जर्मनीलाई जापानको चुनौती

0
Shares

एजेन्सी ।

कतारमा जारी फिफा विश्ककप-२०२२ अन्तर्गत आज हुने समूह दुईको खेलमा जर्मनी र जापान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल बेलुकी ६:४५ बजे शुरु हुनेछ ।

रसियामा भएको गत संस्करणमा समूहचरणबाटै घर फर्किएको जर्मनी उपाधिको बलियो दाबेदार हो । पछिल्लो युरोकपमापनि इङ्ल्यान्डसँग परजीत हुँदै अन्तिम १६ बाट बाहिरिएको चारपटकको विश्व विजेता जर्मनी सर्वाधिक पाँचपटक विश्वकप जित्ने ब्राजिलको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा रहेको छ ।

पछिल्लो आठ खेलमा मात्र दुई जीत निकालेको जर्मनी खराब लयमा रहेको छ । इङ्ल्यान्ड, इटाली र हंगेरी सम्मीलित नेसन्स लिगको समूहमा जर्मनी तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । जर्मनी कतार विश्वकपको लागि छनोट हुने पहिलो टोलीपनि हो ।

यता जापान जर्मनीलाई स्तब्ध बनाउँदै उत्कृष्ट शुरुवात गर्ने दाउमा रहेको छ । सन् १९९८ पछि लगातार समूहचरण खेलेपनि जापान नकआउट चरण पुग्न संघर्ष गर्दै आएको छ । जापानले विश्वकपको २१ खेलमा मात्र पाँच खेल जितेको छ । चार वर्ष अगाडि भएको विश्वकपको पहिलो दिनमै जापानले कोलम्बियालाई २-१ गोलले पराजीत गरेको थियो ।

हालसम्म जर्मनी र जापान कुनै आधिकारिक प्रतियोगितामा नभिडेपनि मैत्रीपूर्ण खेलमा चारपटकको विश्व विजेता जर्मनी एसियन टोलीविरुद्ध अपराजीत रहेको छ । सन् २००४ मा भएको एक खेलमा जर्मनी ३-० गोलले विजयी हुँदा अर्को खेल २-२ गोलको बराबरीमा सकिएको छ ।