋण महासंघको नोभेम्बरमा प्रकाशित भएको न्युज लेटर मार्फत गरिएको हो । नेपालमा चण्डेश्वरी बाहेक अन्य सहकारीहरुले उक्त ब्राण्डका लागि अन्तिम परीक्षण नै गराएका थिएनन् ।

पछिल्लो पटक २०७६ मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएको भएता पनि यस वर्ष त्यसलाई चण्डेश्वरी साकोसले मात्र निरन्तरता दिन सकेको हो । पछिल्लो पटक २०७६ को एक्सेस अडिटमा पनि उक्त संस्थाले ब्राण्ड पाएको थियो ।

नेपालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र एसियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहकार्यमा एसियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम सञ्चालन हुँदै आएको छ । एक्सेस कार्यक्रम एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा एसियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्य सहित नेफ्स्कूनले २०६५ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो ।

एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा वृद्धि पक्षको अनुगमन गर्दछ ।

साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्वव्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दिगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिवृद्धि गर्नका लागि नेफ्स्कूनले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

चण्डेश्वरी साकोसलाई नेफ्स्कूनले यसै वर्ष बागमति प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा पनि पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा पौष ८ गते सम्पन्न नेफ्स्कूनको ३१ औँ वार्षिक साधारण सभामा सभाका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री शशी श्रेष्ठले दुवै विधाको पुरस्कार संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठ सहितको टोलीलाई हस्तान्तरण गर्नु भएको थियो।