मधेशमा माओवादी शून्य ,यादवले जोगाए हँसिया हतौडाको साख

0
Shares

वीरगन्ज। 

मंसिर ४ गते सम्पन्न भएको आम चुनावमा मधेश आफूले नै मधेशको मुद्दा उठाएको दाबी गर्ने नेकपा माओवादीको प्रतिनिधि सभा तर्फको परिणाम भने शून्य भएको छ। तर, मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भने हुनु भएको छ ।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा यादव फरक पार्टीबाट उठेपछि हँसिया हतौडाबाट उहाँले चुनाव लडेका कारण यसो साख मधेशमा बचाउनु भएको हो ।सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित हुनु भएको हो ।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो। धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित हुनुभयो । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा एमाले नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित हुनुभएको हो ।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइन । उहाँ डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ ।  पार्टी फरक भए पनि उहाँ यस पटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा होमिनु भएको थियो ।

मधेश मुद्दामा सवालमा माओवादी स्पष्ट भएपनि उसका एजेण्डाहरु मधेशी नागरिकहरुकाबीचमा स्थापित गराउन नसक्नु,मधेशमा माओवादी नेताहरुमा चरम अवरवादी हुनु,आन्तरिक कलह तथा जनता माझ अलोकप्रिय नेतालाई टिकट दिएका कारण माओवादीले मधेशमा जीत निकाल्न नसकेको राजनीतिक वृत्तमा चर्चा छ ।