जोसँग हारे उसैलाई भोट माग्दै आचार्य

0
Shares

विराटनगर । 

मोरङ क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका पुराना नेता महेश आचार्यको चुनाव क्षेत्र हो । उहाँ यही क्षेत्रबाट सांसद भएर पटक–पटक मन्त्री पनि बन्नुभयो ।

करिब अढाइ दशकसम्म एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका आचार्य २०५६ र २०७० को निर्वाचनमा विजयी हुँदा २०६४ र २०७४ को निर्वाचनमा पराजित हुनुभयो । यस अवधिमा उहाँ पाँचपटक मन्त्री र एकपटक राष्ट्रियसभाको सदस्य बन्नुभयो । आचार्यको अर्थमन्त्रीको कार्यकाल अहिले पनि स्मरणीय छ । कारण देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुगेको थियो । तर, मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट २०५६ सालदेखि २०७४ सम्म प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा आफ्नै लागि भोट माग्दै आएका आचार्यको दैनिकी आसन्न मंसिर ४ को निर्वाचनमा भने फेरिएको छ ।

उहाँले यसपालि आफूले वर्षाैं राजनीति गरेको रुखका लागि नभएर हसियाँ हतौडाका लागि मत माग्नुपरेको छ । २०७४ सालमा पराजित आचार्य पछिल्लो समय विराटनगरमा बसेर निर्वाचन केन्द्रित कार्यमा सहभागी हुँदै आउनुभएको थियो । प्रतिनिधिसभाको निर्वाचनका लागि आफैं आकांक्षी रहेका आचार्यको सो क्षेत्र गठबन्धनमा यसअघि विजयी हासिल गरेको माओवादी केन्द्रको भागमा परेपछि आचार्यलाई नै पराजित गर्ने अमनलाल मोदीका लागि अहिले उहाँले भोट माग्नुपर्ने अवस्था छ ।
मोदीले ०७४ मा आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्नुभएको थियो । मोदी माओवादीभित्रका युवा नेता हुन् । लगातार दुईपटक सांसद बनेका उहाँ यसपटक एमालेका विनोद ढकालबीच प्रतिस्पर्धा हुँदै छ । र, ढकाल मोदीलाई तेस्रोपटक सांसद बन्न नदिने तयारीका साथ मैदानमा उत्रिनुभएको छ ।

मोरङ–४ मा ग्रामथान र कटहरी गाउँपालिकाको सबै वडासहित विराटनगरका १, २, ३, ८, १०, १९ तथा बेलबारीका ५, ६ र ७ वडा पर्दछन् । यो क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ९३ जना मतदाता छन् । क्षेत्र नम्बर ४ मा रहेका स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतअनुसार एमाले अगाडि छ ।मोदीका प्रतिस्पर्धी ढकाल यो क्षेत्रका लागि नयाँ अनुहार हुनुहुन्छ । उहाँ अहिलेसम्म सांसद बन्नुभएको छैन । प्रतिनिधिसभामा यसअघि उहाँ २०६५ को उपनिर्वाचनमा क्षेत्र नम्बर ६ मा कांग्रेसका शेखर कोइरालासँग पराजित हुनुभएको थियो । उहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा विराटनगर महानगरको मेयरमा कांग्रेसका भीम पराजुलीसँग पनि पराजित हुनुभएको थियो । ढकाल यसअघिका दुई पराजयलाई जितमा बदल्ने योजनाका साथ अहिले चुनावी मैदानमा हुनुहुन्छ ।

पराजुली अहिले यही क्षेत्रको २ बाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ । पराजुलीका प्रतिस्पर्धी एमालेबाट प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे र जसपाका सञ्जय सिंह हुनुहुन्छ । प्रदेशसभाका लागि कांग्रेसका युवा नेता गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरी आमने–सामने छन् । यहाँ कांग्रेसका असन्तुष्ट नन्दकुमार सरदार कांग्रेस छाडेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेर घिमिरेलाई अप्ठ्यारोमा पार्दै हुनुहुन्छ । थारू समुदायका मोदी २८ वर्षको उमेरमा संविधानसभा सदस्य बन्नुभएको थियो भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उहाँले आचार्यलाई पराजित गर्नुभएको थियो ।

मोदी २०७० को दोस्रो संविधानसभा सदस्य समानुपातिक सूचीबाट निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा एमाले केन्द्रीय सदस्य ढकाललाई जनता समाजवादी पार्टी (जसपा) को साथ छ, तर केन्द्रको सहमतिविपरीत जसपाको भागमा परेको प्रदेशसभाका दुई क्षेत्र (क्षेत्र नम्बर ४ ‘ख’ र क्षेत्र नम्बर ६ ‘ख’) मा एमालेले उम्मेदवार उठाएका कारण जसपाका नेताहरु रुष्ट छन् । माओवादी केन्द्रका नेता मोदीलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतको समर्थन छ ।
जनताको काम गरेका कारण आफूले जित्ने उहाँको दाबी छ । प्रदेश–१ का सहइन्चार्ज तथा मोरङ जिल्ला इन्चार्जसमेत रहेका ढकालको विराटनगर क्षेत्रमा पकड राम्रो रहेको मानिन्छ । उहाँले विकास, समृद्धि र भ्रष्टाचारमुक्त समतामूलक समाज निर्माणको एजेन्डा बोक्नुभएको छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी पनि आफ्नो प्राथमिकतामा रहेको मोदीले बताउँदै आउनुभएको छ ।