हात्ती आयो हात्ती आयो फुस्सा !



‘जय नेपाल दाइ,
लाल सलाम भाइ,
आज घरदैलो कता ?
बस न, एकछिन् मेरा कुरा सुन ।
सुन्छु दाइ, ल भन्नुस् ।

सुदूर–अतीतमा गाउँघरमा जन्त जानु निक्कै जोखिमको काम मानिन्थ्यो । जन्तीहरु आ–आफ्ना हतियार कम्मरमा भिरेर जान्थे रे ! बाटोमा एउटा बरियाँतसँग अर्को बरियाँत भेटियो भने युद्धस्तरको झगडा हुन्थ्यो रे ! जित्नेले हार्नेतिरको धनसम्पत्ति गरगहना मात्र होइन दुलही नै पनि खोसेर लान्थे रे ! यसै भएर जन्त जानु भनेको आवश्यक परे लड्न, भिड्न र जित्न जानु मानिन्थ्यो रे ! बडो तयारीसाथ जानुपथ्र्याे रे ! आज त्यस्तो छैन ।

बिहावारीको त्यो अवस्था आज चुनावतिर आइपुगेको छ । चुनावमा उम्मेदवारको पछि लाग्ने लावालस्करलाई जन्ती त भन्ने गरिएको छैन । तर पनि रपढप भने यसको पनि झन्डै पुराकालीन जन्तीको जस्तै–जस्तै छ । हाम्रा शेरबहादुर गठबन्धन र तिम्रा ओली गठबन्धनको जुलुस शहरका साँघुरा गल्लीमा भेटिए भने जन्तीका पुराकालीन संस्कृति दोहोरिन के बेर ?’‘त्यस्तो छैन दाइ, चुनावप्रति मान्छेको चासै छैन । जोश, जाँगर, हौसला केही छैन । पटक्कै छैन । हरेकलाई पैसाले चलाउनुपर्छ । मान्छे आपैmँ चल्दै चल्दैन । यत्रो खर्च गरिया छ ।

प्रचार अभियान चलाउन खोजिया छ । जनतामा कुनै रङ्गरउस छैन । नेता भेट्दा नाक थुन्लान्जस्तो गर्छन् । अनि कसका लागि कसले झगडा गर्ने ? जन्ती भेटिए भने आ–आफ्नो बाटो लाग्छन् । झगडा गर्दैनन् । यसपाला जनताले भोटै हाले पनि पाटी खोजेर हैन व्यक्ति रोजेर हाल्छन् । हामीले लाटा ठानेका जनता अब लाटा छैनन् ।’‘हँ, हो र भाइ ? यसपाला म त्यति बाहिर निस्क्या छैन । घरदैलोमा पनि हिँड्या छैन । त्यसो भए मेरो सोच त रातारात बासी भइसकेछ ?’

गफ गर्न आउनुभएका साथी मैत्रेयजीले सुनाउनुभएको कतै कसैको संवादको प्रसङ्ग थियो यो । मैत्रेयजी थप कुरा झिक्दै हुनुहुन्थ्यो, गल्लीको पल्लो छेउतिर गीतको रन्को रन्कियो । ल आयो जन्ती भन्दै हामी उठ्यौँ र रमाइलो हेर्न बाहिर निस्कियौँ ।
गल्लीको मोड कटेपछि तामझामको वातावरण भेटियो । गल्लीको दुईतिर कार्यकर्ताहरु अर्थात् दिलदास, दिलदासीहरु पङ्क्तिबद्ध उभिएका थिए । सबैका हातमा पूmलमाला थिए । अलि पर मोटरमा गीतहरु गुञ्जिरहेका थिए । उभिएकाहरु आ–आफ्ना पार्टीका मालिक उम्मेदवारहरुको तीव्र प्रतीक्षामा थिए ।

विहङ्गम हेराइमा हेर्दा साहु–साहुनीहरुको सवारी हुने लगन आई नै पुगेको आभास पाइन्थ्यो । आतुर दिलदासहरुका मुखमण्डलहरुको भाव अध्ययन–मनन गर्दै हामी अगाडि बढ्यौँ । पर होटलअगाडि अर्को भव्य भीड थियो । होटलभित्र नअटाएर पालो कुरिरहेका भोका–प्यासा बिचराहरुको टिठ लाग्दो भीड । कति बटुवाले त ‘खाद्यातुर हुँडारहरुको अवस्था सम्झाउने भीड’ भनेको पनि सुनियो । कतिले ‘देख्दै हाँसूँ–हाँसूँ लाग्दो’ भनेको सुनियो । तर पनि शिष्टतावश हामी रोएनौँ, हाँसेनौँ । चुपचाप अगाढि बढ्यौँ ।

पर सडकपेटीमा एकजना खाइलाग्दा साहुजी अर्का एकजना सर्वसाधारण देखिने मानिसलाई डटेर ¥याख¥याख्ती पार्न खोजिरहेका थिए ।
‘हिजो तिम्रो टोलको घरदैलोमा तिमी माला लिएर किन आएन ? ढोकामा घडा किन थापेन ? भोट माग्न किन लागिपरेन ?’
‘तपाईं कसले उठ भनेर उठेको ?’
‘म पार्टीबाट उठेको । पार्टीबाट उठ्ने हो नि, कसैले उठ् भन्नुपर्ने हो र ?’
‘पार्टीबाट उठेको भए पार्टीले नै माला लाउने,, घडा थाप्ने हैन र ?’
‘तिमीले के भन्न खोजेको ?’
‘नरिसाउनुस् न साहुजी, मैले के भन्न खोजेको भने, यत्रो चुनाव उठ्ने विचार गरेपछि एकपटक हामीसित पनि सल्लाह गर्नुभएको भए खुशी लाग्थ्यो भन्न खोजेको मात्र हो ।’
‘चुनावमा उठ्न सल्लाह लिनुपर्ने तिमी को ?’
‘म जनता । म भनेको हामी पनि हो । टोलछिमेकका हामी जनता ।’
‘चुनावमा उठ्न तिमीजस्ता जैरे जनतासित सल्लाह लिनुपर्ने किन ? यो त पार्टीको कुरा हो । राजनीतिको कुरा हो । हामी नेता हौँ । हमीले हामीभन्दा माथिका नेतासित सल्लाह लिने हो । तिमीजस्ता ऐरेगैरेसित सल्लाह लिने हैन । बुझ्यौ ?’

‘त्यसो भए भोट माग्न पनि नेताकोमा जाने । हामीकहाँ किन आउने ? हामीकहाँ भोट माग्न आउनुपर्ने भएपछि हामीकहाँ सल्लाह लिन पनि आउनुपथ्र्यो, हैन र ? हुन त मेरो कुराले साहुजीको कन्सिरी तात्ला । मैले त आपूmलाई लागेका कुरा जस्ताको तस्तै भनेको हुँ । जनताले भोट दिनुपर्ने भएपछि जनताले मौकैमा सल्लाह दिन पनि पाउनुपर्ने हो । तपाईं उठ्नुस्, हामी मद्दत गर्छौं भन्न पनि पाउनुपर्ने हो ।

चित्त नबुझेका मान्छेलाई तपाईं नउठ्नुस्, तपाईंलाई जनताले मन पराएका छैनौँ भन्न पनि पाउनुपर्ने हो । अझ भनौँ भने भोट दिएर जिताएकालाई पनि भनेजस्तो राम्रोे काम गरेन भने तपाईं फर्कनुस्, हामी अर्कै राम्रो प्रतिनिधि छानेर पठाउँछौँ भनेर फर्काउन पनि पाउनुपर्ने हो । त्यति पनि नभए केको लोकतन्त्र ? चुनाव नै पनि किन ? पार्टीका ठूला साहुजीहरुले आ–आफ्ना मान्छे भर्ना गरे भइहाल्यो नि ! हैन र ? कि कसो ?’
‘मसँग तिमीले के खोज्या ! भन त ? निहुँ खोज्या हो ?’

यसै बीच एकाएक अर्का एकजना साहुजी आइपुग्छन् र भन्छन्, ‘यो बहुलाहा हो । यससित के कुरा गरिराख्या कामरेड, जाऊँ आगाडि जाऊँ ।’‘लोकतन्त्र भन्या छ । लोकतन्त्रमा माग्न पाइन्छ भने माग्नेलाई दिन मन नलाग्दा दिन्न भन्न पनि पाउनुपर्छ । त्यति पनि पाइँदैन भने यो लोकतन्त्र के लोकतन्त्र ?’ जनसाधारणले कुरा थप्छ ।‘यो मान्छे कुरा निकै दोचार्ने भएछ, कसको दानापानी खाएछ यसले ? अनि यसको पहाड घर कहाँ रहेछ ?’‘यो पहिले मास्टर थियो रे ! अहिले भाडामा बस्छ । मालपोततिर लेखापढी गर्छ क्यारे ! यो पढेगुनेको मूर्ख हो । एक किसिमको बहुलाहा नै हो यो ’।

‘हो म बहुलाहा नै हुँ । झर्ला र खाऊँला भनेर साँढेका पछि लाग्ने स्याल म हैन । मान्छे हुनुपर्ने मुलुकमा यस्ता स्यालहरु भएपछि कसरी आउँछ परिवर्तन ? कसरी आउँछ जनताको लोकतन्त्र ? आज पनि कवि गोपालप्रसाद रिमाल भइदिएको भए आमा, त्यो त यसपटक पनि आएन भनेर कविता लेख्दा हुन् ।

हो, आएन । त्यो अभैm आएकै छैन ।’ जनसाधारण एक्लै बर्बराइरहन्छ ।मैत्रेयजी भन्नुहुन्छ, ‘समाजमा ज्यूँदा मान्छे सकिएका छैनन्, देख्नुभो ? अरुले नसुने पनि ज्यूँदा मान्छेलाई हामी सुनिराछौँ ।’साहुजीहरु आफ्नो गतिमा छन् । बाटोमा एकजना भेटिन्छ । भन्छ, ‘ए नेताजी जय नेपाल, जय नेपाल, जय नेपाल !’

‘तपाईं ? लालसलाम लालसलाम लालसलाम ! साथीहरुले गठबन्धनचोकमा जम्मा हुने र त्यतैबाट जुलुस बनेर घरदैलोमा लाग्ने भन्नुभाछ । जाऔँ । त्यतै जाऔँ । एमसीसी दाइ पनि त्यहीँ आउनुहुन्छ । अहिले उहाँ अर्को गठबन्धनको पार्टी कार्यालयभित्र उच्चस्तरीय वार्तामा हुनुहुन्छ । वार्तापछि उहाँ पनि त्यतै आउनुहुन्छ ।’

संवाद सुनेर हामी बिस्तारै अर्को गल्लीतिर लाग्यौँ । त्यहाँ मन्दिरपेटीमा दुईजना वृद्ध व्यक्तित्वहरु कुरा गर्दै हुनुहुन्थ्यो । हामीले नजिकै उभिएर सुन्यौँ ।‘पार्टीलाई मान्ने भनेको सिद्धान्तलाई मान्ने हो । सिद्धान्त नभएका भागशान्ति जय नेपालवाला पार्टी के पार्टी ? ती त हाम्रा जमानाका भजनपाटी जत्तिका पनि छैनन् । पार्टीहरु पार्टीजस्ता नभएपछि व्यक्ति हेरेर भोट दिने हो । उठेकामध्ये जो अलि मानवीय छ, देश र जनतालाई माया गर्लाजस्तो छ त्यस्तालाई भोट दिने । त्यस्तो एउटै पनि छैन भने कसैलाई नदिने ।’

‘हामीले भोट नदिए पनि कसैले त जित्छ ।’
‘जित्छ । तर त्यो जीतमा नैतिक बल हुँदैन । हैन त बाबु ?’ वृद्ध महोदयले हामीतिर हेरेर भन्नुभयो, ‘तपाईं ओली गठबन्धन भन्नुस् अथवा देउवा गठबन्धन भन्नुस्, सबै गठबन्धनहरु भागशान्ति जय नेपाल हुन् । हामी जनताका लागि हात्ती आयो हात्ती आयो फुस्सा ! जेठा साहु, माहिला साहु, कान्छा साहु, जुन साहु पनि आखिर मिटरब्याजी नै हुन् । हैन त ?’

प्रतिक्रिया दिनुहोस्