प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै

एकीकृत समाजवादीको समानुपातिक मत

0
Shares

काठमाडौं । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिकमा प्रतिनिधिसभातर्फ भन्दा प्रदेशसभामा धेरै मत पाएको छ । प्रतिनिधिसभामा थ्रेस होल्डको सीमा नजिक पुगिरहेको स्थितिमा एकीकृत समाजवादीले तुलनात्मक रूपमा प्रदेशसभामा धेरै मत ल्याएको हो ।

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ १ करोड ३ लाख ५९ हजार ५ सय ५० मतगणना सकिँदा एकीकृत समाजवादीले २ लाख ९३ हजार ९ सय ५७ मत ल्याएको छ । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सिटसहित समानुपातिकतर्फ कम्तीमा ३ लाख २० हजार हाराहारीमा मत ल्याउनुपर्ने हुन्छ । सो पार्टीले प्रदेश समानुपातिकतर्फ ३ लाख ६६ हजार ९ सय ५२ मत ल्याएको हो ।

एकीकृत समाजवादीले प्रदेश १ मा १८ लाख १३ हजार २ सय ६५ मत गन्दा ५४ हजार ८ सय ३१, मधेस प्रदेशमा २० लाख ७५ हजार २२ गन्दा १ लाख १३ हजार ५ सय ९०, वागमतीमा १८ लाख २९ हजार ८ सय १३ गन्दा ६३ हजार ५ सय ४० मत ल्याएको छ ।

त्यसै गरी गण्डकीमा ९ लाख २३ हजार ३ सय ७१ मत गणना गरिसक्दा १४ हजार ७ सय ३, लुम्बिनीमा १८ लाख ८७ हजार ७८ मत गन्दा ४२ हजार ६ सय २१, कर्णालीमा ५ लाख ७७ हजार ८ सय २९ मत गन्दा ३५ हजार ८ सय २६ र सुदूरपश्चिममा ८ लाख ३८ हजार ८ सय ९४ मत गन्दा ४१ हजार ८ सय ३९ मत ल्याएको छ ।प्रदेश समानुपातिक मतलाई हेर्दा एकीकृत समाजवादीले मधेस प्रदेशमा सबैभन्दा धेरै मत ल्याएको छ भने गण्डकीमा उक्त पार्टी कमजोर देखिएको छ ।