रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत

0
Shares

काठमाडौँ।

नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारबाट स्रष्टाहरु पुस्कृत भएका छन् । १४ औं विकल स्मृति दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ ।

यस्तै २० हजार रुपियाँ राशीको रमेश विकल सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको नि:शुल्क सद्गति गरी समाजसेवा गर्दै आउनुभएका सपना रोका मगरलाई प्रदान गरिएको छ।

यसैगरी रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उप्रेति तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गरिएको छ । यस्तै रमेश विकल कला—संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी नगद १० हजार रुपियाँ रहेको छ ।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसले उद्घाटन गर्नु भएको उक्त्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रदेश सभासद् छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।

सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोर्कापण गरियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्राध्यापक डाक्टर हेमनाथ पौडेल, प्राध्यापक जगत उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाल लगायतले नेपाली साहित्यमा विकलको योगदानको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराएका थिए ।