फागुन १४ मै स्ववियु निर्वाचन गर्नुपर्नेमा तीन विद्यार्थी संगठनको जोड



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ मै निर्वाचन गर्ने तयारी थालेसँगै विद्यार्थी संघ र संगठनहरू आपसी छलफलमा जुटेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी संगठन चुनावमा होमिएका हुन् ।

कुनै पनि बहानामा निर्वाचन रोक्न नहुनेमा जोड दिँदै नेविसंघका सभापति दुजाङ शेर्पाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्रिविले तोकेकै समयमा निर्वाचन गर्नेमा हामी ढुक्क छौं । यस विषयमा सरकार र त्रिवि गम्भीर हुनुपर्छ ।

सबै सरोकारवालासँग तत्काल बैठक बसेर थप निर्णय गर्नुपर्छ ।’अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले १४ वर्षदेखि रोकिएको निर्वाचन फागुन १४ मै गर्नुपर्ने अडान राख्दै भन्नुभयो– ‘हामीले पटकपटक त्रिविलाई दबाब दिइरहेका छांै, तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन । हामीले चुनाव गर्ने मात्र होइन, अबदेखि प्रत्येक दुई वर्षमै निर्वाचन गर्नुुपर्ने विषयलाई क्यालेन्डरमै समावेश गरी सोहीअनुसार अघि बढ्न आग्रह गर्नेछौ’– बरालले भन्नुभयो । मुलुकको राजनीतिक व्यवस्थालाई खाली हुन नदिन र क्याम्पसलाई चलायमान बनाउन स्ववियु निर्वाचनको विकल्प नभएको उहाँको भनाइ थियो ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले जस्तोसुकै परिस्थितिमा पनि फागुन १४ मै निर्वाचन गर्न त्रिविलाई आग्रह गर्दै भन्नुभयो– ‘त्रिविका पदाधिकारीलाई भदौमा ज्ञापनपत्र बुझाउदा तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने माग राखेका थियौं, अहिले बल्ल कार्यान्वयन होला जस्तो छ ।’ तीनवटै दलका विद्यार्थी संगठनका अध्यक्षले फागुन १४ मै निर्वाचन गर्नुपर्ने र त्यसका लागि तत्काल छलफल गर्नुपर्ने बताएका छन् ।

त्रिविले तोकेकै समयमा निर्वाचन गर्ने विषय विद्यार्थी संगठनमा भर पर्ने जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिविका पदाधिकारीसँग पहिलो चरणको छलफल गरेपछि निर्णय हुने जानकारी दिनुभयो । त्रिबिले हाल गृह मन्त्रालयको निर्णय पर्खिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘गृहमन्त्रीले निर्वाचन गर्न आदेश दिनासाथ विद्यार्थी संघसंगठनसँग छलफल गरी थप प्रक्रिया अघि बढाउनेछाैं ।’ उहाँले मिति तोक्नुभन्दा पनि कार्यतालिका बनाएर फागुनमै स्ववियु निर्वाचन गर्नेगरी तयारी भइरहेको बताउनुभयो ।
२८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागु भएपछि त्रिविका क्याम्पसमा नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लोपटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागु भएपछि पहिलोपटक विसं २०७३ मा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो ।१४ वर्षदेखि त्रिवि केन्द्रीय क्याम्पससहित उपत्यकाको १३ र उपत्यका बाहिरका २३ गरी ३६ क्याम्पसमा निर्वाचन हुन सकेको छैन । हाल देशभर त्रिविका ६२ आंगिक क्याम्पस सञ्चालित छन् ।

बाँकी आंशिक रूपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुनसकेको छैन ।२०७३ सालको निर्वाचनमा २८ वर्षे उमेरहद तोक्नुका साथै सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने व्यवस्था गरेको थियो ।

२०६५ सालदेखि निर्वाचन हुन नसकेका उपत्यकाका क्याम्पसहरूमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल, पद्मकन्या, शंकरदेव, त्रिचन्द्र, विश्वभाषा, पाटन संयुक्त, ललितकला, महेन्द्ररत्न, सरस्वती, अमृत साइन्स, नेपाल कमर्स र पब्लिक युथ रहेका छन् ।

उपत्यकाका २२ मध्ये थापाथली, भक्तपुर, नर्सिङ क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान, जन प्रशासन, सानोठिमी, महाराजगंज, आयुर्वेद क्याम्पस कीर्तिपुर र रत्नराज्य लक्ष्मी क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

निर्वाचन गर्न विद्यार्थी कल्याण परिषद्का अध्यक्ष एवं रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा समिति रहने व्यवस्था छ । समितिका सदस्य सचिवमा खेलकुद तथा विद्यार्थी कल्याण महाशाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । यसैबीच नेविसंघले त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासँग भेट गरी तत्काल निर्वाचन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्