नेपाल लिटरेचर फेस्टिभलको एक दशक: साङ्गीतिक महौलबीच दशौँ संस्करणको सुरुवात



कास्की ।

नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए।

उनले ‘नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेष गरी नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक/सामाजिकनेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए।

“सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देहआशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ।जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्,” उनले भने।

“अबको एक दशकमा जनसङ्ख्या सवा तीन करोड पुग्ला र मुलुक जनसाङ्ख्यिक लाभको उत्कर्षमा आइपुग्ला। यो अवधिमा त मुलुकको शासकीय बागडोर पक्कै दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताहरूको हातमा पर्नेछ,” उनले भने।

तर, हामीले अपेक्षा गरेका सबै पक्षहरूमा सोचेजस्तै उपलब्धिहरू हासिल भए भने पनि त्यतिले मात्रै दशकपछिको नेपालको अनुहारलाई भविष्यको कुरा छोडौँ, वर्तमान विश्वकै औसत कोटीका विकसित मुलुकहरूको हाराहारीमापनि उभ्याउन नसक्ने उनको मत थियो।

“संसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा हामी धेरै सुस्त छौँ। नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैन, हामी आफै उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ।”

कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राखेका थिए। उनले अतिथि एवं सहभागीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस्