पुनः मतदान शान्तिपूर्ण

0
Shares

दोलखा । 

दोलखाको चार मतदान केन्द्रमा बिहीबार भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । चार मतदान केन्द्रमा लगभग ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

बैतेश्वर २ गैरीमुदी मतदान केन्द्र र तामाकोशी ३ जफे मतदान केन्द्रमा मतदान स्थलबाहिर भने सामान्य विवाद भएको स्थानीयले बताएका छन् । प्रदेश १ का गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले आफू गैरीमुदी मतदान केन्द्रमा पुग्दा एमाले कार्यकर्ताहरूले ढुङ्गा प्रहार गरी आफ्नो गाडीको सिसा फुटाएको आरोप लगाउनुभयो ।

त्यसलगत्तै गठबन्धनका कार्यकर्ताहरूले तामाकोशी–३ जफे मतदान केन्द्रमा प्रदेश १ का एमाले उम्मेदवार नरबहादुर श्रेष्ठलाई समेत ढुङ्गामुढा गरेका थिए । आफूलाई गठबन्धनका कार्यकर्ताहरूले ढुङ्गामुढाको प्रयास गरेको श्रेष्ठले बताउनुभयो । गठबन्धन दलले जिल्लाको आठवटा मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोपसहित मङ्सिर ४ गते साँझ नै नेकपा एमाले दोलखाले मुख्य निर्वाचन अधकृतको कार्यालयमा उजुरी गरेको थियो । एमालेको उजुरीपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन संसदीय छानबिन टोली दोलखा पठाएको थियो ।

छानबिन टोलीको प्रतिवेदन तथा सिफारीसअनुसार निर्वाचन आयोगले मङ्सिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई १५ गतेभित्र दोलखाको बैतेश्वर गाउँपालिका वडानम्बर २ को जनज्योति माध्यामिक विद्यालय मतदान केन्द्रको क र ख दुई वटा, वडानम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रको क, ख र ग तीन वटा, वडा नम्बर ६ बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग तीन वटा तथा तामाकोशी गाँउपालिका वडानम्बर ३ को हेल्थपोस्ट भवन जफे मतदान केन्द्रको क र ख दुई वटा गरी १० वटा बुथमा पुनः मतदान गर्न निर्देशन दिएको थियो ।

निर्वाचन आयोगको निर्देशनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मङ्सिर १२ गते बैठक बसी मङ्सिर १५ गते बिहीवार पुनः मतदान गर्ने निर्णय गरेको थियो । पुनः मतदान भएको चार वटा मतदान केन्द्रमा आठ हजार पाँच सय १४ जना मतदाता रहेकोमा ४ हजार २ सय ५७ मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।बैतेश्वर गाउँपालिका वडा नम्बर दुई गैरीमुदीको जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रमा १ हजार ९ सय ३४ मतदाता रहेकोमा ९ सय ५५, वडानम्बर ३ कालीढुङ्गा मावि मतदान केन्द्र मिर्गेमा २ हजार ६ सय ६६ मतदाता रहेकोमा एक हजार दुई सय ३८, वडानम्बर ६ बैतेश्वर माध्यामिक विद्यालय नाम्दु मतदान केन्द्रमा दुई हजार चार सय ७२ मतदाता रहेकोमा एक हजार दुई सय ३४ र तामाकोशी गाउँपालिका वडानम्बर ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रमा एक हजार चार सय ८३ मतदाता रहेकोमा आठ सय ३० मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

्पुरनः मतदान भएको चार मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न चार सय बढी सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको थियो । मतदान केन्द्रमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा रहेको थियो । मतदाताहरूलाई अवरोध नहोस् र अन्यत्रबाट गैरमतदाता नआउन् भनेर मतदान स्थलका गौंडाहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकिङ राखिएको थियो भने नेपाली सेनाले मतदान केन्द्र आसपासका स्थानहरूमा गस्ती गरेको थियो ।