दुई वर्षदेखि विद्युतीकरणको काम अलपत्र

उज्यालो भागेश्वर कार्यक्रम नारामा सीमित



डडेल्धुरा । 

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकामा विद्युतीकरणको काम दुई वर्षदेखि अलपत्र परेको छ । उज्यालो भागेश्वर भन्ने आकर्षक नारा दिएर सुरुवात गरिएको विद्युतीकरणको काम अलपत्र परेका हो ।

करिब २ करोड बजेटको टेन्डर आह्वान भई सम्झौता गरिएको भए पनि भागेश्वर गाउँपालिका भने अझै उज्यालो बन्न सकेको छैन । भागेश्वरका पाँचवटै वडाका गाउँबस्तीमा विद्युत् सेवा पु¥याउन आर्थिक वर्ष २०७६÷२०७७ मा ठेक्का सम्झौता भएको थियो । उज्यालो भागेश्वर कार्यक्रमका लागि भागेश्वर गाउँपालिकाको १ करोड ६ लाख र संघीय सरकार योजना आयोगको समपूरक कोषबाट ८५ लाख रुपियाँ विनियोजन भई १ करोड ९१ लाख रुपियाँ लागतमा विद्युतीकरण विस्तार गर्न युसव कन्ट्रक्सन र आरभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

२०७७ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि भागेश्वर गाउँपालिकाका कतिपय बस्तीमा पोल मात्रै गाडिएका छन् भने कतिपय बस्तीसम्म अझै पोल पनि पुगेका छैनन् । गाउँमा पुगेका पोल पनि भुइँमै ढलेका छन् । निर्माण कम्पनीहरूलाई काम सम्पन्न गर्ने समय हालसम्म दुईपटक थप गरिएको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले बताउनुभयो ।

युसव कन्ट्रक्सनसँग २ सय ३५ पोल गाडेर तार तान्न र आरभी कन्ट्रक्सनसँग २ सय ३५ पोल गरेर कुल ४ सय ७० पोल गाडेर तार तान्न ठेक्का सम्झौता गरिएको छ । ठेकेदारहरूलाई पटक–पटक ताकेता गर्दा पनि अटेरी गरेकाले विद्युतीकरणको काम हालसम्म अलपत्र परेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।

टेन्डर भएको रकमले भागेश्वर गाउँपालिकाका ३, ४ र ५ वडाका सबै घरधुरीमा पूर्ण रूपमा बिजुली पु¥याउन सकिने आँकलन गाउँपालिकाले गरेको थियो । तर, हालसम्म कुनै पनि वडामा बिजुली बल्न सकेको छैन । स्थानीय अँध्यारोमै बस्न बाध्य छन् । ठेकेदारले काम गरे बराबरको रकम माग गरिरहेको र गाउँपालिकाले रकम भुक्तानी गर्न नसकेको गाउँपालिकाका सूचना अधिकारी मातृकाप्रसाद जोशीले जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगले सम्झौताअनुरूपको रकम निकासा नगर्दा ठेकेदारलाई काम गरेअनुसारको रकम भुक्तानी हुन नसकेको उहाँले बताउनुभयो ।

विगतमा गरिएको कामको रकम भुक्तानी भएमा बाँकी काम गर्ने ठेकेदारले बताउँदै आएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । आरभी कन्ट्रक्सनले सानो पोलको सबै काम सम्पन्न गरिसकेको र हाल ठूलो पोल गाड्ने काम भइरहेको जनाएको छ । ११ मिटर लामो पोल गाड्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारले नौ मिटर लम्बाइको पोल गाडेको स्थानीयको गुनासो छ ।

नयाँ ट्रयाक खोलिएका ग्रामीण सडक छेउमा पोल गाडेर तार तानेपछि वर्षात्को बेला सबै पोल ढलेको स्थानीय बताउँछन् । ११ मिटरका पोल गाड्नुपर्ने भए पनि ११ र ९ मिटर गरी दुई फरक लम्बाई भएका पोल मिलाएर गाडिएकाले पनि सबै पोल ढलेको स्थानीय दीपक महताले बताउनुभयो ।

यस्तै मर्मत सम्भारका लागि पनि नेपाल विद्युत् प्राधिकरणबाट अर्को ठेक्का भएको छ । यस ठेक्काअन्तर्गत वडा नं. ३ को सतिगाउँमा मात्रै ८६ पोल आवश्यक देखिएको गाउँपालिकाले जनाएको छ । हालसम्म सतिगाउँमा करिब ३० वटा पोल मात्रै गाडिएको स्थानीय मदनराज भट्टले बताउनुभयो । यसमध्ये केही पोलमा लाइन तान्ने काम भएको र विद्युतीकरण विस्तारको अन्य सबै काम हालसम्म अलपत्र रहेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्