नाकाका हेल्थ डेस्कका १९ कर्मचारी कामविहीन

0
Shares

 बाँके । 

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका १९ जना कर्मचारी कामविहीन भएका छन् । माथिल्लो निकायले स्पष्ट निर्देशन नदिँदा नाकाको हेल्थ डेस्कमा खटिएका कर्मचारी तीन महिनादेखि कामविहीन भएका हुन् ।

सरकारले कोरोना, मलेरिया र टिबी जाँच गर्नका लागि नेपालगञ्जको नाकामा रहेको जमुनाहामा २०७७ चैत्र १२ गते हेल्थ डेस्क सञ्चालन गरेको थियो । दुई दिनपछि १४ गते कोरोनाका बिरामी फेला परेको थियो । त्यसयता १ लाख १० हजारको जाँच गर्दा १ हजार ६ सय ५२ जना कोरोना संक्रमित फेला परेका छन् । १८ हजारलाई जाँच गर्दा ३ जनामा मलेरिया र १ हजार ६ सय जनाको जाँच गर्दा १३ जनालाई टिबी फेला परेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो ।

दशैंदेखि (असोज) हेल्थ डेस्कमा कुनै जाँच भइरहेको छैन । कर्मचारीहरू आउने र बसेर जाने गरिरहेका छन् । कोरोना संक्रमण कम भएकाले सरकारले परीक्षणमा त्यति ध्यान नदिएको सम्बद्धहरू बताउँछन् । खास गरी यो हेल्थ डेस्क भारतबाट काम गरेर फर्किएका नेपालीलाई जाँच्नका लागि सञ्चालनमा ल्याइएको थियो ।

हेल्थ डेस्कमा ५ जना सरकारी स्थायी दरबन्दी, १२ जना प्रदेश सरकारबाट तलब खाने गरी करार र २ जना सेभ द चिल्डे«नले करारमा राखेका कर्मचारी छन् । तीन महिनादेखि यी कर्मचारी हेल्थ डेस्कमा आउने र हाजिर गर्ने काम गरिरहेका छन् । कर्मचारीहरूलाई दुई चरणमा डिउटीमा खटाइएको छ । आफ्नो पालो परेका बेलामा आउने र हाजिरी गरेर बसेर जाने गरेका छन् । कर्मचारीहरूले बिहान ६ देखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म डिउटीको तालिका बनाएका छन् ।

कोरोनाको संक्रमण नगन्य छ । मलेरिया गर्मीमा हुने भएकाले त्यति जोखिम छैन । रह्यो टिबीको कुरा, सरकारले ठूलो चासो देखाएको छैन । दशैंपछि भारतबाट आउनेभन्दा जाने नेपालीको संख्या बढी छ । दशैं, तिहार र मंसिरको चुनावमा आएका नेपाली धान थन्क्याएर पुनः भारततिर फर्किएका छन् । मौसमी कामका लागि भारत गइरहेका उनीहरू थारू समुदायका व्यक्ति माघी मनाउन र पहाडी समुदायका मानिस जेठमा धान खेतीका लागि फर्किने गर्दछन् ।

हेल्थ डेस्कका ल्याब टेक्निसियन ज्ञवालीले जनशक्ति र साधन स्रोत रहेकाले निर्देशन आउनेबित्तिकै जाँच गर्न सकिने बताउनुभयो । ‘हामी तयारी अवस्थामा छौं । साधन स्रोत पनि छ, माथिल्लो निकायबाट निर्देशन आउनेबित्तिकै जाँच हुन्छ’ –ज्ञवालीले भन्नुभयो ।अहिले हेल्थ डेस्कका कर्मचारीले पहिला जसरी दैनिक नै ‘एप्स’मा रिपोर्ट पठाइरहेका छन्, नतिजाविहीन रिपोर्टिङ । भारतबाट आएका केहीलाई सोधपुछ गर्ने र त्यसको रिपोर्ट एप्समा अपडेट गर्ने काम भइरहेको छ ।

नेपालगञ्ज पश्चिमको चलनचल्तीको भीडभाड हुने नाका मानिन्छ । कर्णाली प्रदेशबाट मौसमी कामका लागि भारत जानेहरू यही बाटो भएर जान्छन्, फर्किन्छन् । सरकारले भारतबाट आउने नेपालीसँगै संक्रमण र रोग भित्रिन नदिन नाकामा जाँच गर्ने परिपाटी बसाएको हो । जुन उद्देश्यले नाकामा हेल्थ डेस्क स्थापना गरिएको थियो । त्यसअनुसार काम भइरहेको छैन । माथिल्लो निकायको बेवास्ताका कारण यतिका कर्मचारी कामविहीन भएर बस्नुपरेको छ ।