उदासीनताका कारण बढ्दो आत्महत्या

0
Shares

काठमाडौं । ‘मेरी छोरी मनसुन परिवारमा सबैकी प्रिय थिई । आत्महत्या गर्दा उसले २८ वर्ष टेकेकी मात्र थिई । सबैको भलो चाहने उसले परिवारमा सधैं संयोजकको भूमिका खेलिरहेकी हुन्थी’ कलाकार अनिल पाण्डेले भावुक हुँदै भन्नुभयो– ब्यानरमा देख्नुहुन्छ नि, ऊ नै मेरी छोरी हो मनसुन गएको जुन २३मा क्यालिफोर्नियामा झुण्डिएर प्राण त्यागी । किन त्यसो गरी, तोकेरै भन्न त सक्तिनँ, तर आधुनिक प्रविधिले उसलाई एक्लो बनाएको हो कि जस्तो लाग्छ ।’

कलाकारद्वय निखिल उप्रेती र पाण्डेका दुई संस्था समोवधि र मदरल्याण्ड नेपालको संयुक्त आयोजनामा बिहीबार (२२ डिसेम्बर) का दिन ‘उदासीका कारण बढ्दो आत्महत्या’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । समाजसेवी पनि रहेका पाण्डेकी बायोकेमिष्ट तथा आइटी–इञ्जिनियर छोरीको असामयिक निधन अन्तरक्रियाको सूत्रकथा थियो ।

काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा युवा विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिका बीच सम्पन्न अन्तरक्रियामा व्यक्तिहरु किन उदासी वा डिप्रेसनमा जान्छन्, विषादका कारणहरु आत्महत्यासम्म गर्नपुग्छन् भन्ने विषयमा चर्चा गर्दै यसका समाधानका उपाय खोजिएको थियो ।

अमेरिकाको क्यालिफोर्नियामा बसोवास गर्दैआएका पाण्डेले नेपालमा मात्र होइन विश्वमै विषादका कारण आत्महत्या बढेकोले यस प्रकारको चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेपाली चलचित्रका नायक उप्रेतीले पछिल्लो समय बढ्दैगरेको आत्महत्याका घटनालाई गम्भीर रुपमा लिनुपर्ने सन्दर्भमा विभिन्न घटनाका साथ आफ्ना अनुभव सुनाउनुभयो ।

प्रहरीका अनुसार नेपालमा एक दिनमा कम्तीमा १६ जनाले आत्महत्या गर्नेगरेका छन् । नेपालमा बर्सेनि आत्महत्याको क्रम बढ्दो रहे पनि आम सर्वसाधारणले सीमित मानसिक स्वास्थ्य सहयोग पाउने अवस्था छ।

कोरोनाभाइरसको महामारी देखा परेयता विगतको तुलनामा नेपालमा आत्महत्याका घटनाहरूमा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ।

विज्ञहरू आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिन्छन्।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजिराव पाण्डवका अनुसार आत्महत्या गर्नुअघि व्यक्तिले आफू बाँचिरहनुको कुनै कारण शेष नरहेको ठान्नेगरेको पाइएको छ ।

शुक्रबारै अमेरिका फर्किने तयारीमा रहेका पाण्डेले मुलुकको समृद्धिमा भूमिका खेल्नसक्ने उर्जाशील युवाशक्ति आत्महत्यातिर लागेकाले माध्यमिक शिक्षाको पाठ्यक्रममै यस समस्याको समाधान हुनेगरी मनोसामाजिक विमर्शको विषय समावेश गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।