गाली–कलहमा अल्झनुभन्दा राम्रो कर्म गर्न सिक्नुस्



सधैँ व्यक्ति, निकाय, समाज आफ्नो दायित्वबाट पन्छिने हो भने यो मुलुक राम्रो हुन गाह्रो छ । देश चलाउनेहरु सधैँ नोट, कार्यकर्ता, कुर्सीमात्र गनेर बस्ने अनि समाजचाहिँ नकारात्मक सोच र एक–अर्कालाई दोषमात्र दिएर बस्ने प्रवृत्ति देखिएको छ यहाँ ।

यसो हेर्दा यहाँ चोर पुलिसको नौटंकी खेलजस्तो भइराखेको छ । तीन दशकमा पनि हाम्रो मुलुकले द्रुतरुपमा विकासको गति लिन सकेन । सधैँ यस्तै भइराख्ने हो भने किन मरिहत्ते गर्ने द्रुत विकासका लागि ? सधैँ नेता र सरकारलाई मात्र गाली गरेर हुँदैन ।

हाम्रो देशको दुुर्भाग्य नै भ्रष्टाचार मौलाउनु हो । अब यसको निराकरणका लागि कसैले पनि योगदान नगर्ने हो भने चाहिएन हामीलार्ई द्रुत विकास । हामी पहिलाकै जस्तो बन्ने प्रयास गरौं । कारण त्यति बेला नेपालीहरु राम्रा थिए, जसले गर्दा देश रमाइलो र शान्त त थियो । अर्को कुरा एकले अरुलाई गाली गर्ने संस्कार थिएन र कलह हुँदैन थियो ।

विकास धेरै नभएर के भएको थियो र ? मानिसहरु रमाइलो तवरले बाँच्न त पाइराखेका थिए । तर अहिले आएर गलत कमाउ धन्दा र काण्डैकाण्डले गर्दा देशमा नरमाइलो हुँदै गएको छ । कारण प्रायः मानिसहरुले गलत संस्कारहरु सिक्दै गए । अब सबै पक्ष मिलेर यस्तो हुन नदिऔं । अन्यथा हाम्रो जस्तो मुलुकमा लोकतन्त्र, गणतन्त्र आउनुको के औचित्य भयो र ?

अझै चित्त नबुझेका कुराहरु

वास्तवमा भन्नुपर्दा यहाँ थरी–थरीका चम्चाहरु छन्, जसले गर्दा देश बिग्रिराखेको छ । हाम्रो देशको विडम्बना नै भन्नुपर्छ, देश चलाउनेहरुका धेरै सल्लाहकारहरु स्वार्थी, लालची हुनु तर राम्रो हुन नसक्नु । यिनीहरुले मुख्य नेताहरुलाई राम्रा–राम्रा राय–सुझाव दिन नसक्नु र आफ्नो मात्र स्वार्थ हेर्नाले नै देशको हालत सुस्त हुन पुगेको हो । साथै आर्थिक स्तर बलियो हुन नसकेको हो ।

यसमा केही गल्ती ठूला नेताहरु जस्तै– प्रधानमन्त्री, मन्त्री, सांसद आदिको पनि हो, जसले मलुकका लागि आफ्नो स्वार्थभाव त्याग्न र कडा हुन सकेनन् । अब भने परिवर्तन हुनु जरुरी छ । यसको लागि पहिला सांसद एवं सरकारमा रहनेहरुको संख्या एकदम नै घटाएर भ्रष्टाचार निर्मूल पार्नुपर्छ ।भगवानले खराब बनाए भन्दैमा सधैँ खराब भएर नबस्नुस् । हाम्रो मुलुकमा राम्रा–राम्रा काण्डहरु कम सुन्न पाइन्छ, तर समाज बिगार्ने काण्डहरु धेरै सुन्न पाइन्छ ।

अहिले देशको सबभन्दा ठूलो जल्दोबल्दो समस्या नै सुकुम्बासी समस्या हो । यसमा सरकार र सुुकुम्बासी दुवै पक्ष गलत छन् । शुरुदेखि नै सुकुम्बासी समस्याको तहबह मिलाउँदै गएको भए आज यो समस्या हुँदैनथ्यो होला । अर्को कुरा सुकुम्बासीहरुले पनि सरकारले दिएको स्थानको उपयोग गरेको भए र हुकुमबासीहरु पनि लालच नगरी यहाँ नआएको भए यत्रो ठूलो समस्या हुँदैनथ्यो होला । त्यसमाथि गालीगलौज र खुकुरी नृत्य गर्नु हाम्रो जस्तो सीधा समाजलाई अलि नपच्ने कुरा हो ।

विगतमा जे हुनु भइहाल्यो, अब सुकुम्बासी र सरकार अथवा महानगरपालिका दुवै पक्ष मिली यसलाई सुल्झाउँदै लग्नुमा बुद्धिमानी हुन्छ । एकैपल्ट महानगरपालिकाले पनि यिनीहरुको बस्ती नरिवलझैँ ध्वस्त गर्न हतार नगरी बिस्तारै गर्नुपर्छ । त्यसै गरी सुकुम्बासीहरुले पनि अमानवीय बल प्रयोग नगरौं । समयले सब ठीक गर्दै लैजानेछ । यो कुरामा विश्वास गर्नु आवश्यक छ ।

अहिले देशमा व्यक्ति, समाज तथा निकायका कुरा गर्दा लोभ, अल्छीपना, नकारात्मक कुरा, दोषारोपण, खुट्टा तान्ने रोग अझै पनि हराएको छैन । यसलाई सबै पक्षको अवगुण मान्न सकिन्छ । यी सबै कुरालाई स्वीकार्दै सबै पक्ष बदलिनु आजको आवश्यकता हो ।

अहिले देशलाई बदल्नको लागि मिडियाको पनि ठूलो हात छ । तर यो क्षेत्रमा नेताहरुसँग गफसफ गरिराख्नुभन्दा ज्ञान तथा शिक्षाको दायरालाई बढाउनु आवश्यक छ । । यसले गर्दा समाज राम्रो हिसाबले परिवर्तन हुँदै जानेछ । यो बाहेक सामान्य ज्ञान, स्पोर्टस, चिल्ड्रेन शो, गेम शो आदि कुराहरुले गर्दा नै टिभी दर्शक तथा मानिसहरुको मानसिकता बदल्दै जाने हो ।

अहिले संसार तथा हाम्रो मुलुकमा पनि मोबाइलको व्यापक विकास भएको छ । यसका राम्रा पक्ष भन्नाले देशविदेश तथा मुलुकको गतिविधि मानिसहरुले थाहा पाइराखेका हुन्छन् । साथै आजभोलि एकले अरुलाई ज्ञान दिने संस्कार पनि मोबाइलबाट आइराखेका छन् ।

यो समाजको लागि ज्ञान शिक्षाको हिसाबले राम्रो पक्ष पनि हो । तर विकृतिका कुरा गर्ने हो भने गाली, अश्लील शब्द, अश्लील चित्र, सम्भोगका कुराहरु पनि इशाराबाट प्रस्तुत भइराखेको हुन्छ, जुन गलत संस्कार हो, यी कुराहरुलाई राम्रा पक्षहरुबाट निर्मूल गर्ने प्रयास गर्नुपर्दछ ।

अहिले आएर हाम्रो देशमा पनि केही यस्ता निकायहरु छन्, जसले हाम्रो जस्तो समाजमा अझै राम्रो शिक्षा दिन पछि परिराखेका छन् । जस्तै– शिक्षण संस्था, चलचित्र, सूचना विभाग आदि निकायहरु अग्रसर हुनु जरुरी छ । हुन त यी कुराहरुमा यिनीहरुको योगदान छ तर अपुग छ ।

अन्त्यमा एउटा के कुरा भन्न चाहन्छु भने, लोकतन्त्र देशमा आएपछि अहिलेसम्मको अवस्थालाई हेर्दा घर कलह, राजनीतिक कलह, सामाजिक कलह आदि नक्कली महाभारतको लडाइँजस्तो देखिइराखेको छ । त्यसैले तमासा हेर्ने भगवानले यी कुराहरु बन्द गरिदिनुप-यो । तर भगवान् भन्छन्– म प्रयास गर्छु तर तिमीहरु सधैँ स्वार्थ, लालच र कलह नगर र राम्रो कर्म गर ।

प्रतिक्रिया दिनुहोस्