गण्डकी प्रदेशमा सरकारको नेतृत्व र मुख्यमन्त्रीको चर्चा

0
Shares

कास्की ।

मतगणना हुन नसकेको स्याङ्जा २ को मतगणनाको अन्तिम परिणाम आँएसँगै गण्डकी प्रदेशमा सरकारको नेतृत्व र मुख्यमन्त्रीबारे वहस शुरु भएको छ । गण्डकी प्रदेशमा गठबन्धनमा रहेका दलहरुले सरकार बनाउन सक्ने गरी नतिजा निकाले पनि सरकारको नेतृत्व कसले लिने र मुख्यमन्त्री को बन्ने यकिन भएको छैन ।

यद्यपि माओवादीको शनिबार सम्पन्न पदाधिकारी बैठकले सरकार गठनका विषयमा सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै नयाँ तरंग उत्पन्न भएको छ । तथापि गठबन्धनमा रहेका दलहरुले माओवादीले शक्ति बाँडफाँडमा सौदाबाजी गर्ने कार्ड बनाएको बुझाई छ ।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३६ सिट रहेको गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसले १८ सिटमा जित निकाल्दै पहिलो पार्टी भएको छ ।

२०७४ को निर्वाचनमा ठूलो दल बनेको एमाले यसपटक १२ सिटमा खुम्चिएर दोस्रो दल बनेको छ । त्यस्तै माओवादीले ४ र माओवादीको चुनाव चिन्ह लिएर गोरखमा जसपाको एक सिट समेत गरी ५ सिट पाएको छ भने १ स्वतन्त्र सासंद निर्वाचित भएका छन् । समानुपातिकतर्फको २४ सिटमध्ये दलहरुले अहिले प्राप्त गरेको मतको आधारमा नेपाली काँग्रेसले ९, नेकपा एमालेले १०, माओवादीले ३ सिट र २ सिट अन्यले पाउने सम्भावना छ ।प्रदेशमा सबैभन्दा ठूलो दलको बनेको नेपाली काँग्रेसले नै गठबन्धन सरकारको नेतृत्व गर्ने धेरैको अनुमान छ ।

तर गठबन्धनमा रहेका दलहरुले केन्द्रदेखि प्रदेशसम्म पदको बाँडफाड गर्दा गण्डकी प्रदेश कुन दलको भागमा पर्छ यसै भन्न नसकिने केहीको तर्क छ । गण्डकीमा गठबन्धनको सरकार बनेको अवस्थामा नेपाली काँग्रेस र माओवादीमध्ये कुनै एक दलले नै सरकारको नेतृत्व गर्नेमा कुनै शंका छैन । यद्यपि गण्डकीमा नेपाली काँग्रेसलेनै गठबन्धनको नेतृत्व गर्ने राजनीतिक विश्लेषकहरुको धारणा छ । गण्डकीमा नेपाली काँग्रेसले गठबन्धन सरकारको नेतृत्व पाउँदा मुख्यमन्त्रीको दौडमा रहेका नेताहरुले आ-आफ्नो लविङ शुरू गरेका छन् ।

नेपाली काँग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा समानुपातिकतर्फ पहिलो प्राथमिकतामा रहेको भए पनि ३३ प्रतिशत महिला सासंद हुनुपर्ने संवैधानिक प्रावधानले उनी सासंद बन्न सक्ने सम्भावन कम रहेको छ । प्रदेश सभामा सदस्य बन्न नसके सभापति शर्माको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लाग्ने छ । त्यस्तै अर्का सम्भावित दावेदर हुन्, गोरखाका सुरेन्द्र पाण्डेको । काग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डे यसअघि राष्ट्रिय सभाका सासंद थिए । गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्डलाई छोडेर प्रदेशमा झरेका पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको सशक्त दावेदारका रुपमा हेरिएको छ । माओवादीका केही नेताले चुनावी आमसभालाई सम्बोधन गर्दा उनलाई मुख्यमन्त्रीका रुपमा समेत चर्चा गरेका थिए ।

उता गण्डकी प्रदेश सरकारमा कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री समेत रहेका विन्दुकुमार थापालाई पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा हेर्न थालिएको छ । कास्की २ ९ख०बाट दोस्रोपटक विजय भएका थापा गण्डकी प्रदेशमा स्वच्छ छवी र इमान्दार मन्त्रीका रुपमा चिनिन्छन् । सासंद र मन्त्री हुँदा पाएको सम्पूर्ण सेवा सुविधासमेत विकास निर्माणमा खर्चेर मन्त्री थापाले आफूलाई निष्कलंक नेताका रुपमा स्थापित गराएका छन्। शालिन र नम्र स्वाभावका थापा मौजुदा मन्त्री परिषद् सदस्यमध्ये काँग्रेसबाट दोस्रोपटक जित्ने एक मात्र नेता हुन् । सफल व्यवसायी समेत रहेका उनी पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको पूर्व अध्यक्षसमेत हुन् ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उनैको अगुवाईमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माण गर्नुपर्छ भन्ने नागरिक आन्दोलन भएको थियो । मुख्यमन्त्रीको दौडमा रहेका दुवै नेता संस्थापन समूहमा छन् । थापा र पाण्डे बाहेक स्याङजाका भोजप्रसाद अर्याल, नवलपुरका महेन्द्रध्वज जि।सी पनि मुख्यमन्त्रीको दौडमा आउन सक्ने आँकलन गरिएको छ । यद्यपि मुख्यमन्त्री हुनका लागि संसदीय दलको नेता चुनिनुपर्ने व्यवस्था छ ।दोस्रो कार्यकालका लागि प्रदेशसभामा पुनः निर्वाचित भएका मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशसरकारको नेतृत्व गर्ने जिम्मेवारी पाए आफू मुख्यमन्त्री बन्न तयार रहेको प्रतिक्रिया दिए ।

‘यद्यपि सरकारको नेतृत्व र मुख्मन्त्रीमन्त्रीबारे गठबन्धनमा रहेका दलहरुबीचको राजनीतिक परार्मशका आधारमा तय हुन्छ, हामी यसबारे पार्टी र गठबन्धनका दलहरुसँग आन्तरिक छलफलमा छौं,’ मन्त्री थापाले भने ।उता सरकारको नेतृत्व माओवादीले पाउने अवस्थामा तनहुँ १ (ख) बाट निर्वाचित नेता हरिबहादुर चुमान मुख्यमन्त्रीको दावेदार हुनेछन् । एमालेले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको भएपनि गण्डकीमा तत्काल एमाले नेतृत्वमा सरकार बन्ने अवस्था छैन ।