उम्मेदवार कलाकार

0
Shares

मैले गरेको जनताको सेवा नै जितको आधार हो: मदुकुमार श्रेष्ठ
अभिनेता तथा फिल्म निर्माता (प्रदेश सभा उम्मेदवार, धादिङ क्षेत्र नं १ ‘क’)

म २०७४ सालमा पनि चुनाव लडेको थिए। त्यो बेला जम्मा २ भोटले मात्र हारे।
त्यो बेला जितेको पार्टीले यहाँको शिक्षा स्वास्थ्य बाटो–घाटोलगायत कुनै पनि समस्या समाधान गरेन। मैले चुनाव हारे पनि धादिङको विकासका लागि निरन्तर काम गर्दै आएको छु। कोरोनाको समयमा पनि निम्न वर्गका मानिसहरूलाई दाल चामलजस्ता खाद्यान्न प्रदान गरेर सहयोग गरे भने डाक्टरहरूको टोली लगेर करिब चार हजार मानिसको निःशुल्क उपचार गरे। त्यस्तै, तीन-चार सय मानिसलाई काठमाडौं ल्याएर औषधि उपचारदेखि अक्सिजनसम्म वितरण गरे। साथै, अस्पतालमा भएका बिरामीलाई रोज दिएर खुसी बनाउने कोशिस गरे। त्यस्तै, डेंगुबाट पीडित व्यक्तिलाई पनि बुबाको नाममा फाउन्डेसन खोलेर करिब ११ लाख रुपियाँ खर्च गरेर धादिङका जनताको उपचार गरे।

म जसरी भए पनि यो ठाउँका जनताको सेवा गर्न चाहन्छु र उनीहरूको दुःखमा साथ दिँदै यो ठाउँका विकास गर्न चाहन्छु। हुन त, म काठमाडौंमा हुर्केको मान्छे हुँ। तर पनि म आफ्नो स्थानको मायाले गर्दा धादिङकै जनताको सेवामा खटिरहेको छु। त्यसकारण पनि मैले गठबन्धनको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको हुँ। मेरो मूल एजेन्डा भनेको बाटोघाटो, शिक्षा स्वास्थ्य, कृषि हुन् भने मैले प्रदेश सभाको अधिकारभित्र रहेर दिगो विकास तथा शान्तिका लागि खाका तयार गर्ने र यहाँका समस्या के छन्, त्यसको न्यूनीकरणका लागि के गर्न सकिन्छ भनेर धादिङमा नै सचिवालय खोलेर महिनाको ३ दिन धादिङमा बसेर समस्या समाधान गर्ने योजना छ।

प्रदेश सभाको सदस्य भएको नाताले पाउने तलब भत्ता नलिई त्यसबाट वृद्धवृद्धाको सेवामा खर्चिने तथा भ्रष्टाचार नगर्ने कसम खाएको छु। म भ्रष्टाचारविरुद्ध संसद्मा आवाज उठाउनेछु।अहिले निर्वाचन नजिकिइसकेको छ। त्यसैले, जनताको घर–घरमा पुगेर आप्mनो एजेन्डा राख्दै जनताको दैनिक समस्या समाधानबारे छलफल गरिरहेको छु। घरदैलो अभियानमा एकदमै राम्रो रेस्पोन्स पाइरहेको छु। अघिल्लो पाँच वर्षमा यस क्षेत्रमा कुनै क्षेत्रमा विकास नभएको र मैले यस ठाउँका जनतालाई दुःख पर्दा निरन्तर साथ नछोडेकाले पनि मलाई धेरैले साथ दिइरहनुभएको छ। मैले गरेको सेवा नै जीतको आधार हो। हिजोको दिनमा म एक्लै चुनाव लड्दा १४ हजार भोट पाएको थिएँ भने अहिले गठबन्धनबाट लडेको छु। गठबन्धनमा रहेका अन्य दलको समेत साथ रहेकाले पनि आफू विजयी हुनेमा विश्वस्त छु।’

जित्नेले नै सुकुम्वासी बनाएका रहेछन्:करण श्रेष्ठ क्रेजी
कलाकार तथा फिल्म निर्माता एवं वितरक (प्रदेश सभा उम्मेदवार काठमाडौ क्षेत्र नं १ ‘ख’)

म लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं क्षेत्र नं १ प्रदेशसभा ‘ख’को उम्मेदवार हुँ। म काठमाडौं ३१ नम्बर वडाको विकास गरौँ र जनताको सेवा गरौँ भन्ने उद्देश्यले चुनावमा उठेको हुँ।

पाँच वर्षअघि चुनाव जितेर जानेहरू एक दिन जनताको पुल बने भने बाँकी ४ वर्ष ३६४ दिनचाहिँ जनता र उनीहरूको सपनालाई पुल बनाएर आफू सत्ता र शक्तिमा पुगे। तर नातावाद, कृपावाद, कर्मचारीतन्त्र, लुटतन्त्र आदिका कारण उनीहरूलाई त्यो स्थानमा पु¥याउने जनताका अवस्थाचाहिँ जहाँको त्यहीँ छ। मेरो मूल एजेन्डा भनेकै जनता र उनीहरूको समस्या र सपना हुन्। चुनाव जित्नका लागि घोषणापत्र देखाउने र चुनाव जितेपछि जनताको वास्ता नगर्ने प्रवृत्ति पहिलेदेखि नै रहिआएको छ। देखाउनका लागि मात्र घोषणापत्र बनाउनुभन्दा घोषणापत्र बिना काम गरेर देखाउनु ठूलो कुरा हो।

पाँच वर्षअघि १५ वटा एजेन्डासहित आएकाहरूले घोषणापत्रमा भएका ५ वटा मात्र काम गरिदिएको भए पनि राम्रो हुन्थ्यो। जित्नेले विकासका लागि केही गरेनन्। जनताको समस्या हल गर्न सक्दैन भने त्यो कसरी जनप्रतिनिधि भयो? तर, म प्रदेशसभामा गएपछि यीसँगै शिक्षा स्वास्थ्य रोजगारजस्ता कुराहरूमा चाहिँ बलियो कानुन बनाएर त्यसलाई स्ट्रिकली लागू गर्न पहल गर्छु।

मानिस जन्मेपछि गाँस, वास, कपास, क्षिक्षा, स्वास्थ्य उसको नैसर्गिक अधिकार हो। यसका लागि कानुन त छ। तर, त्यो पालना हुन नसक्दा जनता समस्यामा छन्। मैले ३१ वडाका वासिन्दासँग घर दैलो कार्यक्रमको क्रममा पाँच वर्षअघि यहाँबाट जित्नेले के ग¥यो र हार्नेले के ग¥यो भनेर प्रश्न गरेको छु। त्यसको लेखाजोखा यहाँको वासिन्दाले राख्नु नै भएको छ। त्यतिबेला सुकुम्वासीलाई लालपुर्जा दिन्छु भनेर भोट लिइयो। तर, अहिलेसम्म पनि उनीहरूको अवस्था त्यहीँ छ। वास्तवमा जितेर जानेहरूले पोे जनतालाई सुकुम्वासी बनाएका रहेछन्।

म फिल्म क्षेत्रको मान्छे, फिल्म वितरण गर्नु पनि एक किसिमको व्यवस्थापनको काम हो। सबै कुरा मिलाएर हलसम्म फिल्म लानुपर्ने हुन्छ। राजनीति पनि त्यस्तै हो। जनताका समस्या बुझेर सबै कुरा मिलाएर लैजाँदा मात्र उनीहरूको समस्या समाधान हुने रहेछ। त्यही कारण पनि मैले उम्मेदवारी दिएको हुँ। हुन त मलाई अन्य दलका उम्मेदवारले भेटौँ, सल्लाह गरौँ, उम्मेदवारी फिर्ता लिनुस् पनि भनिरहेका छन्।

सबैको चाहना जनताको सेवा नै हो भने एउटा टिम बनाऔं र यसपटक तपाईंहरू मेरो गार्जियन बनेर मलाई सहयोग गर्नुस्, मेरो पछाडि बसेर सल्लाह दिनोस् भनेको छु। यदि, उनीहरूले पाँच वर्ष पहिला जितेर जनताको समस्या समाधान गरेको भए र राम्रो काम गरेको भए म आफ्नो उम्मेदारी फिर्ता पनि लिन्थें। तर, त्यही व्यक्तिहरू फेरि जनतालाई सपना देखाउँदै चुनावमा उठेको देख्दा अब हामीले गर्ने भनेको यही बेला हो भनेर उम्मेदवारी दिएको हुँ।

यहाँका वासिन्दाबाट राम्रो समर्थन पाइरहेको छु। उहाँहरूले युवा अगाडि बढ्नुपर्छ हाम्रो साथ छ भन्नु भएको छ। हुन त म एउटा परीक्षा दिन अँएको हुँ। यदि, मैले राम्रो गरेको रहेछु भने जनताले त्यही अनुसारको नम्बर दिनुहोला र मेरो विजय होला। यदि, दिनुभएन भने पनि म जनताको सेवामा खटिइ नै रहनेछु।