देउवाले बोक्न नसक्ने ‘भारी’ भयो कांग्रेस

0
Shares

काठमाडौं । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मीले देशलाई ढपक्कै ढाके पनि सत्तारूढ नेपाली कांग्रेसका अधिकांश कार्यकर्तालाई भने यसपटकको निर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।

सोमबार काठमाडौंको नयाँसडकमा भेटिएका प्युठान खलंगाका श्रीधर भण्डारी यसपटकको निर्वाचनबाट आफू उत्साहित नभएको बताउनुहुन्छ । घरपरिवार नै कांग्रेस र आफू पनि नेपाल विद्यार्थी संघमा आबद्ध रहे पनि यसपटक निर्वाचनमा आफूलाई भोट हाल्ने जाँगर नभएको भण्डारीको भनाइ छ । निर्वाचनमा मतदान गर्नका लागि कलेज बिदा छ, जाने गाडी सित्तैमा पाइन्छ तर पनि भण्डारीले भोट हाल्न जिल्ला जानुभन्दा हिन्दी फिल्म ‘उचाइ’ दोहो¥याएर हेर्ने मनस्थितिमा रहेको बताउनुभयो ।

महाबौद्धको एक थोक पसलमा भेटिएका बुटवल देवीनगरका शालिकराम ज्ञवाली निर्वाचनमा आफू बुटवल नफर्कने बताउनुहुन्छ । गुल्मीमा हुँदादेखि नै आफू कांग्रेस कार्यकर्ता रहेको र २०४६ सालको आन्दोलनमा सक्रिय सहभागी भए पनि यसपटकको निर्वाचनले उहाँलाई खिन्न बनाएको छ । २०६८ सालदेखि बुटवलमा बसाइँ सरेका ज्ञवालीले अघिल्ला निर्वाचनमा पार्टीको बुथ एजेन्टसमेत भएर खटिनुभयो । यसपटक उहाँ आफ्नो क्षेत्रमा खटिनुभन्दा बरू छोराछोरीलाई पनि भेट्ने र होलसेलमा सामान किन्ने भन्दै काठमाडौं हानिनुभएको छ ।

चितवनको नारायणगढस्थित पुलचोकमा व्यवसाय गर्दै आएका बुद्धिनारायण श्रेष्ठले यसपटक आफू ‘नो भोट’को पक्षमा रहेको बताउनुहुन्छ । नेपाल समाचारपत्रको टिम जिल्ला भ्रमणबाट फर्कने क्रममा भेटिएका श्रेष्ठ तनहुँबाट चितवन झर्नुभएको हो ।
विगतमा नेपाली कांग्रेसलाई मत दिँदै आएको भए पनि यसपटक उहाँ कसैलाई पनि मतदान नगर्ने योजनामा हुनुहुन्छ । श्रेष्ठले यसपटक परिवारका सदस्यलाई पनि भोट हाल्न जानेभन्दा परिवारका सदस्य मिलेर ‘ड्राई पिकनिक’मा जाने प्रस्ताव गर्नुभएको छ ।

उता कैलालीका पूर्णभक्त जैशीको पनि मनस्थिति त्यस्तै छ । धनगढीको निजी कलेजमा अध्यापन गर्दै आएका जैशी भोट नै नहाल्ने भन्दा पनि समानुपातिकमा रूखमा मतदान गर्ने तर प्रत्यक्षमा भने उम्मेदवार रोज्ने पक्षमा नरहेको बताउनुहुन्छ ।
उल्लिखित पात्र नेपाल समाचारपत्रले प्रस्तुत गरेका प्रतिनिधि पात्र मात्र हुन् । नेपाल समाचारपत्रको टिमले जिल्ला रिपोर्टिङका क्रममा भेटिएका मतदातासँगको अन्तक्र्रियाबाट नेपाली कांग्रेसका अधिकांश कार्यकर्तालाई निर्वाचनको रौनकले छोएको छैन ।

पार्टीको जिम्मेवार तहमा रहेका व्यक्तिभन्दा कांग्रेसका साधारण कार्यकर्ता निराश देखिएका छन् । आफ्नै पार्टीका सभापति प्रधानमन्त्री, पार्टीकै नेतृत्वमा बनेको सरकारले गराएको निर्वाचन र प्रतिपक्षी दल नेकपा एमालले विभाजित रहेको अवस्थामा पनि निर्वाचनप्रति कार्यकर्ताको अनिच्छा तीव्र देखिएको छ । यस प्रकारको अनिच्छाको केन्द्रीय पात्र पार्टी सभापति तथा प्रभानमन्त्री देउवा देखिनुभएको छ । छैटौंपटक प्रधानमन्त्री हुने लोभ र विगतमा आफूबाट भएका कमजोरीलाई स्वीकार नगर्ने आडम्बरी चरित्रका कारण देउवा आलोच्य हुनुहुन्छ ।

अर्कातिर, देशकै पुरानो र पटक–पटक सत्तामा पुगेको लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसका कार्यकर्तामा यसपटक निर्वाचनप्रतिको वितृष्णा जाग्नुमा मुख्य कुरा आफ्नो निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार नहुनु नै मुख्य कारण रहेको छ ।
जिन्दगीभर पार्टी–पार्टी भनेर बसियो चुनावमा अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न मनले नमानेको अधिकांशको भनाइ छ । चितवनका बुद्धिनारायणको भनाइमा सधैं अर्को पार्टी र चुनाव चिह्नमा भोट हाल्नुपर्ने भएपछि अब आफू कांग्रेसी हुँ भन्ने पनि बिर्सिन्छ । ‘रूख र कांग्रेसप्रति आस्था छ, अर्कोलाई भोट हाल्न मनले मान्दैन अनि किन भोट हाल्न जाने ? बरू ‘मस्ती’ गरेर बस्छु ।’ श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

श्रेष्ठले आक्रोश पोख्दै भन्नुभयो– ‘कांग्रेसकै सभापति शेरबहादुर देउवाले कांग्रेस सिध्याउने भए । आफ्नो बाउको सम्पत्तिजस्तै गरी कार्यकर्ताको मत र भावना भाग लगाउँछन् । हिजो राणा पञ्चायत, राजा र कम्युनिस्टसँग लडेर कार्यकर्ताले जोगाएका पार्टी हो । त्यो कुरा नेतृत्वले बुझ्न नसक्दा चुनावमा सिट पातेबिलो लगाएर भाग लगाए, केन्द्रीय सदस्य नै टिकट पाउन क्वाँक्वाँ रुनुप¥यो ।’

चितवनका कांग्रेसले रूखमा भोट नै हाल्न नपाउने अवस्था सिर्जना गराउने पार्टी सभापति कांग्रेसकै हुन् भन्नेमा आफूलाई शंका लागेको श्रेष्ठको बताउनुभयो ।‘गठबन्धनको के ‘बन्धन’मा पार्टी सभापति बाँधिनुभयो कुन्नि उहाँ कांग्रेसलाई नै सिध्याएर अरू पार्टी जोगाउने पक्षमा सधैं लाग्नुहुन्छ ।’ भण्डारीले नेपाल समाचारपत्रसँग गुनासो गर्नुभयो । प्युठानमा एक्लाएक्लै लड्दा कांग्रेस पहिलो पार्टी हो । तर, तेस्रो पार्टीलाई समर्थन गर्ने बाध्यता कांग्रेसलाई छ । २०७४ सालको निर्वाचनमा एमाले माओवादी, मसालजस्ता कम्युनिस्टहरूको गठबन्धमा कांग्रेस एक्लै भिड्दा पनि आच्छु–आच्छु पारेको थियो । यसपटक त्यो गठबन्धन भत्किँदा कांग्रेसको जित निश्चित रहे पनि सभापति देउवाले आफ्नो पार्टीबाट उम्मेदवार उठाउने जाँगर देखाएनन् ।

पार्टी नेतृत्वको गलत निर्णयका कारण रूपन्देही–२ मा आफूहरू नेतृत्वविहीन हुनुपर्ने स्थिति सिर्जना भएको स्थानीय कांग्रेस कार्यकर्ताको गुनासो छ । कांग्रेस नेतृत्व विशेष गरी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति देशभरका कांग्रेसीहरू निराश देखिएका छन् ।‘सभापति देउवाले कस्को राजनीतिक भविष्य जोगाउने पक्षमा हुनुहुन्छ थाहा भएन तर उहाँको कार्यशैलीका कारण धेरै कांग्रेस नेता कार्यकर्ताको भविष्य भने दाउमा परेको छ । सरसरर्ती हेर्दा देउवाजीको क्षमताभन्दा कांग्रेस पार्टी ठूलो भयो । उहाँ यति ठूलो पार्टी चलाउने हैसियत राख्नुहुन्न ।

२०७४ सालकै काग्रेस पनि उहाँका लागि ठूलो हो ।’ राजनीतिक शास्त्रका उपप्रध्यापक विश्वमणि पौडेललेको विश्लेषण छ । संसद्मा प्रभावकारी उपस्थिति देखाएका डा. मीनेन्द्र रिजाल, कांग्रेस राजनीतिमा उदाउँदै गएका डा. स्वर्णिम वाग्ले, प्राडा गोविन्दराज पोखरेल, दिनेश कोइरालाजस्तालाई टिकटबाट वञ्चित गरेर पार्टीभित्र नेतृत्व विकास हुन्छ भनेर कांग्रेसले परिकल्पना गर्न नसक्ने पौडेलको बुझाइ छ ।

आफूहरू सात–सातपटक निर्वाचनमा उठेर जित्न तालमेल गर्ने तर आमकार्यकर्ताको मनोभावना के छ ? जनलहर कतातिर ढल्किएको छ त्यो बुझ्न नसक्ने पनि नेता हुन्छ ? पौडेलले प्रश्न गर्नुभयो ।अहिले ‘नो, नट अगेन’ र स्वतन्त्रको डम्फू पनि नेताहरूकै कारण बढी सुनिएको हो । आफूहरू समानुपातिकमा बसेर प्रत्यक्षमा सक्षम, जुझारु युवा नेतालाई अवसर दिएको भए पार्टीहरूप्रतिको वितृष्णा यति धेरै नदेखिने पौडेलको तर्क छ ।