पारम्परिक सांस्कृतिक सम्बन्धको बलियो आधार ‘विवाह पञ्चमी’

0
Shares

नेपाल र भारतबीच परम्परागत एवं बहुआयामिक सम्बन्ध रही आएको छ । यी दुई देशबीचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउनमा सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठूलो योगदान रहेको छ ।

यस सम्बन्धको शुरु आरम्भ त्रेतायुगदेखि भएको हो । भारतको अयोध्याका राजकुमार श्रीराम र नेपाल मिथिलाकी राजकुमारी सीताको शुभ–विवाह भएदेखि नै नेपाल र भारतबीचको सामाजिक एवं सांस्कृतिक सम्बन्धले निरन्तरता पाउँदै आएको छ । यो वैवाहिक सम्बन्ध हाम्रा आराध्य भगवान् ‘सीताराम’ बाट शुरु भई राजपरिवार हुँदै सर्वसाधारणको घरसम्म परम्परा र हाम्रो जीवनको अभिन्न अंग बन्न गएको छ ।

तराई–मधेसमा मात्रै होइन, भारतसित सीमा जोडिएको पूर्वी र पहाडका क्षेत्रका जनताको पनि सीमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्ध र घनिष्ठता त्यति नै प्रगाढ रहेको छ । नेपाली र भारतीयबीच ‘बेटी–रोटी’ को सम्बन्ध भनिनुको कारण नै एक देशका चेली–बेटीको विवाह अर्को देशमा हुने हो र प्रत्येक संकटका बेला दुवै देशका एक–अर्काका नातेदारले आफ्नो क्षमताले भ्याएसम्म तत्काल तन, मन र धनले सहयोग गर्न, सहानुभूति व्यक्त गर्न र सम्बन्ध एवं उल्लास साटासाट गर्न पुगिहाल्नु हो । जनस्तरमा स्थापित यो सम्बन्ध सागरभन्दा बढी गहिरो र सगरमाथाभन्दा पनि अग्लो रहेको छ ।

प्रत्येक वर्ष मंसीर शुक्ल पञ्चमीका दिनलाई ‘विवाह पञ्चमी’ को रुपमा मनाइने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । शुभ विवाह–पञ्चमीका दिन जनकपुर धाममा नेपाल र भारतका लाखौं तीर्थालुहरुको सहभागिता र उपस्थिति एक्काइसौं शताब्दीमा पनि हाम्रो त्रेतायुगकालीन वैवाहिक सामाजिक–सांस्कृतिक सम्बन्धप्रतिको समर्थन र स्वीकृति हो । यस वैवाहिक सम्बन्धले हामीलाई एक–अर्कासित अभिन्न त बनाएको छ नै, धार्मिक र सांस्कृतिक विरासतका धनी पनि बनाएको छ ।

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्व छन् । जसमध्ये सांस्कृतिक समानतालाई प्रमुख रुपमा लिन सकिन्छ । सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिको बाध्यतात्मक अवस्थाबाट हुन सक्छ तर दुई देशबीचको सांस्कृतिक सम्बन्ध यति प्रगाढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि देशबीचको सम्बन्धले गर्न सक्दैन । नेपाल–भारत परस्पर आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रुपमा अनन्य भावले जोडिएका छन् । राजनीतिक रुपले नेपाल–भारत दुई पृथक सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र एवं अलग–अलग अस्तित्वका देश हुन् तर सामाजिक, सांस्कृतिक, धार्मिक रुपले यी दुई राष्ट्र एक–अर्काका निम्ति अभिन्न छन् ।

नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिमा बाँध्न सक्दैनौं । किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौं । धर्म, अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक–अर्कासित यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका वाहक छन् । हिमालय, हामी दुवै देशको निम्ति आत्मसाधनको स्थल रही आएको छ । आदिम कालदेखि नै हिमालयका महान् शिखरहरुले हामीलाई आध्यामिक शक्ति प्रदान गर्दै आएका छन् ।

नेपाल–भारत सम्बन्धको आधार पौराणिक, धार्मिक, भौगोलिक, सांस्कृतिक, वैवाहिक, सामाजिक, राजनीतिक र आर्थिक पक्ष पनि रही आएको छ । रहनसहन, खानपान, जीवनशैली, सामाजिक एवं सांस्कृतिक मान्यता तथा संस्कार पनि एउटै किसिमको रहने गरेका कारण हामी एक–अर्काको देशमा हुँदा पनि हामीलाई आफ्नोपनको अनुभूति भइरहेको हुन्छ । खुल्ला सिमाना हुनुको कारण पनि भरसक यही नै हो । हाम्रो सामाजिक सम्बन्ध कहिल्यै कमजोर भएन । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःख भागभवेत्’ को कल्याणमयी भावनाबाट हाम्रो सामाजिक व्यवस्था ओतप्रोत रहेको छ ।

देवीदेवताका मठमन्दिरको देशको रुपमा प्रचलित नेपाल र भारतमा शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सिख आदि धर्मावलम्बीहरु आफ्नो इच्छा अनुसार धर्मानुष्ठान गर्ने गर्दछन् । धर्मानुष्ठानका बेला सङ्कल्प लिँदा हरि ओम् तत्सत् आर्यावर्तान्तर्गते भारत वर्षे भारत खण्डे जम्बुद्वीपे बौद्धावतारे आदिको उच्चारण गरिन्छ, गणेशादि देवीदेवता पूजनादिका बाबजुद प्रमुख रुपमा ब्रह्मा, विष्णु र महेशको पूजन गर्दछन् ।

यिनलाई जन्मदाता, पालनकर्ता र संहारकर्ताको रुपमा जानिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वती यी तीन शक्तिलाई कष्ट दूर गर्ने, वैभव प्रदान गर्ने तथा बुद्धि प्रदान गर्नेको रुपमा मान्यता रहेको छ । यसरी नै पञ्चदेवता, विष्णु, पञ्चभौतिक, दशदिकपाल एवं नवग्रहादि देवतालाई समान रुपमा पूजा–अर्चना गरिन्छ र यिनका अहिंसा परमोधर्मको भावना बढी हुन्छ । यी ईश्वर अंश जीव अविनाशीको मान्यता राख्दै पशुपक्षी जड–जंगममा पनि ईश्वरकै अंश मान्ने गर्दछन् ।

नेपाल र भारत आर्यावर्तान्तर्गतका देश मानिन्छ । यस भूभागमा वैवाहिक सम्बन्ध निकै पुरानो छ । पौराणिक कालदेखिको यस सम्बन्धलाई रोटी–बेटीको पनि सम्बन्ध मानिन्छ । उत्तर–अभिमन्यु, अंशुवर्माकी छोरी र हर्षवद्र्धनको वैवाहिक सम्बन्ध पनि निकै पुरानो रहेको छ । भगवान् रामको समयदेखिको यो वैवाहिक सम्बन्ध यति पुरानो रही आएको छ कि यस परम्पराको निर्वाह आज पनि शाही परिवार र राणाका परिवारहरुमा समेत हुँदै आएको छ ।

त्रेतायुगमा स्थापित अयोध्या र जनकपुरको सम्बन्ध एक्काइसौं शताब्दीमा पनि कायम छ । भारत मध्यप्रदेशको टिकमगढकी महारानीले तीन–चार सय वर्षअघि जनकपुरधामको रामजानकी मन्दिरको निर्माण नौ लाख रुपियाँमा गराएकी थिइन्, शायद त्यसैले होला जनकपुरको रामजानकी मन्दिरलाई ‘नौ लखा’ मन्दिर पनि भनिन्छ ।

अहिले त यसको लागत ९ अर्बभन्दा पनि बढी होला । अयोध्या र जनकपुरको सम्बन्ध सीता र रामका रुपमा सम्पूर्ण हिन्दूका लागि आस्था र विश्वासको विषय बनिसकेको छ ।भारतका पूर्वप्रधानमन्त्री स्व। चन्द्रशेखर जनकपुर धामको भ्रमणमा आउँदा भनेका थिए कि सीता माताकै प्रेरणा र उत्साह वद्र्धनबाट भगवान् राम एक कुशल शासक र मर्यादा पुरुषोत्तम बन्न सके । जगद्जननी जानकीको स्थानलाई उनले उच्च मानेका थिए ।

प्रत्येक हिन्दूको मुखवाट प्रतिदिन प्रातकालमा निस्किने पहिलो शब्द ‘जय सियाराम’ नै हुने गर्दछ र सम्भवतः मृत्युकालमा पनि भन्न लगाइने शब्द ‘सीताराम’ नै हुने गर्दछ । ‘सीताराम’ को उच्चारण नामले पनि वैकुण्ठको बास हुन्छ भन्ने हाम्रो मान्यता रही आएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्षअघि पशुपति–काशी र जनकपुर–अयोध्या जोड्ने राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मोदीकै पहलमा भगवान् श्रीराम र माता जानकीको जीवन गाथासित जोडिएका महत्वपूर्ण स्थलहरु नेपालको जनकपुर, भारतको सीतामती, दरभंगा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्र गिरी, जगदलपुर, भद्राचलम, हम्पी, नासिक, नागपुर र रामेश्वरमलाई समेत समेटेर रामायण सर्किटको निर्माण भइरहेको छ ।

सम्भवतः यसमा श्रीलंकाका केही ठाउँलाई पनि समेटिनेछ ।माता जानकी तथा भगवान् श्रीरामको शुभ विवाहको पावन दिवस विवाह पञ्चमीको अवसरमा अयोध्याबाट जन्तीको रुपमा सहभागी हुन केही वर्षअघि जनकपुर धाम आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर–अयोध्या तथा काठमाडौं–बनारसबीच भगिनी शहर निर्माणसम्बन्धी सम्झौताले दुवै देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरेका थिए ।

भारत सरकारले जनकपुर र अयोध्याबीचको दूरी घटाउन रामजानकी राजमार्गको निर्माण गर्ने भएको छ । यसमा उत्तर प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनेछ । चार लेनको यो रामजानकी राजमार्ग निर्माण शुरु भएपछि जनकपुर, लखनऊ, अयोध्या र नयाँ दिल्लीबीचको दुरी कम हुनेछ ।