डाक्टर नै हाम्रा भगवान् हुन, हाम्रो पुनर्जन्म भयो

0
Shares

दैलेख।

दैलेखको पश्चिम क्षेत्रमा रहेको दुर्गम आठबिस नगरपालिकामा विगत धेरै वर्ष पछि आँखा शिविर सञ्चालन गरियो । आठबिस नगरपालिकाले आयोजना गरेको आँखा शिविरमा हजारौँ नागरिकले सेवा लिएका छन् ।

साबिक कर्णाली अञ्चलको प्रवेशद्धारकोे रुपमा रहेको आठबिस नगरपालिका दैलेख, कालिकोट र सुदूरपश्चिमको अछाम जिल्लाको  संगमस्थलको रुपमा रहेको छ । नेपाल नेत्र ज्योति सङ्घको सहयोग र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट तिन जिल्लाका हजारौँ स्थानीयहरूको आँखा परीक्षण गराए अनि उपचार पनि गराए । आँखा शिविरबाट छनौट गरिएका करिब २०० जना वृद्धवृद्धाहरुको मोतीबिन्दुको सफल अप्रेसन सफल गरिएको छ ।

“लामो समय सम्म यस क्षेत्रमा आँखा कुनै स्वास्थ्य शिविरको आयोजना गरिएको थिएन, नगरपालिका स्तरबाट हामीले आँखा शिविरको आयोजना गरेका हौँ, अहिले अछाम र कालिकोट सम्मका नागरिकहरूले सेवा लिए भने करिब २०० जनाको आँखा अप्रेसन गरिएको छ ,हामीले बिरामीहरूलाई निःशुल्क खाने बस्ने व्यवस्था गरेका छौँ ।” आठबिस नगरपालिका स्वास्थ्य शाखाका निमित्त गोविन्द शाहीले भन्नुभयो ।

यता आँखा अप्रेसन गरेका वृद्धवृद्धाहरुले आफूहरूले सुन्दर संसार हेर्न पाएको र पुनर्जन्म भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले मन्दिरमा देउता नहुने र आफूहरूका लागी आँखा अप्रेसन गर्ने डाक्टरहरू नै भगवान् भएको भन्दै खुसी व्यक्त गरेका छन् ।  अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का ८२ वर्षीय भट्टे भुलले भन्नुभयो “ माथिको डाँडा मिलाएर मैदान बनाए जस्तै मन चङ्गा भएको छ , एकचोटी जन्मिदा आँखा खुलेका हुन, आज फेरी आँखा खुले , मान्नुहोस् कि हाम्रो पर्नजन्म भयो ।”

सोही ठाउँ निवासी ७७ वर्षीय मौरे वडको खुसी पनि उस्तै थियो “सबको दया गरेर यहाँ आउनुभयो , घरदैलोमा नै आँखा खुले , भगवान् खोज्न कहाँ जानु र यिनै डाक्टर हाम्रा लागि भगवान् हुन ।”
आँखा शिविरको क्रममा आठबिस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले समाजमा शान्ति र जनता स्वस्थ नभएसम्म समाजको प्रगति नहुने भन्दै वृद्धवृद्धाहरुका लागि आँखा शिविर राखिएको भन्दै आगामी दिनहरूमा थप स्वास्थ्य शिविर आयोजना गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो “पहिले जनताको स्वास्थ्य अनि मात्र विकास, जनता नै रोगी भए कसरी विकास सम्भव छ र ? त्यी भएर ज्येष्ठ नागरिकहरूका लागि भएपनि यो आँखा शिविर आयोजना गरिएको हो , आगामी दिनहरूमा अन्य यस्तै शिविरहरू राखिने छ , हामी तयारीमा छौ ।”

दैलेख कालिकोट र अछाम जिल्लाको सङ्गममा रहेको आठ बिसको राकमकर्णालीमा सञ्चालन गरिएको आखाँशिविरबाट यहाँका नागरिकहरूको आँखा अप्रेसन मात्र गरिएको छैन उनीहरूको स्वास्थ्य सेवा पाउने अधिकार समेत सुरक्षित गरिएको छ ।