विकास खोज पत्रकारिता पुरस्कार पूर्व अध्यक्ष पौडेललाई 

0
Shares

लमजुङ। 

नेपाल पत्रकार महासंघ लमजुङले विकास खोज पत्रकारिता पुरस्कार जिल्ला शाखाका पूर्व अध्यक्ष सन्तोश पौडेललाई प्रदान गरेको छ । तत्कालीन जिल्ला विकास समिति लमजुङद्वारा स्थापना गरिएको पुरस्कार शाखाले १५ औँ साधारण सभाको अवसरमा पौडेललाई प्रदान गरेको हो ।

नेपाल पत्रकार महासंघमा दुई लाख रुपियाँ  अक्षयकोष स्थापना गरी प्रत्येक साधारण सभाको अवसरमा सो पुरस्कार वितरण गरिँदै आएको छ । पुरस्कार वितरणका लागि कार्यविधि अनुसार विभिन्न निकायको प्रतिनिधित्वमा छनौट समिति रहेको छ ।

पुरस्कार वितरणका लागि सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूको प्रतिनिधित्व गर्दै बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष तिर्थ न्यौपाने, जिल्ला समन्वय समितिका एक जना अधिकृत प्रतिनिधि, नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष नविनराज कुइँकेल र नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी सहितको छनौट समिति गठन भएको थियो । सोही समितिले शाखा पूर्व अध्यक्ष पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ लमजुङको पूर्व अध्यक्ष समेत रहनुभएका पौडेल जिल्लाबाट प्रकाशित हुँदै आएको लमजुङ पत्र साप्ताहिक र न्युज पेटिका अनलाइनको सम्पादक हुनुहुन्छ । पौडेलले २०५८ देखि २०६१ सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्व गर्नुभएको थियो । जिल्लामा संस्थापक अध्यक्ष नवराज पहाडीको नेतृत्वमा नेपाल पत्रकार महासंघ तदर्थ समिति गठन गरी स्थापना भएपश्चात् पौडेल पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

जिल्लामा अझै पनि निरन्तर प्रकाशनमा रहेको अन्तरंग साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले जिल्लामा प्रशासन हुने कर्मदा साप्ताहिक, लमजुङ हाईलाईट साप्ताहिक लगायतका पत्रिकामा पनि काम गर्नुभएको थियो सो बाहेक काठमाण्डौबाट प्रकाशन हुने नयाँ सडक, राजधानी दैनिक र पोखराबाट प्रकाशन हुने पोखरा पत्र, जनमत पत्रिकामा पनि काम गर्नुभएको थियो । पौडेल हाल सुन्दर बजार नगरपालिका प्रमुखका स्वकीय सचिव पनि हुनुहुन्छ ।

तत्कालीन जिल्ला विकास समितिले विकास खोज पत्रकारिता पुरस्कार स्थापनाका लागि एक लाख रुपैयाँ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रूपान्तरण भएसँगै एक लाख रुपैयाँको अक्षयकोषलाई बढाएर दुई लाख पुर्‍याएको थियो ।  जिसस सभाले निर्णय गरी नेपाल पत्रकार महासङ्घ लमजुङको स्वामित्वमा अक्षयकोष रहने गरी विकास पत्रकारिता पुरस्कारको लागि दुई लाख रुपैयाँ प्रदान गरेको थियो ।

विकास पत्रकारिताको भावनालाई आत्मासाथ गर्दै पत्रकारको योगदानलाई कदर गर्ने परिपाटिको विकास गर्न अक्षयकोषको स्थापना भएको थियो ।  पुरस्कार प्रदान गर्नको लागि छुट्टै नियमावली बनेको छ । महासङ्घ शाखाले सो रकमको व्याजबाट प्रत्येक साधारण सभाको अवसरमा जिल्लाका एक जना पत्रकारलाई नगद रु १० हजार एक सय एक सहित प्रमाण पत्र प्रदान गर्दै आएको छ ।

यसअघि जिल्लामा सोही पुरस्कारबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा संस्थापक अध्यक्ष नवराज पहाडी, पूर्व अध्यक्ष नविनराज कुइँकेल, निवर्तमान अध्यक्ष आश गुरुङ, वरिष्ठ पत्रकार मिलन शर्मा दनाईले प्राप्त गरिसक्नुभएको नेपाल पत्रकार महासंघ लमजुङ शाखाले जनाएको छ ।