इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

0
Shares

काठमाडौं । 

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेशनम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् ।

उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार युवराज गौतम बताउनुभयो । उहाँको अनुसार स्थानीय तहको मतको आधार, अघिल्लो निर्वाचनको अवस्था र उम्मेदवारको लोकप्रियताको अवस्थालाई विश्लेषण गर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार धेरै क्षेत्रमा अगाडि छन् । चुनावी रणनीति र प्रचार शैलीले मात्रै मतदाताको मन फर्कन्छ भनेर ढुक्क हुने अवस्था नदेखिएकाले एमालेलाई अधिकांश क्षेत्रमा चुनाव जित्न हम्मे पर्ने देखिएको एमालेकै कतिपय नेताहरूले पनि स्वीकारेका छन् ।

प्रदेशनम्बर १ मा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, खोटाङ, सोलु, ओखलढुंगा र उदयपुर गरी १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्र छन् । यीमध्ये चार जिल्लाका १७ निर्वाचन क्षेत्रको अवस्था हेर्दा इलाम–१ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललार्ई एमालेका महेश बस्नेतले कडा टक्कर दिने अवस्था छ । यस क्षेत्रमा गठबन्धनमा सहभागी दलहरूको मत बढी भए पनि गत स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समिति बनाउँदा खनालले एमालेसँग मिलेर कांग्रेसलाई बाहिर राखेको पीडा कांग्रेस कार्यकर्ताहरूमा छ । यद्यपि, गठबन्धनको पक्षमा एमालेको भन्दा १० हजार बढी मत भएकोले जित्न सक्ने अवस्था पनि रहेको स्थानीय मतदाता समेत रहेका गौतमले बताउनुभयो ।

एमालेका सुवास नेम्वाङले निरन्तर जित्दै आएको इलाम–२ मा यसपटक गठबन्धन दलहरूको मत एक हुँदा जित सहज देखिँदैन । पूर्व सभामुख नेम्वाङलाई गठबन्धनको तर्फबाट कांग्रेसका नेता डम्बर खड्काले चुनौती दिनुभएको छ । एमालेको पकड रहेको यो क्षेत्रमा ठूला दलहरूको गठबन्धन र एमालेको फुटले नेम्वाङलाई अप्ठ्यारो पर्ने अवस्था छ । स्थानीय तहको गठबन्धनको मतभार हेर्दा खड्काको पक्षमा चार हजार पाँच सय मत बढी देखिन्छ ।

कम्युनिस्टले नै जित्दै आएको झापा–१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लोपटक चुनाव जितेको माओवादी केन्द्रको समेत सहयोग पाएपछि जित्ने ढुक्क हुनुभएका शर्मालाई स्थानीयले नयाँ अनुहार, लोकप्रिय र शालीन व्यक्तिका रूपमा हेरेका छन् । यिनै कारणले उहाँलाई जित निकाल्न सहज देखिएको स्थानीय सर्वेन्द्र निरौलाले बताउनुभयो । त्यस्तै झापा–२ गठबन्धनबाट कांग्रेसका हरि राना र एमालेका देवराज घिमिरेबीच प्रतिस्पर्धा देखिन्छ । त्यहाँ एमालेको घिमिरेलाई राप्रपाको समेत सहयोग रहने भएकाले जित एमालेको पोल्टामा पर्नसक्ने निरौलाको बुझाइ छ ।

उता झापा–३ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नेता कृष्ण सिटौला र एमालेसहितको गठबन्धनका तर्फबाट राप्रपाका राजेन्द्र लिङदेनबीच कडा प्रतिष्पर्धा देखिन्छ । एमालेको समर्थन पाएका लिङ्देन चुनाव जित्नेमा ढुक्कजस्तै हुनुहुन्छ भने कांग्रेसका सिटौलाले योपटक पनि असहज महसुस गर्नुभएको अवस्था छ ।

झापा–४ मा कांग्रेसका देउमान थेवे र एमालेका एलपी साँवाबीच प्रतिष्पर्धा छ । यता झापा–५ मा भने एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा पल्ला भारी हुने देखिएको छ । ओलीसँग कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मोरङ–१ मा कांग्रेसका डिकबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडाबीच प्रतिस्पर्धा छ । गठबन्धन दलहरूले सहयोग गर्ने भएपछि लिम्बूको माहोल राम्रो देखिएको स्थानीयहरू बताउँछन् ।
मोरङ–२ मा गठबन्धनको तर्फबाट कांग्रेसका नेता सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच तीव्र प्रतिस्पर्धा छ । मोरङ–३ मा गठबन्धनका तर्फबाट कांग्रेसका सुनील शर्मा, एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापाबीच मुख्य प्रतिष्पर्धा छ ।

सुनीललाई गठबन्धनको साथ र नयाँ अनुहार भएकाले चुनाव जित्न सहज भएको बताइएको छ । यसो त नयाँ अनुहारका रूपमा देखापरेकी रेखा थापाको सम्भावना पनि छ । यसअघि माओवादीले जितेका मोरङ–४ मा गठबन्धनका तर्फबाट माओवादीका अनमलाल मोदी र एमालेका विनोद ढकालबीच मुख्य प्रतिष्पर्धा छ । यसपटक गठबन्धनको साथ पाएकाले माओवादीका अमनलाललाई नै जित निकाल्न सहज हुने देखिएको छ । मोरङ–५ मा माओवादीका उम्मेदवार शिवकुमार मण्डलको अवस्था राम्रो रहेको पाइएको छ । माओवादीबाट एमालेमा प्रवेश गरेर टिकट पाएका एमालेका उम्मेदवार राजकुमार यादवलाई एमाले समर्थकहरूकै सहयोग हुनेमा नेताहरू ढुक्क छैनन् । मण्डललाई भने कांग्रेससहितको गठबन्नधको पूर्ण साथ रहेको छ । मोरङ–६ मा कांग्रेसका नेता डा. शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डितबीच भिडन्त हुँदै छ ।

पण्डित अघिल्लो पटक माओवादीको सहयोगमा कोइराललाई हराएर सांसद र मन्त्री भइसक्नुभएको छ । तर, यसपटक माओवादीसहितको गठबन्धनको सहयोग कोइरालालाई हुने भएपछि कोइरालाको पक्षमा पल्ला भारी हुने देखिएको छ । एकीकृत समाजवादीका कारण पनि एमालेको मत घटेको अवस्था छ ।सुनसरी–१ मा गठबन्धनको तर्फबाट माओवादीका मुक्साङहाङ मेयाङगो, एमाले जसपा गठबन्धनका तर्र्फबाट जसपाका नेता अशोक राई र स्वतन्त्र उम्मेदवार मनोज मेयाङगोबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । स्वतन्त्र उम्मेदवारका कारण मुक्साङहाङलाई चुनाव जित्न सहज हुने स्थानीयको अनुमान छ ।

पूर्व एमाले अशोक राई जसपाबाट एमालेकै समर्थनमा उठेकाले एमालेको एउटा समूहले राईलाई सहयोग गर्ने देखिएपछि मुक्साङहाङ र मनोजबीच कडा प्रतिष्पर्धा हुन सक्ने स्थानीय नेताहरूको भनाइ छ । सुनसरी–२ मा कांग्रेसका सिताराम मेहेता र एमालेका भीम आचार्यबीच प्रमुख प्रतिष्पर्धा हुनेछ । मेहेतालाई गठबन्धनको सहयोग छ भने आचार्यलाई एमालेकै एक समूहबाट सहयोग नहुने अवस्था देखिन्छ । सुनसरी–३ मा कांग्रेसका विजय कुमार गच्छदार र एमालेका भगवती चौधरीबीच कडा प्रतिष्पर्धा हुँदैछ ।

गच्छेदारलाई गठबन्धनको सहयोग रहे पनि अदालतमा रहेको उहाँको विचाराधीन मुद्दालाई एमालेले राम्रैसँग उचालेका कारण यसै भन्न सक्ने अवस्था भने छैन । सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस ज्ञानेन्द्रबहादुर कार्की र जगदीश कुसायतबीच मुख्य प्रतिष्पर्धा छ । अघिल्लोपटक एमाले–माओवादी गठबन्धन हुँदासमेत जित हात पारेका कार्कीलाई यसपटक गठबन्धनको समेत भर छ ।

इलाम, झापा, मोरङ र सुनसरीका १७ निर्वाचन क्षेत्रको चुनावअघिको अवस्था हेर्दा गठबन्धनको सिट बढी आउने आँकलन गरिएको छ । झापामा एमाले सबैभन्दा बलियो देखिएको छ भने मोरङ र सुनसरीमा एमालेको अवस्था कमजोर देखिन्छ । इलामका दुईटै निर्वाचन क्षेत्रमा तीव्र प्रतिष्पर्धा देखिएको छ । अहिलेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीको अवस्था मात्रै सुरक्षित देखिन्छ । यद्यपि, चुनाव सहजै जित्छ भनेर ढुक्क भएका गठबन्धनका उम्मेदवारहरूको फितलो चुनावी रणनीति र प्रचारशैली र आक्रमक ढंगले अघि बढेको एमालेको चुनावी रणनीति र प्रचार शैलीले चुनावको माहोल परिवर्तन हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।