‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’

0
Shares

काठमाडौं । 

निर्वाचन आयोगले पर्सि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।आयोगले केन्द्रीय स्तरबाट गर्नुुपर्ने तयारी लगभग पूरा भएको जनाएको हो । १० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदानका लागि स्थलगत तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बिहीबार आयोजित पत्रकार भेटघाटमा बताउनुभयो ।

मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने कार्य गरिरहेका छन् ।

मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । ‘मतदानका लागि आयोगले गर्नुपर्ने व्यवस्थापकीय र सुरक्षा प्रबन्ध मिलाउने कार्य पूरा भइसकेको छ’ –प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो ।

यसपटकको निर्वाचनमा कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय जना रहेका छन् । त्यसै गरी १ सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने अस्थायी मतदाता करिब ४ लाख ५० हजार रहेका छन् ।प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आज शुक्रबार र भोलि शनिबारभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य गरिसक्नेछ ।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसै गरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा रहेको छ ।

प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल ५ हजार ६ सय ३६ उम्मेदवार र प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको आयोगले जनाएको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कूल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छपाइएको थियो ।

निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्ने आयोगले जनाएको छ ।आयोगका अनुसार नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २ सय १९ जनालाई आयोगले पर्यवेक्षण परिचय–पत्र उपलब्ध गराइसकेको छ ।

पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले हालसम्म करिब ७ हजार ५ सय जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ ।

मतदान सकिएसँगै सम्बन्धित क्षेत्रको मतपेटिका जम्मा भइसकेपछि मतगणना शुरू गर्ने आयोगले जनाएको छ । मतगणना शुरू भएको पाँच दिनभित्र सबै मतपरिणाम आइसक्ने आयोगले जनाएको छ । त्यसको एक सातामा समानुपातिकतर्फको मतपरिणाम आउने र प्रतिवेदनलाई समेटिएर मङ्सिर २२ गते राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने आयोगको लक्ष्य रहेको छ ।