२८ वर्षपछि मकवानपुरमा उदायो राप्रपा

0
Shares

हेटौंडा । 

चारपटकको हारको बदला लिँदै राप्रपाका दीपकबहादुर सिंह प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा चुनावमा सिंह सत्ता गठबन्धन दलकी बलिया उम्मेदवार नेपाली कांगे्रसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डीना) र नेकपा एमालेका तर्फबाट सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनुभएका आफ्नै पुराना सहकर्मी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेर संघीय सांसद बन्न सफल हुनुभएको हो ।

राप्रपाले अन्तिमपटक २०५१ सालमा कमल थापा विजयी भएर जित निकालेको थियो । त्यसपछिका निर्वाचनमा न थापा जित्नुभयो न त राप्रपाले नै । त्यसयता राप्रपाबाट प्रत्यक्ष निर्वाचन जित्न नसकेका थापालाई त्रिपक्षीय प्रतिस्पर्धामा तेस्रो स्थानमा पु¥याएर सिंह विजयी बन्नुभएको छ । चारपटक प्रत्यक्षतर्फ र दुईपटक समानुपातिकमा निर्वाचन हारेका सिंह चुनावी प्रतिस्पर्धाबाट कहिल्यै भाग्नुभएन ।

वैशाखमा भएको स्थानीय तह चुनावमा हेटौंडा उपमहानगर मेयरमा चुनाव लड्दा उहाँ झिनो मतान्तरले पराजित हुनुभएको थियो । हाल मकवानपुरमा मतगणनाको सुरुवाती चरणमा वागमती र बकैया गाउँपालिकाको मतगणनामा खासै मत प्राप्त नगरेका सिंहले हेटौंडा उपमहानगर क्षेत्रको मतगणनामा भने धेरै मत प्राप्त गर्न थाल्नुभएको थियो ।

सिंह लोकतान्त्रिक बाम गठबन्धनकी डीनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्दा डीनाले २५ हजार ४ सय ३४ मत र थापाले २५ हजार ४ सय २० मत पाउनुभएको छ ।

हेटौंडा–९ र १० नम्बर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढ्नुभएको थियो । अन्ततः २ हजार ३ सय ९६ मतान्तरमा विजयी भएरै छाड्नुभयो । हालसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि अप्रत्याशित नतिजा हो ।

बहुदलपछि कम्युनिस्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाको संसदीय निर्वाचनमा लगातार पराजित हुँदै आएका उहाँले राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाएरै छाड्नुभयो । उहाँकै प्रचारप्रसारका लागि पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन २ पटक हेटौंडाका चुनावीसभामा सहभागी हुनुभएको थियो । सिंहले दुई संसदीय निर्वाचन र दुईपटक मेयर निर्वाचन लडेर पराजित भए पनि पाँचौंपटकको प्रयासमा जित निकाल्नुभयो । सिंहले पहिलोपटक संसदीय चुनाव जित्नुभएको हो ।