सवारी चालक तथा सह–चालकको नि: शुल्क स्वास्थ्य परीक्षण

0
Shares

रामेछाप ।

रामेछापमा सवारी चालक र सहचालकहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रामेछाप सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालक र सह चालकको नि: शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शनिवार ५१ जना सवारी चालक तथा सहचालकहरूको सुगर तथा प्रेसर जाँच गरिएको प्रहरी सहायक निरीक्षक दीपक चौलागाईले जानकारी दिनु भएको छ । परीक्षण गरिएका मध्ये ४१ जना पुरुष र १० जना महिला रहेका छन् ।

सवारी चालकहरू शारीरिक तथा मानसिक रूपले पूर्ण रूपमा स्वास्थ्य रहनुपर्ने भएकाले प्रहरीले विभिन्न समयमा उनीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । हर प्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सडकबाटै चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

यसअघि मन्थली सदरमुकाम स्थित भैसेस्वरमा पनि चालक तथा सहचालकका लागी स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको थियो । सवारी चालक तथा सहचालकको सुगर,प्रेसर सँगै समयमा समयमा आँखाको समेत नि:शुल्क जाँच गर्ने गरिएको छ । स्वास्थ्य परीक्षण शिविरमा भाग लिएका चालक तथा सहचालकलाई स्वास्थ्य सम्बन्धी परामर्श सहित ट्राफिक नियम र सचेतनाका बारेमा समेत परामर्श प्रदान गरिएको छ ।