चौंरीको घिउ र बाच्छा बिक्रीको प्रतिबद्धता खोज्दै लप्चीवासी

0
Shares

दोलखा । 

दोलखाको विगु गाउँपालिका–१ लप्ची चीनको तिब्बतसँग सीमा जोडिएको गाउँ हो । देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना रहेको लामाबगरबाट दुई दिनको पैदलयात्रामा लप्ची पुगिन्छ । कुनै पनि निर्वाचनमा मत माग्न उम्मेदवार नपुग्ने यो गाउँका बासिन्दा तिब्बतको फलाकमा चौंरीको घिउ र बाच्छा बिक्री गर्ने प्रबन्ध मिलाउन उम्मेदवारहरूको प्रतिबद्धता खोजिरहेका छन् ।

कोरोना महामारीपछि तिब्बतको फलाक नाका बन्द भएर तीन वर्षदेखि व्यवसाय चौपट बनेको बताउने स्थानीय ६० वर्षीय फुजुङ शेर्पा फलाकमा चौंरीको घिउ र बाच्छा बिक्रीका लागि सहयोग गर्ने उम्मेदवारलाई मत दिने बताउनुहुन्छ । ‘लप्चीसम्म उम्मेदवार नै आउँदैनन् अनि हामी सीमाका बासिन्दाको पीडा जनप्रतिनिधिले कसरी बुझ्नु’ –फुजुङले भन्नुभयो ।

स्थानीय ८३ वर्षीय लमु दावा शेर्पालाई पनि निर्वाचनको बेला मत माग्न गाउँमा उम्मेदवार आएको अहिलेसम्म याद छैन । ‘यातायातको समस्याले हामी बिरामी पर्दा उपचार गर्न सहज ढंगले स्वास्थ्य चौकीसम्म पनि जान सक्दैनौं, न टेलिफोनकै सुविधा छ’, लमु दावा शेर्पाले भन्नुभयो– ‘हाम्रो समस्या बुझ्न एकपटक पनि गाउँ नआउने उम्मेदवारलाई कसरी मत दिनु ।’ कोही बिरामी पर्दा टेलिफोन गर्नकै लागि मात्र पनि भीरको बाटो छिचोलेर एक दिन हिँडेर जानुपर्ने बाध्यता रहेको लमु दावा बताउनुहुन्छ । ‘कोही बिरामी पर्दा आर्थिक अवस्था राम्रो हुनेले त हेलिकोप्टर मगाएर लान्छन्, आर्थिक समस्या हुने त गाउँमै थलिनुको विकल्प छैन’ –लमु दावाले भन्नुभयो ।

निर्वाचनको बेला गाउँमा आएर स्थानीय समस्या सुन्ने र समाधानका लागि पहल गर्ने दल र उम्मेदवारको प्रतीक्षामा लप्चीवासी रहेको अर्का स्थानीय नातार शेर्पा बताउनुहुन्छ । निर्वाचनको बेला मत माग्न गाउँमा नआए पनि तिब्बतको फलाकसम्म चौंरीको घिउ र बाच्छा बिक्रीमा सहयोग गर्ने र सडक तथा टेलिफोनको पहुँच विस्तार गर्न सरकारसँग वार्ता गर्न सक्ने उम्मेदवारको खोजी लप्चीवासीले गरिरहेको नातार बताउनुहुनछ ।

विगु गाउँपालिका–१ लप्चीमा ४६ घरधुरी रहेको छ । १ सय ५० जनसंख्या रहेको लप्चीमा ६१ जना मतदाता रहेका छन् । नेपाली नागरिक भएर पनि देशविहीन बन्नुपरेको बताउने स्थानीय डोमा शेर्पा गाउँमा विद्यालयसमेत नभएकाले बालबालिकालाई अध्ययनकै लागि काठमाडौं लानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

लप्चीवासीलाई चांैरीको घिउ र बाच्छा बेच्ने आफ्नै वडाको लामाबगरसम्म ल्याउन पनि कठिन छ । नजिकको बजार चीन तिब्बतको फलाक नाका तीन वर्षदेखि बन्द भएपछि आर्थिक समस्याको कारण खानसमेत समस्या भएको स्थानीयको गुनासो छ ।

‘सरकारले पठाएको खाद्यान्न सकियो, व्यवसाय बन्द भए पनि आर्थिक समस्या त्यत्तिकै छ, यस्तो बेलामा मतदान गर्न समेत मेसो पाउँदैनौं’ –स्थानीय डोमा शेर्पा भन्नुहुन्छ । ‘कमसेकम चुनावको बेला दलका नेता र उम्मेदवारहरू गाउँमा आएर यहाँको समस्या समाधानमा पहल गरिदिए हुने नि !’ –स्थानीय आङदावा शेर्पाले भन्नुभयो ।