नगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनाविरुद्ध किटानी जाहेरी

0
Shares

काठमाडौं । 

काठमाडौंको थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन क्रममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गर्ने मुख्य चार जनाविरुद्ध आज शुक्रबार नगर प्रहरीले नेपाल प्रहरीमा किटानी जाहेरी दिँदै छन् ।कामपाले नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने राजु तामाङ, नारायण परिश्रमी, दीपकजंग कुँबर र हुकुमबहादुर लामाबिरुद्ध किटानी जाहेरी दिन लागेको हो ।

कामपाका सहायक प्रवक्ता महेश काफ्लेले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार सामान्य घाइते भएकाबाहेक कामपा प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहित २० जनाले हस्ताक्षर गरी जाहेरी दर्ता गराउन लागेको हो । कामपाका तर्फबाट कानुनी सल्लाहकार र महानगर प्रहरी सहितको समूहले तयार पारेको जाहेरीमा जनताको सेवामा खटिएका माथि घरेलु हतिहारसहित सांघातिक आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।

यसअघि मंगलबार कामपा प्रहरीले सामाजिक सञ्जाल, अनलाईन र पत्रिकाको कटिङसहित सुकुम्बासी बस्ती खाली गर्ने क्रममा बन्धक बनाएर कुटपिट गर्ने र सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्नुपर्ने माग गर्दै प्रहरी परिसरमा जाहेरी दिएको थियो । त्यति बेला किटानी जाहेरी नदिएको भन्दै कुनै कारबाही अघि नबढाएको प्रहरी परिसरले कामपा प्रहरी प्रमुख पाण्डेलाई महानगर प्रहरीबाटै किटानी जाहेरी दिन आग्रह गरेको थियो ।
घाइते हुनेहरूमा कामपा प्रहरी प्रमुख पाण्डे, राधाकृष्ण थापा, शर्मिला बोगटी, कृष्ण ढुंगानालगायत छन् । बोगटीलाई बन्धक बनाई निर्घात कुटपिट गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

हाल बोगटीसहित ३ जनाको नर्भिकको आइसीयूमा उपचार भइरहेको छ । नगर प्रहरीले उजुरी दर्ता गरेपछि पसिरसले किटानी जाहेरीमा नाम भएकालाई पक्राउ गर्न अदालतबाट अनुमति लिनेछ । जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जाहेरी दर्ता गरेपछि थप प्रक्रिया अघि बढाइने बताउनुभयो ।गत सोमबार बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन जाँदा सुकुम्बासीले नगरप्रहरीमाथि घरेलु हतियारसहित आक्रमण गरेका थिए । त्यस क्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । जसमा ३ जना गम्भीर भएको नगर प्रहरीले जनाएको छ ।
महानगरपालिकाले नगरप्रहरीविरुद्ध आक्रमण भएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा पत्र पठाएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्रअनुसार कारबाही अगाडि बढाउन प्रहरीलाई निर्देशन पनि दिएको थियो ।

प्रहरीले कारबाही अगाडि नबढाएपछि महानगर प्रहरीले किटानी जाहेरी गर्ने तयारी गरेको हो । कामपा प्रहरी प्रमुख पाण्डेले यसअघि सामाजिक सञ्जालमा आएका तस्बीरसहित सबै घटना देखेपछि किटानी जाहेर दिन नपर्ने बताउँदै आउनुभएको थियो ।काठमाडौंको थापाथलीमा सुकुम्बासीका १ सय ४३ घरधुरी बसोबास रहेको जानकारी पाएपछि कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा नगर प्रहरी बस्ती खाली गर्न डोजरसहित थापाथली पुगेको थियो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको समन्वयमा नगर प्रहरीको टोली बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन थापाथली पुगेको थियो ।