पोखराको आशा अब अन्तर्राष्ट्रिय विमानस्थल



पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना पुरा हुन अब दश दिन मात्रै बाँकी छ । अंग्रेजी नयाँवर्षदेखी पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी भइरहेको छ । एरोथाईले यान्त्रिक उडान भरिसकेपछि वायुसेवा कम्पनी बुद्ध र यतीलेपनि परीक्षण उडान भरेको छ ।

पोखराको लामो संघर्षपछि अन्तत: विमानस्थल निमार्णसंगै सञ्चालनमा आउने तयारी भएको छ । यतिबेला पोखराको अर्थतन्त्रको विकासको मुख्य आशाको केन्द्र अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । सन् २०२३ को जनवरी १ देखि नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयसम्म काम अघि बढ्न सकेको थिएन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ गते विज्ञप्ति प्रकाशन गर्दै संघर्षका कार्यक्रम गरेको थियो । २०६९ सालमा दुई हजार चारसय दुई जनाद्वारा रिले अनसन गरिएको थियो ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेका थिए । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइलाई दिइयो । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो । विमानस्थल करिब तीन हजार ७०० रोपनी क्षेत्रफलमा निर्माण भएको छ ।

विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २० र बोइङ सातसय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ । विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले पोखराको पर्यटन प्रबद्र्धनमा यसको ठूलो भूमिका रहेको बताए । उनले पोखरामा बुद्ध र यतीले परीक्षण उडान गरेसँगै पर्यटन व्यवसाय फस्टाउनेमा आशावादी रहेको बताए । ‘यसले ठूलो राहत मिलेको छ । अब पोखराको अन्तर्राष्ट्रिय मार्केट समेत हुनेमा हामी पर्यटन व्यवसायी आशावादी रहेका छौँ ।’ उनले भने । उनका अनुसार पोखरामा प्रतिदिन २० हजार पर्यटक राख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतिको परीक्षण उडान सफल 

जनवरी १ देखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी छ । विमानस्थल सञ्चालनमा आउने भयसँगै बुद्ध एयर र यति एयरले अन्तर्राष्ट्रिय उडानका लागि परीक्षण उडान समेत सम्पन्न गरेको छ ।

वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार परीक्षण उडान गरेको हो । अब यिनीहरूले व्यवसायीक उडानको तयारी थाल्नेछन् ।
दुवै एयरलाइन्सले एटिआर–७२ जहाजबाट डेमो फ्लाइट गरेका हुन् । एटिआर–७२ जहाजले पोखराको हालको चालु विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलसम्म डेमो फ्लाइट गरेका हुन् । यी जहाज ७० देखि ७२ सिट क्षमताका हुन ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले चालु विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान र अवतरण परीक्षण गरेको जानकारी दिए । ‘अहिले हामीले डेमेस्टिक एयरपोर्टबाट पाँच मिनेटको उडान भरेका हौँ । अब अन्तर्राष्ट्रिय टेकअफ पनि गराउँछौ’ उनले भने । उनका अनुसार बुद्धको उक्त विमान परीक्षण उडान पश्चात् काठमाडौँ फर्किएको छ ।

बुद्धले पहिलो उडान भारतको बनारसबाट गर्ने तयारी समेत गरेको छ । जनवरी १ मा भारतको बनारसबाट उडान भर्ने योजना रहेको उनले सुनाए । नेपालको तर्फबाट स्वीकृत पाइसकेपनि भारतको तर्फबाट भने स्वीकृत पाउन बाकिँ रहेको उनले बताए । ‘हामीले अन्तर्राष्ट्रिय उडान भारतको बनारसबाट गर्ने तयारी गरेका छौँ । नेपालबाट स्वीकृत पाइसकेका छौँ तर भारतबाट अहिले सम्म केही जानकारी पाएका छैनौँ’ उनले भने,‘डिल्लीमा हामीले निवेदन समेत दिएका छौँ ।

हामीलाई रुटको समस्या हो भारतबाट पाएमा उडान सुरु गर्छौ ।’ उनका अनुसार भारतको दिल्ली, बनारस, देरादुन लगायत सहरबाट उडान भरिनेछ । यद्यपि निरन्तर उडान भने मार्च देखी हुनेछ । ‘हामीलाई यात्रु ल्याउनका लागि पनि केही समय लाग्छ । यसको प्रचार प्रसार गर्न पर्ने हुन्छ । मार्चदेखीमात्रै हाम्रो नियमित उडान हुन्छ’ उनले थपे,‘त्यसपछि हामीले पोखरामै चार पाँच वटा जहाज राख्नेछौँ । यहाँबाट रात्रि कालिन उडान पनि हुन्छ ।’ बुद्ध एयर अहिले वेट एण्ड वाचको स्थितिमा रहेको छ ।

यती एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आफूहरूले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भरेको जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक चालक दलले एटिआर–७२ विमान मार्फत पहिलो पटक प्रदर्शन उडान गरेको बर्ताैलाले बताए ।

फोहोर व्यवस्थापन भइसक्यो अब समस्या छैन : मेयर आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ल्याण्डफिल क्षेत्रको समस्याको समाधान भइसकेको बताए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा मुख्य चुनौती बन्दै आएको ल्याण्डफिल क्षेत्रमा एक हप्तादेखी पुर्ने काम भएको उनले बताए । पोखरालाई अब अन्तर्राष्ट्रिय सहर बनाउन कसैले नरोक्ने उनको भनाइ रहेको थियो । ‘यो हामी सबैको गौरवको विषय हो । पोखरेलीको ४० वर्षअघिको सपना साकार भएको छ ।

अब जनवरी देखी संचानलमा आउनेमा कुनै शंका छैन’ उनले भने,‘हामीले ल्याण्डफिल साइड पुर्नका लागि रिठ्ठेपानी डाँडा कटान गरेको माटो ल्याएर पुर्ने काम गरेका छौँं । अहिले अस्थाई रुपमा पोखराको छ स्थानमा फोहोर व्यवस्थापन भइरहेको छ ।’ सोही क्रममा पत्रकारले कुन कुन स्थानमा भनेर सोध्दा रिसाउँदै उनले ‘त्यो भन्न जरुरी छैन । फोहोर मैला व्यवस्थापन गर्ने गाडीको पछि पछि जानुस थाहा हुन्छ । अहिले भन्यो भने अमेरिकामा भएको मानिसले मेरो ठाउँमा नफाल भन्न सक्छ ।’ भन्दै जवाफ दिए । उनले छ स्थानमध्ये एक स्थानमा लामो समयसम्म फोहोर व्यवस्थापन गर्न सकिने बताए ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्