स्थिति नियन्त्रण बाहिर गएपछि धनगढीमा निषेधाज्ञा जारी, २ प्रहरी घाइते

0
Shares

धनगढी।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी राखेको छ । बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि तनाव भएको थियो । सोही कारण बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए, भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका छन् । आन्दोलनका क्रममा प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थिति झनै उग्र बनेको छ ।उग्र बनेका आन्दोलनकारीको आक्रमणबाट २ प्रहरी समेत घाइते भएका छन् ।

प्रहरीले बालिकाको शव उठाइसकेको छ भने मृतक बालिकाका आफन्त केहीबेर अघिमात्रै धनगढी पुगेका छन् ।

आज बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउँदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।