अहिलेसम्मकै महँगो कतार विश्वकपको नालीबेली

0
Shares

काठमाडौं ।

यसपटक मङ्सिर ४ गते नेपालमा राजनितिक र खेलकुदको दृष्टिकोणले विशेष दिन बन्नेछ । एकातिर नेपालमा संसदीय निर्वाचन हुनेछ भने अर्कोतिर कतारमा २२औं संस्करणको फिफा विश्वकपको उद्घघाटन । यी दुवै कारणले मङ्सिर महिना चुनावमय र फुटबलमय बन्ने निश्चित छ । प्रतियोगिता आगामी मंसिर ४ गतेदेखि पुस ३ गते सम्म हुनेछ । जसमा उद्घघाटन खेल कतार र इक्वेडरबीच हुनेछ ।

विश्वकप आयोजना गर्ने कतार पहिलो मध्यपूर्वी देश बनेपनि एसियामा भने दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । कतार विश्वकपमा विजेताले ४२ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ४० मिलियन, तेस्रो र चौथो हुनेले क्रमशः २७ र २५ मिलियन डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको क्वार्टरफाईनल पुग्ने प्रत्येक आठ टोलीले १७ मिलियन, अन्तिम १६ मा पुग्ने प्रत्येक टिमले १३ मिलियन र समूह चरणका सबै ३२ टोलीले ९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् ।

कतार विश्वकप प्रतियोगिताको तयारीका लागि आयोजक देशले खर्च गर्ने रकम प्रतियोगिताको अर्को रोचक पक्ष बनेको छ  । यो अहिलेसम्मकै सबैभन्दा महँगो विश्वकपका रुपमा चर्चित भएको छ । कतार विश्वकपमा लागि छुट्याइएको बजेटको आकार अहिलेसम्म आयोजना भएका सम्पूर्ण विश्वकपको खर्च एकसाथ जोड्दा पनि कम पर्ने एउटा तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रीय मिडियाको एक रिपोर्ट अनुसार कतारले २०२२ विश्वकपका लागि विगत १० वर्षदेखि हरेक साता ५ सय मिलियन डलर खर्च गर्दै आइरहेको छ । विश्वकपका लागि कतारले अहिलेसम्म २ सय ३० बिलियन डलर खर्च गरिसक्यो । जुन नेपाली रुपैयाँ ३१ हजार अर्बभन्दा बढी हुन आउँछ ।

यदि अहिलेको समयमा संसारकै धनाढ्य ब्यक्ति एलन मस्कले आफ्नो स्वामित्वमा रहेको टेस्ला र स्पेस एक्सको सम्पूर्ण शेयर एकैसाथ बेचेपनि अहिले कतार विश्वकपमा गरिएको खर्चसंग बराबरी हुँदैन । यसअघि सन् २०१८ मा रसियामा भएको विश्वकप खर्च ११.६ बिलियन भएको थियो । जुन कतारमा हुन लागेको विश्वकपको भन्दा धेरै गुणा कम हो । त्यसअघि ब्राजिलमा भएको विश्वकपको खर्च १५ बिलियन, २०१० मा दक्षिण अफ्रिकामा ३.६ बिलियन, २००६ मा जर्मनीमा ४.३ बिलियन, २००२ मा जापान र दक्षिण कोरियामा ७ बिलियन, १९९८ मा फ्रान्समा भएको विश्वकपमा २.३ बिलियन अमेरिकी डलर खर्च भएको थियो ।

सन् २०१० मा विश्वकप आयोजनाको जिम्मा पाएको कतारले दिनरात एक गरी आठ वटा रंगशाला मात्र होइन, एउटा सिंगो सहरको स्वरुपलाई नै आधुनिकरण गरेको छ । यसका साथै फुटबल समर्थकहरुलाई रंगशालासम्म पुग्नका लागि दोहा मेट्रोको नामबाट -यापीड ट्रान्जिट सिस्टम, बसोबासका लागि सुविधा सम्पन्न अपार्टमेन्ट्स, भिल्ला, क्रुज सिप होटल र फ्यान भिलेज पनि निर्माण गरिएका छन् ।

क्षेत्रफलको आधारमा चीनको राजधानी बेइजिंगभन्दा पनि सानो र टर्कीको राजधानी इस्तानबुलभन्दा दुई गुणा ठूलो मध्यपूर्वको एउटा सानो देश हो कतार । यसको कुल क्षेत्रफल ११ हजार ५ सय ७१ स्क्वायर किलोमीटर छ । तर, भनिन्छ नि कसैको आकार हेरेर उसको सामथ्र्यको अनुमान लगाउनु हुन्न । कतार पनि सानो पक्कै छ तर, अन्य अरब राष्ट्रभन्दा धनी छ । यहाँको जीडीपी पर क्यापिटा इनकम अर्थात कुल ग्राहस्थ उत्पादन प्रति ब्यक्ति आय हेर्ने हो भने विश्वकै शीर्षस्थानमा पर्छ । अनुमान लगाउनुस यदि तपाई नेपालमा मासिक १ लाख ८० हजार नेपाली रुपैया कमाउनु हुन्छ भने त्यो सबैभन्दा कम आम्दानी गर्ने कÞतारी नागरिकको श्रेणीमा पर्नुहुन्छ ।

कतार एउटा यस्तो देश हो जहाँ गरीबीको दर शून्य प्रतिशतको आंकडामा रहेको छ । यहाँका हरेक नागरिकको वार्षिक औसत आम्दानी १ लाख २८ हजार अमेरिकी डलर बराबर रहेको तथ्याङ्कमा उल्लेख छ । जबकि अमेरिकी नागरिकको वार्षिक औसत आम्दानी ६० हजार डलर र संयुक्त अधिराज्यमा ४४ हजार डलर मात्र रहेको छ । कतार धनी हुनुको मुख्य कारण त्यहाँको ’कालो सुन’ अर्थात तेल र कम जनसख्या हो । त्यसैपनि अरब राष्ट्रहरु अत्याधुनिक भौतिक पूर्वाधार परियोजनाका लागि विश्वभर परिचित छ ।

साउदी अरेबियाको साउदी लाइन सिटीको होस वा कुवेतको सी सिटी अथवा दुबईमा रहेको पाम आइल्याण्ड र विश्वकै अग्लो संरचना बुर्ज खालिपÞmा नै किन नहोस, यी तमाम संरचनामा एउटा कुरा समान छन्, यी सबै विश्वलाई अचम्मित र आकर्षित पार्न बनाइएका हुन् । पर्यटकलाई आकर्षित गर्न र पश्चिमी मुलुकलाई अचम्मित पार्न कतार पनि कसरी पछाडी पर्न सक्छ र । विश्वकप कतारको लागि एक यस्तो ‘अल्लादीनको चिराग’ हो जुन बाँकी सबै अरब राष्ट्रमाथि हावी हुन सक्नेछ । विश्वकपको लागि कतारले आठ वटा विश्वस्तरका सौर्य उर्जाबाट स्वचालित हुने रंगशाला निर्माण गरेको छ ।

ती रंगशालाहरु यसरी निर्माण गरेको छ की राजधानी दोहाबाट आठ वटै रंगशाला औसतमा ५५ किलोमीटरको दूरीभित्र पर्छ । कतारको प्रचण्ड गर्मीबाट बच्न सबै रंगशालालाई एयरकन्डीसन सिस्टमको आधारमा डिजाइन गरिएका छन् ।यत्रो लगानीका बावजूद पनि खेल आयोजना हुने रंगशालाको संख्या र यसको निर्माण गर्नेक्रममा ज्यान गुमाउने आप्रवासी कामदारहरुको संख्याका कारण कतार आलोचित बन्दै आएको छ ।

विश्वकप आयोजना गर्न कतारले केवल आठ अत्याधुनिक रंगशाला छुट्याएको छ, जुन खेल आयोजनाका लागि अपर्याप्त बताइन्छ । वास्तवमा प्रतियोगिता आयोजना गर्नका लागि छनोट गरिएका सबै आठ रंगशाला मध्ये एउटा मात्र पूर्ण रूपमा पुनर्निर्माण भएको छ । सन् १९७८ मा अर्जेन्टिनाले ६ वटा रंगशालामा फिफा विश्वकप आयोजना गरेको थियो । अहिले कतारले केवल आठवटा रंगशालामा प्रतियोगिता आयोजना गर्दैछ । त्यस्तै, रंगशालामा बनाउनेक्रममा दक्षिण एसियाली राष्ट्र नेपाललगायत भारत, बंगलादेश, पाकिस्तान तथा अफ्रिकी देशका ६ हजार पांच सयभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो ।

फिफा २०२२ को लागि आयोजक देश कतारमा दिउँसो उच्च तापक्रम हुने गर्छ । यो समस्यालाई सम्बोधन गर्न कतारले एयर कन्डिसनको विकल्प ल्याएको हो । कतारका सबै आठै स्थान पूर्ण रूपमा वातानुकूलित हुनेछन्, जसले खेलाडीलाई सन्तुलित प्रदर्शन गर्न सहयोग गर्नेछ । पहिलोपटक पूर्ण वातानुकूलित रंगशालामा फिफा विश्वकप आयोजना गर्न लागिएको हो । सबै रंगशालामा सोलार प्यानल फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । यद्यपी प्रतियोगिता जाडो मौसममा हुन लागेका कारण सहभागीहरुले मध्यपूर्वको चर्को गर्मीको सामना भने गर्नुपर्ने छैन ।

कतारले विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला सोही स्वरुपमा दीर्घकालसम्म रहने भने छैन । कतारी फुटबलको घरका रुपमा एउटा रंगशाला सुरक्षित हुनेछ । एउटा रंगशाला पूर्ण भत्काईनेछ भने बाँकी ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसका सामाग्री विकासशील देशलाई दिईनेछ । खेल अवलोकन गर्न आउने दर्शकको अनुमानित संख्या पनि कतार विश्वकपको अर्को महत्वपूर्ण र रोचक पाटो हो । एक अनुमानअनुसार कतार विश्वकप प्रतियोगितामा ठूलो संख्यामा दर्शक पुग्ने छन् । मध्यपूर्वको सुन्दर देश कतारको भौगोलिक अवस्थाले पनि अधिकांश देशका दर्शकलाई आकर्षित गरेको छ ।

कतार विश्वकपमा १० देखि १५ लाख दर्शक पुग्ने अनुमान गरिएको छ । विश्वकपमा विभिन्न मुलुकबाट १२ लाख फुटबल समर्थक कतार पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, टेलिभिजन लगायत अन्य सञ्चारमाध्यमबाट विश्वभर ५ बिलियन मान्छेले म्याच हेर्ने आंकलन गरिएको छ । गत रसिया विश्वकपमा टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमबाट विश्वभर ३.५ बिलियन मान्छेले विश्वकपका खेलहरु हेरेको तथ्यांकले देखाउंछ । कतारले विश्वकपमा आउने खेलाडीदेखि समर्थकहरूको सुरक्षा व्यवस्था अति कडा बनाउने योजना बनाइरहेको छ । कतार विश्वकपमा १३ राष्ट्रका सैनिकले सुरक्षा प्रदान गर्ने बताइएको छ ।

कतारले एक महिनासम्म खेलाडी, अधिकारी, समर्थकहरूको सुरक्षाका लागि १३ राष्ट्रसँग सम्झौता गरेको हो । जसअनुसार ३२ हजार सुरक्षाकर्मी र १७ हजार सिभिल ड्रेसका सैनिकले सुरक्षा प्रदान गर्नेछन् । टर्की र पाकिस्तानका सैनिकले आफ्नो कमान्ड सम्हालिसकेको जनाएको छ । टर्कीबाट भने सर्वाधिक तीन हजार सैनिक आउनेछन्  । टर्किस सैनिकले रंगशाला तथा होटेलको सुरक्षा जिम्मेवारी लिने छन् ।

जसमा ५० जना बम डिस्पोज गर्ने विशेषज्ञ पनि सामेल हुनेछन् । त्यस्तै, पाकिस्तानी सैनिकले विश्वकप अवधिमा रंगशालादेखि विशिष्ट पाहुना बस्ने होटेलमा सुरक्षा प्रदान गर्नेछन् । त्यस्तै विश्वकपमा हुन सक्ने दुर्घटनाबाट सुरक्षित बनाउन बेलायतले विशिष्ट सैनिक बल पठाउनेछ । ती बाहेक फ्रान्स, अमेरिका, मोरक्को र जोर्डनलगायतले सैनिक पठाउने जनाएको छ । धेरैजसो राष्ट्रले कतारलाई सैनिक सहयोग गरेका छन् भने केही राष्ट्रले तालिम, उपकरण र प्राविधिक सहयोग गरेका छन् ।

यस्तो छ विश्वकपका कुल ६४ म्याच खेलिने आठ रंगशाला

१. अल बेएट स्टेडियम

दोहाबाट ३५ किलोमीटरको दूरिमा रहेको अल खोर सिटिमा बनाइएको यो स्टेडियममा फिफा विश्वकपको उद्घाटन म्याच हुनेछ । यो रंगशाला लेबनानको कन्स्ट्रक्शन कम्पनीले निर्माण गरेको हो । जहाँ ६३ हजार दर्शकले फुटबल म्याच हेर्न सक्छन् । यो रंगशालाको डिजाइन कतारी संस्कृति अनुसार खाना पकाउन प्रयोग गरिने सामग्रीमा आधारित छ । रंगशालाको भित्ताहरु स्पेशल उभन टेन्ट फेब्रिक्सबाट बनाइएको छ । जसले भित्री र बाहिरी गरी दुवै भागलाई जाइन्ट लुक्स दिएको छ । त्यतिमात्र होईन, यो रंगशालाको विशालकाय छत एउटै बटनबाट खोल्न र बन्द गर्न सकिन्छ । यो स्टेडियमभित्र एउटा शपिंग सेन्टर र पाँचतारे होटल पनि निर्माण गरिएको छ । ती कोठाहरुबाट फुटबल खेलको मनोरञ्जन लिन सकिन्छ । अल बेएट स्टेडियममा विश्वकप कुल आठ म्याच खेलिनेछ ।

२. अल जनोउब स्टेडियम

लन्डन ओलम्पिक सेन्टर र बेइजिंग डेक्सिंग एयरपोर्टको डिजाइनका कारण वास्तुकार हदीद विश्वभर चर्चित छन् । उनै ब्रिटिश इराकी आर्टिटेक्ट जहा हादिदद्वारा डिजाइन गरिएको अल जनोउब स्टेडियम संसारकै सुन्दर ढाँचामा निर्माण गरिएको संरचना मध्यमा पर्दछ । सन् २०१६ मा हृदयघातका कारण ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । यस रंगशालाको प्रारम्भिक डिजाइन सार्वजनिक भएलगत्तै आलोचकहरुले यसको बाहिरी आकार महिलाको योनी जस्तो भएको बताएका थिए । वास्तवमा यस स्टेडियमलाई एउटा “सेलिंग बोट“ को आकारमा ढालिएको छ । रंगशाला भित्र म्याच हेर्ने ४० हजार दर्शकलाई एउटा ठूलो पानी जहाजमा बसेको महसूस हुनेछ । यो स्टेडियम दोहाबाट २२ किलोमीटर दूरीमा रहेको अलवाक्रा सिटीमा बनाइएको सबैभन्दा सुविधा सम्पन्न स्टेडियम हो । यसको खोल्न र बन्द गर्न मिल्ने छत र कम्प्लेक्स कुलिंग सिस्टमले हरेक प्रकारको सहजता प्रदान गर्दछ । यस रंगशालाभित्र स्विमिंग पुल, स्पा, शपिंग सेन्टर र वेडिंग हल पनि रहेका छन् । यो रंगशालामा फिफा विश्वकपका कुल सात वटा म्याच हुनेछ ।

३. अहमद बिन अली स्टेडियम

यो रंगशाला दोहाबाट मात्र १५ किलोमिटरको दूरीमा रहेको अल ¥यान सिटीमा अवस्थित छ । यसको नक्सा पेटर्न डिजाइन्सले कोरेका हुन् । यो स्टेडियमको विशेषता भनेको यसमा राखिएको मिडिया एलसीडी हो । जहाँ न्यूज कमर्शियल्स र स्कोर अपडेट गरिनेछ । यो रंगशाला कतारी संस्कृतिको प्रतिविम्व पनि हो । रंगशालाको मुख्यद्वार नै कतारको प्रतिनिधित्व गर्ने गरी जटिल कौशलको प्रयोग गरिएको छ । जसले देशको प्रारम्भिक इतिहासदेखि व्यापारीकरण समेत झल्काउँछ । यो रंगशाला मरुमूभिबाट निकै नजिक छ । त्यसैले रंगशालाको बाहिरी क्षेत्र र व्यापारिक स्टलहरु मरुभूमिकै शैलीको बनाइएको छ । यसको नाम सुरुमा अल रेयान राखिएपनि पछि परिवर्तन गरेर अहमद विन अली राखिएको हो । ४५ हजार दर्शक क्षमता रहेको यस रंगशालामा प्रिक्वाटरफाइनल सम्मका गरी कुल सात खेल हुनेछ ।

४.अल थूमामा स्टेडियम

४० हजार दर्शक अट्ने यो रंगशाला हमाद अन्तर्राष्ट्रीय बिमानस्थल नजिकै बनाइएको छ । यो रंगशाला संयुक्त रुपमा कतार र टर्कीका कन्स्ट्रक्शन कम्पनीले बनाएका हुन् । यो रंगशाला इस्लामिक प्रतिकको रुपमा प्रयोग हुने टोपी “तकियाह“ को आकारमा निर्माण गरिएको छ । यो रंगशाला ५० स्क्वायर मिटर क्षेत्रफल रहेको एउटा सार्वजनिक पार्कको बीचमा बनाइएको छ । जहाँ बिछ्याइएको विशेष घाँस स्वीजरल्याण्डबाट आयात गरिएका हुन । यो पहिलो विश्वकपस्थल हो जसलाई कतारी वास्तुकार इब्राहिम अल जैदाले डिजाइन गरेका हुन् । यो रंगशालाको पनि आधा सिट निकालेर विकासशील देशलाई दान दिइनेछ ।

५. जुकेसन सिटी स्टेडियम

दोहाबाट मात्र सात किलोमीटर दूरीमा रहेको एजुकेसन सिटीमा यो स्टेडियम निर्माण गरिएको छ । यसको डिजाइन हिराको आकारमा ढालिएको छ । त्यसैले यसलाई डाइमण्ड इन दी डेजर्ट भनेर पनि सम्बोधन गरिन्छ । यसलाई पेटर्न डिजाइन र बुरो ह्यापोल्ड फर्म्सले संयुक्त रुपमा तयार पारेका हुन् । यो रंगशालाको मुख्य विशेषता भनेकै सूर्यको किरणसँगै रंग परिवर्तन हुने प्रविधि हो । जसका कारण मरुभूमिमा यो कुनै हिराभन्दा कम देखिँदैन । यहाँ विश्वकपका आठ म्याच हुनेछ । यहाँ क्वाटरफाइनलसम्मका खेल हुनेछन् । यो रंगशालामा सन् २०२१ को फिफा क्लब विश्वकपअन्तर्गत बायर्न म्युनिख र टिग्रेसबीचको फाइनल खेल भएको थियो । विश्वकपपछि कतारको महिला टोलीले यसलाई घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ ।

६. खलिफा इन्टरनेसनल स्टेडियम

कतारको स्पोर्ट्स संस्कृतिको मुटुको धड्कनको रुपमा रहेको यो रंगशाला कतारका पूर्व अमीर खलिफा बिन हमाद अल थानीको नामबाट नामांकरण गरिएको हो । यो रंगशाला कतारको राष्ट्रिय रंगशाला हो । यसको निर्माण सन १९७६ मा नै गरिएको थियो । अहिले भने यसलाई विश्वकपका खेलका लागि ४० करोड डलरको लागतमा पुननिर्माण गरियो । ४५ हजार ४ सय १६ सिट क्षमता रहेको यो रंगशालामा पसलहरु तथा रेस्टूरेन्टहरु पनि छन् । यहाँ एसियन गेम्स, एएफसी एसियन कप र अरेबियन गल्फ कप पनि खेलिएको थियो । त्यस्तै, सन् २००९ मा यहाँ ब्राजिल र इंग्ल्याण्डबीच मैत्रीपूर्ण खेल भएको थियो । सन् २०१९ मा यही रंगशालामा लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको थियो । यहाँ आसन्न विश्वकपका आठ खेल हुनेछ ।

७. लूसेल आइकोनिक स्टेडियम

विश्वकपका लागि तयार पारिएको यो रंगशाला मध्यपूर्वकै सबैभन्दा ठूलो मानिएको छ । लुसेल रंगशाला विश्वकपको लागि सबैभन्दा आकर्षक रंगशाला हो । ३३ बिलियन पाउन्डमा निर्माण गरिएको यो रंगशालालाई शतप्रतिशत सौर्य उर्जा प्रणालीबाट वातानुकुलित गरिएको छ । स्वचालित छत रहेको यो रंगशालाको डिजाइन ब्रिटेनको आर्टिटेक्चर फर्मले निर्माण गरेका हून् । यो रंगशाला कतारको मौलिक भांडा ह्याण्ड क्राफ्ट बाउल अनुसार डिजाइन गरिएको हो । यसलाई प्रकाश र छायाको परस्पर क्रिया रहने फेनर ल्यान्ट्रन विधिमा डिजाइन गरिएको छ । जहाँ ८० हजार दर्शकले एकैसाथ फुटबलको मनोरञ्जन लिन सक्नेछ । रातको समयमा कृतिम प्रकाशले सुनौलो भांडा जस्तो देखिने यो रंगशालामा विश्वकपको फाइनल सहित कुल १० खेल हुनेछ । विश्वकपपछि यसको अधिकांश सिट विकासशील देशलाई प्रदान गरिनेछ ।

८. स्टेडियम ९७४

यो रंगशाला विश्वकै सबैभन्दा अनौठो र पहिलो स्थान्तरण गर्न सकिने रंगशाला हो । कतार पोर्ट नजिकै बनाइएको यो रंगशाला कतारको विश्वब्यापी बजारलाई ध्यानमा राखी निर्माण गरिएको हो । यो स्टेडियम बनाउन कुल ९७४ कन्टेनर प्रयोग गरीएका छन् । तर, यसको नाम ९७४ स्टेडियम नामांकरण गरिनु कारण कतारको फोन डाइलिंग कोड हो । यसमा प्रयोग गरिएका कन्टेनरको रंगले बिभिन्न अर्थ राख्दछ । नीलो कन्टेनरले फुड स्टल र रेस्टोरेन्टलाई, पहेँलोले शौचालय, कालोले प्रार्थना गर्ने स्थान र हरियोले स्वास्थ सेवा र औसधिका लागि हरियो कन्टेनरलाई जनाउंछ । यहाँ विश्वकपका सात म्याच खेलिनेछ । विश्वकप सम्पन्न भएपछि यो पूर्ण रुपमा नष्ट गरिनेछ ।