अपाङ्गताको पहिचान गरी परिचयपत्र वितरण

0
Shares

सल्यान । 

सल्यानको बागचौर नगरपालिकाले अपाङ्गताको पहिचान गरी परिचयपत्र वितरण गर्न सुरु गरेको छ । अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविरको आयोजना गरी अपाङ्गताको पहिचान गरी परिचयपत्र वितरण गर्न थालिएको हो ।

बागचौर नगरपालिकाको आयोजना र युरोपियन युनियन, सेफ द चिल्ड्रेन, सिविसको सहकार्यमा आयोजना गरिएको शिविरबाट अपाङ्गता भएका व्यक्तिको प्रकृति हेरी उनीहरुको पहिचान गरेर परिचयपत्र दिइएको नगरपालिकाले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र थारमारे र  कोटबारा स्वास्थ्य चौकीमा शिविर राखेर पालिका भित्रको अपाङ्गता भएका व्यक्तिको पहिचान गरेको छ ।

अपाङ्गता परिचयपत्र कार्यविधि बमोजिम सम्भावित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र दिन योग्य ९२ जना छनोट भएका छन् । शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न र स्वास्थ्य चेक जाँचको लागि जिल्ला अस्पताल सल्यान बाट डाक्टरको नगरपालिकाले व्यवस्था गरेको थियो ।
राज्य बाट पाउने सेवा सुविधा बाट वञ्चित नहुन र अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी गराउनको लागि नगरपालिका भित्र रहेका अपाङ्गताहरूको पहिचान गरी परिचयपत्र दिन सुरु गरिएको नगर प्रमुख जनक गौतमले बताउनु भयो । पहिलो चरणमा शिविरको आयोजना गरी छनोट भएका व्यक्तिहरुलाई वडा बाट परिचयपत्र वितरण गरिने उहाँले बताउनु भयो ।

नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरु सदरमुकाम जान कठिन हुने भएकाले स्वास्थ्य अवस्थाको जाँच गर्न र सजिलै सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाका २ स्थानमा शिविरको आयोजना गरिएको नगर उप–प्रमुख सुम्निमा डि.सी वलीले बताउनु भयो । फरक क्षमता भएको व्यक्तिहरुको लागि आगामी दिनमा विभिन्न सिप विकासका कार्यक्रमहरू सञ्चालन गरी आत्मनिर्भरमा जोड दिने समेत उहाँले बताउनु भयो ।

कार्यविधिको आधारमा शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक प्रकृति बुझी परिचयपत्र वडाका जनप्रतिनिधिले घरमै पुर्‍याउने प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतमले बताउनुभयो ।

शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिले वास्तविक समस्या राख्ने त्यस आधारमा परिचयपत्र प्रदान गरिने उहाँले । शिविर सञ्चालन भएको ठाउँ सम्म आउन अति अशक्त व्यक्तिलाई नगरपालिकाले यातायात को सुविधा समेत  दिएको उहाँले जानकारी दिनुभयो ।