आश्वासनले पेट नभरिएको ब्रुसबाङ गाउँको पीडा

0
Shares

धादिङ।

चेपाङ समुदायले दुख पाए, पानी खान पाएनन्, भोकै छन् वा सिस्नो खोले खाएर जीवन धानीरहेका छन् भन्ने समाचार लेख्दा धादिङका नेताहरू पत्रकारहरुमाथि खनिन्थे । मैले लेखेको समाचारमाथि पटक पटक हालका मुख्यमन्त्री तथा ३६ वर्षदेखि चुनाव लड्दै आएका राजेन्द्र प्रसाद पाण्डे विज्ञप्ति नै निकालेर खण्डन गर्थे । चेपाङ समुदायका लागि आफू पदमा पुगेपछि धेरै काम भएको बताउँथे आफ्नो विपक्षमा लाग्नेहरुलाई धम्की दिने गर्थे ।

२० वर्ष अघि समाचार लेख्न ब्रुसबाङपुग्दा चरम गरिबिको सिकार भएका चेपाङ समुदायको पीडा सुनाउँदा धेरैका आँसु रसाएका थिए । ब्रुसबाङ दक्षिणी धादिङको मानिस बसोबास भएको सबैभन्दा उच्च भागको रुपमा चिनिन्छ ।

त्यतिखेर राजनीतिमा चम्किएर गाउँतिर जान छाडी सकेका नेता थिए पाण्डे । धादिङ हामीले बनाएका हौँ भनेर भाषण गरेको धेरै सुनियो । ती चेपाङहरु नेताका भाषणमा ताली बजाए । कार्यक्रम सकिएपछि ती चेपाङका मागको लामो लिस्ट हुन्थ्यो। “पेटभरी खाने व्यवस्था गर्नु पर्‍यो, खानेपानी छैन, विद्यालय जानका लागि लुगा छैन । विद्यालयमा पढ्नका लागि खर्च लाग्छ । पैसा छैन ।”

हरेक पटकका चुनावमा उम्मेदवारहरु ब्रुसबाङ पुग्नै सक्दैनन् । अलि तल भञ्ज्याङमा चेपाङहरुलाई बोलाउने र आफ्नो कुरा सुनाएर आफूलाई भोट दिएपछि अर्को  वर्ष चेपाङहरु धनी पार्ने कार्यक्रम ल्याउने कुरा सुनाउने गरेका थिए।

समयले कोल्टे फेर्‍यो । देशमा गणतन्त्र आयो । नयाँ संविधान सभाले संविधान बनायो। आमूल परिवर्तन भयो भनिएको चेपाङले भने अहिले पनि त्यस्तै समस्या भोगिरहेको सन्तबहादुर चेपाङको भनाइ छ।

गाउँमा विकास गर्छु भन्नेहरु चुनाव सकिएपछि गाउँ क्षेत्रमा पुग्दैनन् । चुनावको समयमा दिइएको फोन नम्बर चुनाव सकिएपछि लाग्दै नलाग्ने बनाइएकोले फोन समेत गर्न नसकेको गाउँवासीको गुनासो छ।

२०४८ मा  जे समस्या थियो अहिले पनि उस्तै छ। ब्रुसबाङका बस्तुले पनि पालो गरेर दुई तीन दिनमा मात्र पानी खान पाउँछन् । १२ वर्ष पहिले गाउँमा पानी ल्याउनका लागि जिल्ला विकास समितिले गरेको सर्वे अनुसार ४५ लाख रुपियाँ लाग्छ तर १५ लाख रुपियाँ भन्दा बढी रकम गाउँमा अनुदान नआएकोले पानी लिफ्ट गर्न सकिएन । गाउँबाट तिन घण्टा तल कुवामा पुगेर मात्र तिर्खा मेटिने गरि पानी खान पाइने अवस्थामा अहिले पनि सुधार नभएपछि गाउँबासी भोट दिनका लागि जाने चाहना नै मरिसकेको सोमबहादुर चेपाङको भनाइ छ ।

चेपाङ समुदायको मात्र ३३ घर रहेको ब्रुसबाङमा प्रयास नेपाल, फोकस नेपाल, शान्ति नेपाल लगायतका संघसस्थाले करोडौँ खर्च गरिसकेको बताएका छन् ।तत्कालीन जिविस र चेपाङसंघले पनि चेपाङको ठुलो रकम खर्च गरेको बताउँदै आएको छ तर ब्रुसबाङबासीले कहिल्यै पनि आफ्नो लागि काम भएको देख्न पाएका छैनन् ।

हरेक चुनावमा आउने आश्वासनको पोको सुनेर सपनामा विकास देखेका तर बिपनामा आधा पेट खाएर, वा भोकै अभावमा बाच्नु परेको पीडा कहिल्यै समाधान भएको छैन ।

यस वर्ष पनि पुराना नेता भोट माग्न गाउँ आए “गाउँको विकास हामी गर्छौँ भोट दिनु पर्छ ।” भोट माँगेर केही चेपाङसंग फोटो पनि खिचाए । यसअघिका बाचा पूरा नभएको गुनासोका बारेमा नेताहरुले एक शब्द पनि बोल्न सकेनन् ।

पटक पटक बस्ती सार्नेर उनीहरूलाई जग्गा समेत दिने भनेर राजेन्द्र पाण्डे मन्त्री भएको बखत प्रतिबद्धता समेत गरे । पहिलो पटक जिल्ला समन्वय समिति प्रमुख हुनुभएका जगन्नाथ नेपालले आफैँ ब्रुसबाङ पुगेर स्थानीय सरकार, समेतको सहभागितामा बस्ती सार्नका लागि आफूले पहल गर्ने बताउनुभएको थियो । अधिकार विहीन जिल्ला समन्वय समितिमा तत्कालीन जिविसबाट बाँकी हुन आएको रकमबाट बस्ती सार्नका लागि जग्गा खरिद समेत गरिएको थियो। यस्तो काममा अरुले जस लिने डरले राजनीतिको मुख्य भूमिकामा रहेका राजेन्द्र पाण्डे गाउँ नजिकै पुगेर २०७३ आफूले बस्ती सार्न सघाउने बताउनुभएको थियो ।

राजेन्द्र पाण्डेलाई गाउँवासीले पटक पटक ज्ञापन पत्र समेत बुझाए तर अहिलेसम्म भोकमरीको चपेटामा परेको बु्सबाङ जस्ताको तस्तै छ । पुराना समस्या अहिले पनि समाधान भएको छैन । जीवन जीविकाको सवाल चुनावको बेला आश्वासनको रुपमा मात्र  आउने र चुनाव सकिएपछि हराउने गरेको सोम चेपाङले बताउनुभयो ।

बस्ती स्थानान्तरण नहुँदा जीविकोपार्जन र शिक्षा आर्जनमा समस्या भएको पत्रकार उद्धव चेपाङको भनाइ छ।

दक्षिणी धादिङको बेनिघाटरोराङ र गजुरी गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदाय हरेक वर्षको चुनावको बेला पाउने गरेपछि अहिलेसम्म ठोस योजना र विकास नहुँदा अवस्थामा परिवर्तन भएको छैन ।